बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती सरकारको बजेट संसद्‌मा टेबुल, १ अर्ब ८४ करोड बढ्यो बजेट

शनिबार, ०१ असार २०८१, २२ : ०९
शनिबार, ०१ असार २०८१

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्‌मा टेबुल भएको छ । शनिबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारको आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्त सम्मको प्रगति विवरण समेत संसद्‌मा मा पेस गरेका थिए । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि असार ६ गते बिहान ११ बजे बस्ने बैठकमा छलफल हुनेछ ।

१ अर्ब ८४ करोड बढ्यो बजेट

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकरले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड  रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गरेको हो ।

हेटौँडामा निर्माणाधीन थोक तरकारी बिक्री केन्द्र आगामी आर्थिक वर्षमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशमा सवारी चालक अनुमति पत्र छपाइको लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मुख्यमन्त्री जनता कार्यक्रमलाई कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चितवनको माडी, दोलखाको जिरी, सिन्धुलीको दुधौलीमा प्रादेशिक अस्पतालका रूपमा विकास गर्न बजेट व्यवस्था गरेको छ ।

सरकारले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा समुदाय स्तरसम्म सेवा प्रवाह गर्नका लागि ४९ करोड रुपैयाँ विनियोजन गरेको छ । विपन्न असहाय, सीमान्तकृत समुदायका नागरिकको निःशुल्क स्वास्थ्य किमाका लागि ११ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बागमती सार्वजनिक विश्व विद्यालयको संरचना निर्माण र शैक्षिक कार्यक्रम सञ्चालनको लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको सामुदायिक विद्यालयलाई आवशिय मोडलमा सञ्चालनको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप