शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारका कारण जनता उकुसमुकुस भएका छन् : वर्षमान पुन

सोमबार, १७ भदौ २०८१, १८ : ५७
सोमबार, १७ भदौ २०८१

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।  पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए ।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गरेकै कारण सरकारबाट बाहिरिँदा पार्टी पङ्क्तिको मनोबल उच्च भएको उनको भनाइ थियो ।

पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट सङ्घर्ष गर्ने उनले बताए । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेन्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौँ, सङ्घर्ष गर्छौँ ।’ 

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरूसँग सङ्घर्ष गर्नेहरुबिचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे ।

‘बिचौलियाहरूको पक्षमा सरकार छ । हामी तिनीहरूलाई पराजित गर्नुपर्ने पक्षमा छौँ । हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गरेका थियौँ’, पुनले भने, ‘माओवादीले सरकार छाडेपछि पनि हाम्रो पङ्क्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकाङ्क्षाका अनुसार काम गरेका छौँ ।’ 

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरू एकातिर र आफूहरू अर्कोतिरजस्तो भएको बताए । माओवादी पनि पुराना पार्टीहरूजस्तै भयो भन्ने गुनासाहरू थिए र खबरदारीहरू रहेको भन्दै उनले आफूहरूका अगाडि काँग्रेस–एमालेभन्दा फरक हौँ भन्ने मौका आएको तर्क गरे ।

‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौँ भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौँ’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेन्डाको नेतृत्व हामी गर्छौँ ।’ 

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे । सत्ताधारीप्रति जनतामा बढेको वितृष्णा र असन्तुष्टिलाई भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए । 

फरक प्रसङ्गमा उनले अबको राजनीतिको मात्र नभई राष्ट्रिय जीवनका सबै क्षेत्र तथा सामाजिक–आर्थिक आन्दोलनको नेतृत्व युवाहरूको हातमा जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप