बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभामा मन्त्री अनुपस्थित भएपछि...

२ मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाइयो
मङ्गलबार, ११ असार २०८१, १६ : ४१
मङ्गलबार, ११ असार २०८१

हेटौँडा । बागमती प्रदेशसभा बैठकमा २ मन्त्री अनुपस्थित भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नियमापत्ति गरेको छ । बैठकमा बजेटमाथिको छलफलका क्रममा मन्त्रीको अनिवार्य उपस्थिति रहनुपर्ने नियम रहेको र मन्त्रीहरू अनुपस्थित रहेको भन्दै कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले नियमापत्ति गरेका हुन् ।

उनले प्रदेशसभा नियमावलीको परिच्छेद ३ अनुसार बजेट माथिको छलफलका क्रममा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने व्यवस्था रहेकाले उक्त विषयमा नियमापत्ति गरेका थिए । उनले मन्त्रीको अनुपस्थितिमा बजेटमाथिको छलफल अघि बढ्न नसक्ने भन्दै बजेट रोक्न माग गरेका थिए ।

उपनेता चित्रकारको नियमापत्ति पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मन्त्रीको अनिवार्य उपस्थितीका लागि सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका थिए । उनको रुलिङपछि प्रदेशसभा सदस्य मायादेवी शर्मालाई बजेटमाथिको छलफलका लागि बोल्न समय दिएका थिए । तर, उपनेता चित्रकारले मन्त्रीको अनुपस्थितिमा बजे माथिको छलफल हुन नसक्ने नियम स्पष्ट नियमावलीमा उल्लेख भएकाले बैठक स्थगित गर्न वा २ मन्त्रालयको बजेट माथिको छलफल कार्यसूचीबाट हटाउन माग गरेका थिए ।

सो लगत्तै सभामुख पाठकले आर्थिक मामिलामन्त्रीलाई अधिकार प्रत्यायोजन गरेको र सो मन्त्रालयमाथिको प्रश्न रिपोर्ट गर्ने व्यवस्था रहकाले छलफल अघि बढाउन रुलिङ गरे । तर, कांग्रेस उपनेता चित्रकारले नियममा स्पष्ट व्यवस्था भएकाले छलफल अघि बढ्न नसक्ने भन्दै पुनः आफ्नो माग दोहोर्‍याए । सो पश्चात् सभामुख पाठकले श्रम रोजगार तथा यातायात मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफल संसदको कार्यसूचीबाट हटाइएको जानकारी दिए । स पश्चात् प्रदेशसभा बैठकले निरन्तरता पाएको छ ।

प्रदेशसभा बैठकमा श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य बैठकमा अनुपस्थित रहेका थिए ।

प्रदेशसभा बैठकमा स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको बजेट माथिको छलफल भइहरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप