पहुँच नभएका बिरामीलाई हवाई टिकट पाउनै मुस्किल
सुर्खेत । धनगढी घर भएका रामबहादुर सिंह विगत ३० वर्षदेखि मुगुको सोरु गाउँपालिकामा रहेको महादेव आधारभूत विद्यालयमा अध्यापन गर्छन् । एक हप्ताअघि उनी एक्कासि बिरामी भए । ज्वरो आइरहने र मानसिक अवस्था निकै कमजोर बन्यो । गाउँमा गाडी नपाउने हुँदा शनिवार मात्रै स्थानीयले बोकेर सदरमुकाम गमगढी पुर्याए ।
जिल्ला अस्पतालमा उपचार गर्दा त्यहाँका डाक्टरहरूले यहाँ उपचार गर्न सम्भव नहुने भन्दै तत्काल कतै बाहिर लैजान सुझाव दिए । मुगुमा उनका आफन्तहरू कोही नहुँदा एक स्थानीयकै सहयोगमा उनी नेपालगन्ज जान ताल्चा विमानस्थल पुगे । तर शनिवार हवाई उडान क्यान्सिल भयो, आइतबार हुन्छ भनेर एयरलाइन्सका कर्मचारीले भने ।
आइतबार पनि उनले टिकट पाउन सकेनन् । पहुँचमा भएका व्यक्तिहरूले टिकट पाएर नेपालगञ्ज उड्दा बिरामी रामबहादुर भने विमानस्थलमै छन् । आइतबार पनि उनलाई सोमबार पठाइदिने भन्दै एयरलाइन्सहरुले आश्वासन दिएको आफन्त अविरल सिंहले रातोपाटीलाई बताए ।
‘उहाँको अवस्था निकै गाह्रो भइसकेको रहेछ, हामीले टिकट मिलाइदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ)देखि एयरलाइन्सका कर्मचारीसँग गुनासो गर्यौँ, हाम्रो सुनुवाइ भएन,’ उनले भने, ‘नेपाल एयरलाइन्सले तारामा र ताराले नेपाल एयरलाइन्समा पठाउने काम भइरहेको छ ।’
स्थानीय पहुँचवाला नेताहरूलाई हाल्ने तर बिरामी प्राथमिकतामा नपर्ने गरेको उनको गुनासो छ । ‘त्यहाँ मनपरीतन्त्र छ, सर्वसाधारणले त हवाई टिकट पाउन मुस्किल छ,’ उनले भने, ‘पहुँचमा कोही मान्छे नहुँदा समस्या भयो, अनलाइन सिस्टम त्यहाँ छैन ।’
आफूले मुगुका सीडीओलाई गुनासो गर्दा उनले निकटका मान्छे मात्रै पठाउन भूमिका खेलेकाे तर आफूहरूको समस्या समाधान नगरिदिएको उनले गरे ।
‘आज सीडीओले आफू निकटका बिरामी मान्छे र केही प्रशासनका मान्छे पठाए तर हाम्रो बिरामी उतै रहे,’ सिंहले भने ‘अहिले नेपाल एयरलाइन्सवालाले सिडियोको कोटा एउटा हो उहाँकै मान्छेलाई पठाइयो भोली पठाइदिम्ला भन्ने जवाफ दिए ।’
नेपाल एयरलाइन्स मुगुका प्रमुख नेत्र भामले पनि सीडीओको बिरामी र प्रशासनका केही मान्छेलाई पठाउँदा रामबहादुर छुट्न गएको जवाफ दिए । ‘भोलि बिहान पनि फ्लाइट छ, भोलि हाल्दिन्छु,’ उनले भने, ‘मन्त्रालयका मान्छे थिए, उहाँहरूलाई पठाइयो ।’
यो विषयमा मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीसँग बुझ्दा बिरामीलाई प्राथमिकता नै दिइएको जवाफ दिए । तर उनले रामबहादुरको गुनासोबारे भने आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे । केसीले उक्त विषयमा आफूले थप बुझ्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण