बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा : बजेटमाथि सत्तापक्षको बचाउ, प्रतिपक्षको आलोचना

शुक्रबार, ०७ असार २०८१, २१ : ३३
शुक्रबार, ०७ असार २०८१

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारको बजेटमाथि सत्तापक्षका सांसदले बचाउ गरेका छन् भने प्रतिपक्षका सांसदहरूले आलोचना गरेका छन् ।

सत्तापक्षका सांसदहरूले बजेट प्रभावकारी र समृद्धितर्फ उन्मुख रहेको टिप्पणी गरे भने प्रतिपक्ष दलका सांसदहरूले बजेट उपलब्धिहीन रहेको बताए । छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा एमाले सांसद दिनेशचन्द्र देवकोटाले सरकारले सबैको धारणा सम्बोधन हुने गरी नीति कार्यक्रम अनुकूल बजेट ल्याएको बताए । उनले सरकारको बजेटलाई सर्वसम्मत पारित गर्न माग गरेका छन् ।

‘करको दायरा बढाउने विषयमा बजेट केन्द्रित छ । ११९ पालिकाको सन्तुलित विकास गर्न बजेट कार्यान्वयन गर्नुपर्छ । प्रदेश सरकारले बजेटमा नयाँ कार्यक्रम समावेश गरेको छ । प्रदेश सरकारले लगानी बोर्ड गठन, प्रदेश विश्वविद्यालय, वातावरणीय काउन्सिलको व्यवस्था गरेको छ । प्रदेशको गौरवको आयोजना र कृषि क्षेत्रमा बढी लगानी केन्द्रित गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

एमाले बागमती प्रदेश संसदीय दलका मधुसूदन पोडेलले सरकारको बचाउ गर्दै बजेट प्रभावकारी रहेको टिप्पणी गरे । उनले प्रदेशको समृद्धिको लागि निजी क्षेत्रसँगको समन्वयमा लगानी बढाउने सरकारको तयारी रहेको बताए । सरकारले बजेट मार्फत सन्तुलित विकासको अवधारणा लिएको उनको भनाइ छ ।

यता प्रतिपक्ष दल नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले बजेटमा भागबन्डाको राजनीति भएको बताए । उनले बजेटमा सरकारले छलकपटको शृङ्खलालाई निरन्तरता दिएको बताए । उनका अनुसार प्रदेश सरकारको बजेटमा विचोलिया रमाउने गरी आएको छ ।

‘बजेट विभेदकारी पूर्ण रहेको र प्रदेश सरकारको बजेट ६० प्रतिशत विचौलियको पक्षमा भाग परेको छ । यस विषयमा छानविन हुनुपर्छ,’ उनले भने । प्रतिपक्ष दल राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बजेट कार्यान्वयन हुनसक्ने अवस्था नरहेको बताए ।

प्रदेश सरकारको बजेट पूर्ण असफल र पक्षपात पूर्ण रहेको उनको भनाई छ । सरकार बजेट निर्माणमा विधि र नीति विपरीत गएर काम गरिरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारको सर्वपक्षीय समावेशी ढंगबाट आएको छैन ।

नेमकिपा सांसद सृजना सायजुले बजेटले पूर्णता नपाउँदै रकमान्तरको नाटक भइरहेको बताइन् । बजेट सरकार र मन्त्रीहरूको मात्र पेवा बनिरहेको उनले बताए । प्रदेश सरकारले घाटाको बजेट ल्याएको उनको भनाइ छ ।

‘बजेट नबन्दै रकमान्तरको नाटक भइरहेको छ । यो सरकारको असफलता हो । जनताको रगत पसिनाको मूल्य जोडिएको राजस्वलाई दल विशेष सम्झनु भ्रष्ट्राचारी मानसिकता हो,’ उनले भनिन् ।

बजेटमा भौगोलिक समावेशिता कायम गर्नु कांग्रेसको माग हो : तामाङ

कांग्रेसका सांसद प्रभात तामाङले जनताको मागका सन्दर्भमा सरकारको ध्यान पुग्न नसकेको बताए । कांग्रेसले प्रतिपक्ष भएकै कारणले बजेट माथि विरोध गर्दै संसद् अवरुद्ध नगरेको उनले बताए । ठोस कारण सहित जनताको आवश्यकतामा आधारित भएर बजेट ल्याउन कांग्रेसले माग गरेको उनको भनाइ छ ।

उनका अनुसार कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने मन्त्रालयको सिलिङ समावेशी गर्नु भनिएको हो । जनताले चाहेको विषय सम्बोधन होस् भन्ने कांग्रेसको माग रहेको उनले प्रस्ट पारे ।

‘बजेटमा भौगोलिक समावेशिता कायम गर्नु भन्ने कांग्रेसको माग हो । हामीले नागरिकको आवश्यकताको आधारमा विकास गर्नु भनेका हौं । कृषिलाई प्राथमिकीकरण गरिएको छ । तर, बजेट भने कृषि क्षेत्रको पूर्वाधार विकासमा ३४ करोड रुपैयाँ मात्र रहेको छ । आर्थिक वृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्न भनिएको हो । तर, पर्यटन पूर्वाधारको क्षेत्रमा कुल बजेटको ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप