बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय

चेस ओलम्पियाडको बन्द प्रशिक्षण बुधबारदेखि, काजकस्तानका जीएम काजिलेभ नेपालमा

मङ्गलबार, २२ साउन २०८१, १७ : ०९
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । विश्व बुद्धिचाल महासंघको आयोजनामा सन् २०२४ को सेप्टेम्बर ९ देखि २३ तारिखसम्म हंगेरीको बुढापेष्टमा ४५औँ चेस ओलम्पियाड सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा नेपालले पुरुष र महिला गरी दुईवटा टोली सहभागी गराउने भएको छ ।

४५औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबारदेखि ठमेलस्थित होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रवन्ध मिलाएको छ । नेपाली खेलाडीलाई प्रशिक्षण दिन काजकस्तानका ग्राण्ड मास्टर (जीएम) अजिब क्याक्ट काजिलेभ मंगलबार काठमाडौँ आइपुगेका छन् ।

काजिलेभलाई नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरमबहादुर लामा, उपमहासचिव मोनालिसा खम्बु र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

चेस ओलम्पियाडमा एक सय ९१ राष्ट्रका खेलाडीको सहभागीता रहने बताइएको छ । नेपाली पुरुष टोलीले समूह ‘डी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । उक्त समुहमा नेपालले पदक हासिल गर्ने लक्ष्यसहित तयारी गरिरहेको महासंघले जनाएको छ ।

यसका लागि महासंघले साउन २३ देखि भदौ ५ गतेसम्म विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ । त्यसलगत्तै नेपाली टोलीका लागि थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

गत वैशाखमा सम्पन्न २४औँ नेसनल चेस च्याम्पियनसिप तथा ओलम्पियाड छनोटमा उत्कृष्ट भएका झापाका नेपाल च्याम्पियन २०१९ रेटड  राजन सुवेदी , २००५ रेटेड सीएम शुश्रुत दाहाल, काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी, रौतहटका २०३९ रेटेड रुपेश जैशवाल र नेपाली उच्च वरीयताका सीएम २२८२ रेटेड विवेक थिङ पुरुष टोलीमा रहेका छन् ।

यसैगरी महिलातर्फ राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडी काठमाडौँकी १७०८ रेटेड सिन्दिरा जोशी,  झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी, कास्किकी १६८४ रेटेड पूजा भण्डारी, मोरङकी १६७८ रेटेड शान्ति धिमाल र काठमाडौँकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठ बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी जाने टोलीको नेतृत्व गर्दै चिफ डेलिगेट्सका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरमबहादुर लामा बुढापेष्ट जाने भएका छन् । डेलिगेट्सले नेपालमा बुद्धिचाल खेलको विकासका लागि महत्वपूर्ण भेटघाट गर्ने महासंघले जनाएको छ ।

चेस खेल महाकुम्भको रुपमा रहेको उक्त ४५औँ हंगेरी चेस ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्रदान गरिएको छ । भारत दोस्रो, चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेदरल्याण्ड्स पाँचौँ वरियतामा छन् ।

महिलातर्फ जर्जिया पहिलो वरीयतामा छ । भारत दोस्रो, पोल्याण्ड तेस्रो, चीन चौथो र अजरबैजान पाँचौँ वरीयतामा छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पुरुष टोली ११५औँ र महिला टोलीले ११७औँ वरीयतामा छन् । महासंघका अनुसार, नेपालले पुरुषतर्फ कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिलातर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा प्रतियोगितामा सहभागिता जनाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप