बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जर्ज गर्जिएफ : जसलाई ओशोले सम्झिरहन्थे

बुधबार, २३ साउन २०८१, १० : ५०
बुधबार, २३ साउन २०८१

प्रत्येक दिन आधा घन्टा बिहान–बेलुका ओशोलाई सुन्नु मेरो दैनिकी, बानी वा नियति नै बनेको छ । साँच्चै भन्ने हो भने उनको आवाज, उनको तार्किकता, उनको दर्शन, उनको बुझाइ, उनको शैली, उनको जीवनी मेरो जीवनको नशा बनेको छ । 

आफ्ना प्रायः प्रवचनमा उनी एक व्यक्तिलाई उदाहरणका रूपमा पेस गर्छन्— गुरु जर्ज गर्जिएफजस्तो हुनुपर्छ । अनि मेरो मनमा आउँछ— को हुन् जर्ज गर्जिएफ ? ओशोलाई गर्जिएफ यति मन पर्नुको कारण के हो ? 

हामीमध्ये धेरैले जर्ज गर्जिएफको नाम नसुनेका हुन सक्छौँ । जर्ज गर्जिएफ (सन् १८७७–१९४९) को जन्म रुसको अलेक्जान्ड्रोपोल (हालको आर्मेनिया)मा भएको थियो । उनी एक दार्शनिक, आध्यात्मिक गुरु, संगीतकार, नृत्यकार तथा रहस्यवादी शिक्षक थिए । जसलाई उनका अनुयायीले प्रबुद्ध गुरुका रूपमा मान्छन् । उनको पुरा नाम जर्ज इभानोभिच गर्जिएफ हो । उनका बुबा इभान इभानोभिच गर्जिएफ ग्रिक थिए भने आमा आर्मेनियाई थिइन् ।

उनको जीवन कहानी त्यति नै रहस्यमय छ, जति उनको शिक्षा । उनको जन्मको सही वर्ष पनि विवादित छ र उनको सुरुआती जीवनका बारेमा ज्यादै थोरै जानकारी उपलब्ध छ । उनका पुर्खाहरू गोठाला थिए, जो टर्कीको क्यापाडोसियाबाट बसाइँ सरेका थिए । 

गर्जिएफले आफ्नो प्रारम्भिक वयस्क वर्षहरू इजिप्ट र मध्यपूर्व, भारत र विशेष गरी मध्य एसियाका अन्य भागमा विभिन्न आध्यात्मिक परम्पराका बारेमा सिक्दै बिताएका थिए ।

अद्भुत गुरु जर्ज गर्जिएफलाई एक धूर्त सन्त भनेर पनि चिनिन्थ्यो । किनभने उनको विधि धेरै कठोर थियो । उनी मानिसहरूसँग पागल कुराहरू गर्दथे । उनी मानिससँग असहनीय चाल खेल्थे ।

उनले आउस्पेन्स्कीलाई एउटा सानो कागज र एउटा पेन्सिल दिए र भने, ‘यो कागजमा तपाईंलाई थाहा भएका सबै कुरा लेख्नुहोस् । हामी तपाईंलाई थाहा नभएको कुराका बारेमा कुरा गर्नेछौँ ।’

बेलायतमा उनको शक्तिशाली उपस्थिति थियो । जब उनी बोल्थे, मानिसहरू सुन्नका लागि भिड लाग्थ्यो । भिडबाट सही अनुयायी छान्ने उनको शैली गज्जबको थियो । उनले साँझ ६ बजे बोल्ने भनेपछि हल खचाखच हुन्थ्यो । ठिक ६ बजे ढोका बन्द हुन्थ्यो, एक मिनेट ढिला गर्ने पनि पस्न पाउँदैनथे । त्यसैले मानिसहरू ६ बजेभन्दा अगाडि नै आएर पर्खेर बस्थे । हरेक पन्ध्र मिनेटमा गर्जिएफका चेलाहरू आएर भन्थे, ‘उनी अब आउँदै छन् ।’ यसरी नै ९–१० बजेसम्म मानिसले उनलाई पर्खनुपथ्र्यो ।

अनि उनका चेलाहरू १० बजेतिर आएर भन्थे, ‘गर्जिएफ आज बोल्नुहुन्न । आज राति १२ बजे उहाँ यहाँबाट सय किलोमिटर टाढाको अर्को सहरमा बोल्न जाँदै हुनुहुन्छ ।’ 

त्यसपछि तीमध्ये केही मानिस १२ बजे त्यहाँ पुग्नका लागि त्यो सहरतर्फ प्रस्थान गर्थे । बाँकी थकित भई घर फर्कन्थे । अर्को सहरमा पनि ती मानिसलाई बिहानसम्म पर्खाइ राखिएको हुन्थ्यो । बिहान सबेरै चेलाहरूले भन्थे, ‘गर्जिएफ यहाँ बोल्नुहुन्न । भोलि दिउँसो १२ बजे अर्को ठाउँमा बोल्न जाँदै हुनुहुन्छ ।’ त्यसपछि त्यो अर्को सहरमा ज्यादै थोरै मानिस जान्थे ।

त्यसपछि गर्जिएफ आउँथे र प्रवचन दिन्थे, ‘यो ज्यादै राम्रो हो । म यी थोरै जनासँग मात्र कुरा गर्न चाहन्छु । अरु त मनोरञ्जनका लागि मात्रै आएका हुन् । उनीहरू जानु नै राम्रो हो ।’

उनले जर्मनीमा एउटा आश्रम खोलेका थिए, जसलाई शिविर भनेर चिनिन्थ्यो । युरोपेली समाजका कुलीनहरू त्यो शिविरमा आउँथे । जीवनमा कहिल्यै काम नगरेका यी मानिसलाई कोदालो, बन्चरो, हँसिया–खुर्पा तथा साबेल दिइन्थ्यो र गर्जिएफले भन्थे, ‘आज तपाईंहरूले यो खाडल निकै तीव्रताका साथ खन्नुपर्छ । खाजाका लागि पनि ब्रेक नगर्नुहोस् ।’ तिनीहरू सबै मिलेर खाडल खन्थे, किनकि यो गर्जिएफको आज्ञा थियो । 

साँझसम्म तिनीहरू सबै थकित र असहनीय पीडामा हुन्थे । थकित उनीहरूलाई गर्जिएफले भन्थे, ‘ठिक छ, अब अलिकति खनेर खाडल पुनः पुरेरै आउनुहोस् ।’ त्यो सुनेर ती मानिस पागलजस्तै हुन्थे । दिनभरि उनीहरूले काम गरिरहनुपथ्र्यो । त्यस समयमा तीमध्ये ९० प्रतिशत मानिस शिविरबाट भाग्थे, किनभने तिनीहरूलाई ‘रोल्स रोयस’ले प्रतीक्षा गरिरहेको हुन्थ्यो । तिनीहरू ज्यादै धनी हुन्थे । त्यसपछि गर्जिएफले बाँकी दश प्रतिशतसँग वास्तविक काम गराउँथे ।

गर्जिएफलाई प्रसिद्ध बनाउने एक व्यक्ति हुन्, पी. डी. आउस्पेन्स्की ।’ आउस्पेन्स्की आफैँमा एक धेरै प्रसिद्ध व्यक्ति थिए । महान् दार्शनिक, गणितज्ञ र तीक्ष्ण बुद्धि भएका आउस्पेन्स्कीले सयौँ पृष्ठ लामो सत्यको खोजसम्बन्धी पुस्तक लेखेका छन् ।

जब उनी गर्जिएफलाई भेट्न गए, उनलाई धेरै समय पर्खाइयो– लगभग तीन–चार दिन । गर्जिएफको काम थिएन, तर पनि उनले आउस्पेन्स्कीलाई हेर्दै हेरेनन् । उनी कहिले शौचालय जान्थे, कहिले बाहिर निस्कन्थे त कहिले बगैँचामा घुम्थे तर उनले आउस्पेन्स्कीतिर हेर्दै हेरेनन् । यो देखेर आउस्पेन्स्की निकै रिसाए । अन्त्यमा जब उनलाई गर्जिएफलाई भेट्ने मौका दिइयो, गर्जिएफले भने, ‘तपाईंले ठुला–ठुला पुस्तक लेख्नुभएको छ, त्यसैले तपाईंलाई धेरै थाहा छ । तपाईंलाई थाहा भएको कुराहरू बोलेर फेरि समय बर्बाद गर्नुको कुनै मतलब छैन । एउटा काम गर्नुहोस् ।’ 

उनले आउस्पेन्स्कीलाई एउटा सानो कागज र एउटा पेन्सिल दिए र भने, ‘यो कागजमा तपाईंलाई थाहा भएका सबै कुरा लेख्नुहोस् । हामी तपाईंलाई थाहा नभएको कुराका बारेमा कुरा गर्नेछौँ ।’

आउस्पेन्स्कीजस्ता महान् विद्वानलाई जानेका कुरा लेख भनी सानो कागज दिइनु ठुलो अपमान थियो । उनले आफूलाई धेरै अपमानित महसुस गरे । तैपनि त्यो कागज र पेन्सिल लिएर उनी गर्जिएफको अगाडि बसे र गर्जिएफलाई हेरिरहे । धेरै घन्टा बित्यो । दुवैजना त्यहाँ थिए, तर आउस्पेन्स्कीले यो कागजमा एक शब्द पनि लेख्न सकेनन् । उनले पूरै आफू हराएको महसुस गरे । त्यसपछि उनका आँखाबाट आँसु बग्यो र उनले भने, ‘मलाई साँच्चै केही थाहा छैन ।’ 

त्यसपछि गर्जिएफ आउँथे र प्रवचन दिन्थे, ‘यो ज्यादै राम्रो हो । म यी थोरै जनासँग मात्र कुरा गर्न चाहन्छु । अरु त मनोरञ्जनका लागि मात्रै आएका हुन् । उनीहरू जानु नै राम्रो हो ।’

गर्जिएफले भने, ‘तपाईंलाई केही थाहा छैन ? मैले सुनेको छु कि तपाईंले सयौँ पृष्ठ लामो सत्यका कुरा लेख्नुभएको छ । तपाईंले यति धेरै पृष्ठमा कसरी सत्य फैलाउनुभयो ? सत्य त सानो हुनुपर्छ ।’ आउस्पेन्स्की रोए र आत्मसमर्पण गरे । गर्जिएफले उनलाई आफ्ना शिष्यका रूपमा स्विकारे । अहंकार तोड्न मात्र त्यो सब गरिएको थियो, त्यसपछि पनि वास्तविक यातना जारी रह्यो ।

यस्ता धेरै अद्भुत तथा अनौठा घटना गर्जिएफबाट आउस्पेन्स्कीको जीवनमा घटेका छन्, तर उनले कहिल्यै पनि हार मानेनन्, जहिले पनि गर्जिएफको परीक्षामा उनी सफल नै भए ।

आउस्पेन्स्कीले गर्जिएफका शिक्षाहरू पश्चिमी पाठकहरूलाई बुझ्न सकिने बौद्धिक रूपमा प्रस्तुत गरेका छन् ।

आउस्पेन्स्कीका अनुसार गर्जिएफको विधि–प्रक्रिया आफैँलाई विकसित गर्ने व्यावहारिक पक्षमा आधारित थियो । यो प्रक्रियालाई ‘चौथो मार्ग’ (मार्ग– ज्ञानको मार्गको अर्थमा परम्परागत शब्द) भनेर चिनिन्छ । उनका तीन मार्ग— फकिरको मार्ग, भिक्षुको मार्ग र योगीको मार्ग भन्दा ‘चौथो मार्ग’ भिन्न छ । फकिर शरीरमा मात्रै, भिक्षु भावनामा र योगी मनमा केन्द्रित हुन्छन् । चौथो मार्गको उद्देश्य तीनवटैलाई नयाँ संश्लेषणमा एकीकृत गर्नु हो, जसले मानिसको अस्तित्वको हरेक पक्षलाई एकै साथ प्रभाव पार्छ । 

अन्य परम्पराको विपरीत चौथो मार्गलाई गुरु वा सन्त, मूर्ति वा मन्दिर, आश्रम वा कम्युनमा प्रचलित अनुष्ठानहरूको पालनाको आवश्यकता पर्दैन । साधकहरूले घर–परिवार, पेसा वा दैनिक जीवनबाट अलग रहनु आवश्यक छैन । अतः यो पारम्परिक धर्मभन्दा भिन्न छ र यसले आत्म जागरुकता र आन्तरिक संघर्षका माध्यमद्वारा आध्यात्मिक विकासमा जोड दिन्छ । गर्जिएफको मार्ग भनेको आत्म ज्ञानका माध्यमबाट आत्म रूपान्तरण हो ।

गर्जिएफको आधारभूत भनाइ थियो कि मानव जीवन सामान्य रूपमा बाँच्ने निद्राजस्तै छ, निद्राको अवस्थालाई पार गर्नका लागि काम चाहिन्छ, तर जब यो प्राप्त हुन्छ, ऊ जीवन शक्ति र जागरूकताको उल्लेखनीय स्तरमा पुग्न सक्छ । 

उनले आफ्ना कार्यलाई मानिसको चेतना परिवर्तन गर्ने रूपमा देख्थे । सोच, धारणा वा भावनाभन्दा धेरैमाथि व्यापक रूपमा ‘चेतना’ शब्द प्रयोग गर्ने पहिलो व्यक्ति थिए गर्जिएफ । उनले एकाग्रता र आत्म जागरुकताका लागि व्यावहारिक अभ्यास पनि प्रस्तुत गरे । उनले आघात, आश्चर्य र कडा परिश्रमलाई आत्म द्वन्द्वको माध्यमका रूपमा प्रयोग गरे । 

गर्जिएफको विचार ‘एसेम्बलिङ’ (संयोजन)को अवधारणा हो । उनी भन्थे— धेरैजसो हाम्रो चेतना टुक्रा–टुक्रा भएर छरिएको हुन्छ । आध्यात्मिक कार्यको लक्ष्य यी टुक्रालाई समेट्नु हो र सचेत व्यक्ति बन्नु हो । जबसम्म मानिसले आफ्नो चेतनालाई समेटन सक्दैन, तबसम्म वैज्ञानिक ज्ञान र अनुसन्धानका नवीनतम विधिहरूको भण्डार पाए पनि उनीहरू पाषण युगमै हुन्छन् ।’ 

उनको दर्शन, ‘जागृत सुषुप्ति’मा आधारित छ । अधिकांश मानिस बेहोसीको अवस्थामा बाँच्छन्, उनीहरू आदत र प्रतिक्रियामा हिँड्छन् । यो अवस्थामा उनीहरू आत्म–यान्त्रिक मसिनजस्तै भएर काम गर्छन् । यो जालबाट निस्कनका लागि गर्जिएफ आत्म–स्मरणको अभ्यासमा जोड दिन्छन् । यानि वर्तमान क्षणमा सजग रहनु र आफ्नो विचार, भावना र कामलाई हेर्नु नै आत्म–स्मरण हो । 

गर्जिएफको अनुसार एकातिर मानिस यन्त्रवत् जीवन बाँच्छन् भने अर्कोतिर यो पनि सम्भव छ कि उनीहरूमा जाग्न सक्ने क्षमता पनि छ, यसैले उनीहरू नयाँ जीवन बाँच्न पनि सक्छन् ।

उनी आउस्पेन्स्कीलाई भन्ने गर्थे, ‘बाह्य रूप परिवर्तन हुन्छ, सार परिवर्तन हुँदैन । मानिस उस्तै रहिरहन्छ ।’ आधुनिक सभ्यता हिंसा, दासता र राम्रा शब्दहरूमा आधारित छ ।’ 

गर्जिएफको लक्ष्य मानिसलाई जागरुक, जिम्मेवार र आध्यात्मिक प्राणी बनाउन मद्दत गर्नु थियो । उनको भनाइ थियो कि मनुष्यमा एक ‘उच्च स्व’ हुन्छ, जुन चेतनाको एक विकसित रूप हो । यो आत्म–यान्त्रिक अस्तित्वभन्दा पर छ र यसले सम्भावनाहरूको प्रतिनिधित्व गर्छ । हाम्रो यात्रा यो ‘उच्च स्व’लाई जगाउनु र त्यससित जोडिनु हो ।

गर्जिएफको विश्वास थियो कि आराम र सुख आध्यात्मिक विकासको बाधक हो । साँचो विकास असुविधा, संघर्ष र आन्तरिक पीडाका माध्यमबाट आउँछ । यो अनुभवले हामीलाई जागृत गर्दछ र हामीलाई बदल्न प्रेरित गर्दछ ।

गर्जिएफले ब्रह्माण्डलाई एक विशाल ‘कास्मिक ड्रामा’का रूपमा हेरे, जहाँ सबै कुरा एकापसमा जोडिएको हुन्छ । हाम्रो लक्ष्य यो नाटकलाई बुझ्नु र त्यसमा आफ्नो भूमिका निभाउनु हो ।

अन्त्यमा, गर्जिएफ एक विवादास्पद व्यक्ति भए पनि पश्चिमी मनोविज्ञान र आध्यात्मिक आन्दोलनमा उनको विचारको गहिरो प्रभाव आज पनि परेको छ, उनको विचारले ती मानिसलाई आकर्षित गर्छ, जो आत्म–जागरुकता, आध्यात्मिक विकास र आफ्नो जीवनमा अति सचेत रूपले बाँच्ने तरिका खोजिरहेका हुन्छन् । यसैले त ओशोले प्रत्येक प्रवचनको कुनै पनि विधामा उदाहरण दिनु पर्दा प्रायःजसो जर्ज गर्जिएफको नाम लिने गर्दथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप