कोरलानाकामा अध्यागमन राख्न गाउँपालिकाको लिखित माग
पोखरा । गण्डकी प्रदेशको ‘लाइफलाइन’ उत्तरी छिमेकी चीनसँग जोडिएको नाका कोरलामा अध्यागमन कार्यालय राख्न त्यहाँको गाउँपालिकाले माग गरेको छ । लोमान्थाङ गाउँपालिकाले कार्यपालिका बैठकबाटै निर्णय गरेर अध्यागमन स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गरेको हो ।
अध्यागमन बनेपछि किनमेलका लागि चीन जाने नेपालीको अभिलेख राख्न र सामग्रीको आयात निर्यातमा सहज हुने पालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले बताए ।
‘नाका खुलेपनि अध्यागमन वास्तविक फाइदा लिन पाइएको छैन । धेरै पटक अध्यागमनका लागि आग्रह गरिएको छ तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘अहिले पुनः लिखित रूपमा आग्रह गरिएको छ । सङ्घ सरकार सकारात्मक भएको छ ।’
अहिले स्थानीय प्रयोगका लागि सामान्य किनमेल मात्रै भइरहेको छ । अध्यागमन पछि व्यापारिक प्रयोजनका लागि सामग्री ल्याउने लाने गर्न मिल्ने गुरुङ बताउँछन् ।
अध्यागमनका लागि उपयुक्त संरचना भने सरकारले निर्माण गरिसकेको छैन । चीनतिर भव्य संरचना भए पनि नेपालतिरको भाग सुनसान छ । चीनपट्टि भने ठुला व्यापारिक भवन संरचना निर्माण गरिएका छन् । त्यहीँबाट सामग्री बेचबिखन भइरहेको छ । नाकामा गत वर्ष गण्डकी सरकारले ६ कोठे भवन बनाएको छ । सोही भवनमा अध्यागमन र सुरक्षाकर्मी राख्न सकिने प्रमुख जिल्ला अधिकारी जनकलाल पन्तले जानकारी दिए ।
उनका अनुसार सङ्घ सरकारले दसैँअगावै अध्यागमन स्थापना गर्न लागेको छ । ‘दसैँअघि नै अध्यागमन खोल्ने कुरा भएको छ । हामीले अध्यागमन राख्न धेरै पत्राचार गरिसक्यौँ,’ उनी भन्छन्, ‘अहिले चाहिँ अलि सकारात्मक भएको छ । अब छिटै कार्यालय खुल्ने आश्वासन पाएका छौँ ।’ अध्यागमन बनेपछि आवश्यक संरचना निर्माण हुने उनले बताए । अघिल्लो वर्षको पुस २७ गतेदेखि नाकाको औपचारिक सञ्चालनमा आएको हो ।
त्यसअघि कोरोनालाई देखाएर करिब ४ वर्ष पूर्ण रूपमा नाका ठप्प भएको थियो । नाका सञ्चालनपछि स्थानीय नागरिकको सहजताका लागि पास वितरण गरिएको छ । लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका सबै नागरिकले यो सुविधा पाएका छन् ।
यसबाहेक मुस्ताङका वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका १ सय र घरपझोङका १ सय जनाले पनि पास पाएका छन् । थासाङ गाउँपालिकाका नागरिकलाई छिटै पास वितरणका लागि समन्वय भइरहेको पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
-
वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव
-
प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण