ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
सारांश
- चीनको ग्रेटवाल अवलोकन गर्ने पर्यटकको साझा सपना पूरा भएको छ, जहाँ चिनियाँ इतिहास र सभ्यताको झझल्को पाइन्छ।
- ग्रेटवाल चन्द्रमाबाट देखिन्छ भन्ने हल्ला मात्रै रहेछ, तर यसको भव्यता र महिमा भने कम छैन।
- प्राचीन चिनियाँहरूको अठोट, मानव श्रम र सङ्कल्पको प्रतीक यो विशाल पर्खालले सभ्यताको इतिहासलाई जोडेको छ।
चीनमा पाइला राख्ने हरेक पर्यटकको एउटा साझा सपना हुन्छ– विश्वका सातौँ आश्चर्यभित्र पर्ने चीनको ग्रेटवाल (विशाल पर्खाल) अवलोकन गर्ने । संसारले आश्चर्य मानेका केही सीमित कुराहरूमा अटाएको ग्रेटवाल अवलोकनको रहरबाट म मात्रै अलग कसरी हुन सक्थेँ र ?
बेइजिङ टेकेदेखि नै त्यहाँ बस्ने नेपाली समुदायलाई मेरो सधैँ प्रश्न हुन्थ्यो– 'ग्रेटवाल कहिले जाने ?' सानैदेखि पुस्तक अनि सामान्य ज्ञानमा चन्द्रमाबाट पृथ्वीमा देखिने एक मात्र मानव निर्मित वस्तु भनेर उल्लेख गरिएको ग्रेटवाल पुग्ने मेरो रहर अन्ततः पूरा हुने भयो । मलाई आतिथ्य प्रदान गरेको बेइजिङ ल्याङ्ग्वेज एन्ड कल्चरल युनिभर्सिटीले मेरो ग्रेटवालसम्म जाने व्यवस्था मिलाइदिने भयो । यसले मेरो रहरलाई थप जीवित बनायो ।
चन्द्रमाबाट पनि देखिन्छ भन्ने कुराचाहिँ बजारिया हल्ला मात्रै रहेछ भन्ने मलाई धेरैपछि मात्रै थाहा भएको थियो । चिनियाँ अन्तरिक्ष यात्री याङ लिबेईले सन् २००३ मै अन्तरिक्षबाट ग्रेटवाल नदेखिने कुरा स्पष्ट पारिसकेका थिए । हाम्रो गाउँघरसम्म भने त्यो कुरा निकै पछि मात्र आइपुगेको थियो ।
यद्यपि, यो तथ्यले ग्रेटवालको महिमा र भव्यतालाई रतिभर कम भने गरेको थिएन । बेइजिङको उत्तरतर्फ रहेका पहाडका टाकुराहरूमा नागबेली परेर फैलिएको यो विशाल पर्खालको तस्बिर मनमा सजाउँदै हामी बाडालिङतर्फ प्रस्थान गर्यौँ । बाटोभरि म चिनियाँ इतिहासका ती पाटाहरू सम्झिरहेको थिएँ, जहाँ विभिन्न राजवंशहरूले बाह्य आक्रमणबाट बच्न हजारौँ किलोमिटर लामो यो संरचना निर्माण गरेका थिए ।
विश्वको एउटा गौरवपूर्ण इतिहासले मसँग साक्षात्कार गर्दै थियो । सुरुवाती चढाइ अलि भिरालो भए पनि दायाँबायाँको दृश्यले थकानको महसुस हुन दिएन ।
गाडीको झ्यालबाट बाहिर हेर्दा टाढाका पहाडहरूमा सेता धर्काजस्ता देखिने पर्खालका भागहरू झुल्किन थालेपछि मेरो उत्साह झन् बढ्यो । हामी पुगेको दिन मौसम निकै सफा थियो र नीलो आकाशमुनि खैरो रङको ढुङ्गे पर्खाल कुनै विशाल अजिङ्गर सुतिरहेझैँ भान हुन्थ्यो ।
ग्रेटवालको प्रवेशद्वारमा पुग्नेबित्तिकै पर्यटकहरूको ठूलो घुइँचो देखियो । संसारभरका मानिसहरू चिनियाँ इन्जिनियरिङको यो अनुपम नमुना हेर्न लालायित देखिन्थे । उनीहरूका आँखाहरू ग्रेटवालको सुन्दरता नियाल्न र पाइतालाहरू त्यसमाथि टेक्न लोभिएका थिए । विभिन्न देशबाट ग्रेटवाल हेर्न आएकाहरूको भिड थामिनसक्नु थियो ।

प्रवेशद्वारबाट पाइतालाहरू अगाडि बढाएपछि एउटा छुट्टै किसिमको ऊर्जा शरीरमा सञ्चार भयो । संसारकै अनौठो ठाउँमा ससशरीर उपस्थित हुन पाउँदा मन आह्लादित थियो । ढुङ्गा र इँटाहरूले बनेको त्यो फराकिलो बाटोमा पाइला राख्दा लाग्थ्यो, म इतिहासको कुनै जीवित खण्डमा हिँडिरहेको छु ।
विश्वको एउटा गौरवपूर्ण इतिहासले मसँग साक्षात्कार गर्दै थियो । सुरुवाती चढाइ अलि भिरालो भए पनि दायाँबायाँको दृश्यले थकानको महसुस हुन दिएन । अझ त्यसमाथि हाम्रो बेग्लै खालको अनुहार देख्दा कतिपय चिनियाँहरू 'विदेशीसँग फोटो खिच्छौँ' भन्दै अनुरोध समेत गर्दथे । मसँग रहेका भाइ प्रशान्त र मेरा लागि यो निकै अनौठो भोगाइ थियो ।
ग्रेटवालमा प्रत्येक केही मिटरको दूरीमा रहेका 'वाच टावर' अर्थात् पहरेदार बुर्जाहरूले प्राचीन समयको सुरक्षा व्यवस्था कति मजबुत थियो होला भन्ने कुराको झल्को दिन्थे । ती बुर्जाहरूको झ्यालबाट चिसो हावा छिर्दा र वरपरका हरिया पहाडहरू देखिँदा मन फुरुङ्ग हुन्थ्यो । साँच्चै संसारभरका मानिसहरू किन ग्रेटवाल भनेपछि मरिहत्ते गर्दा रहेछन् भन्ने कुरा मैले त्यहाँ महसुस गरेँ ।
आधुनिक मेसिन र प्रविधि नभएको त्यो युगमा कसरी यी विशाल पत्थरहरू पहाडको थुम्कोसम्म पुर्याइयो होला ? कति मानिसको पसिना र रगत यसमा मिसिएको होला ?
जति माथि चढ्दै गयो, पर्खाल झन् साँघुरो र भिरालो हुँदै जान्थ्यो । मानिसहरूको उस्तै बाक्लो भिड थियो । कतिपय ठाउँमा त सिँढीहरू यति भिराला थिए कि हातले टेकेरै चढ्नुपर्ने अवस्था थियो । बुढाबुढीदेखि साना नानीहरूसम्म पसिना पुछ्दै, एकअर्कालाई उत्साह थप्दै माथि उक्लिरहेका देखिन्थे । थकानका बीचमा पनि ग्रेटवाल चढ्न पाउँदा उनीहरूको अनुहारमा खुसीका रङहरू दौडिएका हुन्थे । धेरैजसो पर्यटकहरू बीचबीचमा थकाइ मार्दै तस्बिर खिच्न व्यस्त थिए । मैले पनि आफ्नो मोबाइल निकाल्न बिर्सिनँ; हरेक कोणबाट खिचिएका तस्बिरहरूमा ग्रेटवालको विशालता र पहाडको गहिराइ कैद भइरहेका थिए ।
पूरै ग्रेटवालको फन्को लगाउन हामीसँग न त समय थियो न त ऊर्जा नै । तर पनि अलि उचाइमा रहेको एउटा टावरमा पुगेपछि जब मैले पछाडि फर्केर हेरेँ, ओहो ! डरले मेरो त मन नै कस्तो-कस्तो पो भयो । पहाडका चुचुराहरूलाई छिचोल्दै कता-कतासम्म पुगेको त्यो पर्खाल देख्दा मानव श्रम र सङ्कल्पका अगाडि नतमस्तक नभई सुखै थिएन । दिन होइन, महिना होइन अनि वर्ष पनि होइन, सयौँ वर्षको समर्पण र सङ्कल्पले यो निर्माण भएको थियो ।
आधुनिक मेसिन र प्रविधि नभएको त्यो युगमा कसरी यी विशाल पत्थरहरू पहाडको थुम्कोसम्म पुर्याइयो होला ? कति मानिसको पसिना र रगत यसमा मिसिएको होला ? यी प्रश्नहरूले मनमा गहिरो कौतूहल जगाइरहेका थिए ।
केही घण्टाको त्यो कठिन तर रोमाञ्चक पैदल यात्रापछि जब हामीले एउटा निश्चित बिन्दुमा पुगेर विश्राम लियौँ, तब मात्र महसुस भयो– यो केवल एउटा पर्खाल मात्र होइन, बरु चिनियाँ सभ्यताको धैर्य र शक्तिको प्रतीक रहेछ । मिङ राजवंशको पालामा करिब २ सय ७६ वर्ष लगाएर निर्माण गरिएको ग्रेटवालको खास लम्बाइ भने ८ हजार ८ सय ५१ किलोमिटर रहेछ ।
त्यो विशाल संरचनाको काखमा उभिँदा इतिहासका कैयौँ पानाहरू मेरो मानसपटलमा पल्टिन थाले । जतिबेला यो पर्खाल निर्माण भइरहेको थियो, त्यतिबेलाको चीन र अहिलेको आधुनिक चीनबीचको दूरीलाई ग्रेटवालले एउटा मजबुत पुलका रूपमा जोडेको जस्तो भान हुन्थ्यो । बाडालिङको त्यो खण्डमा हावाको वेग अलि बढी थियो, जसले हाम्रो शरीरको पसिनालाई बिस्तारै सुकाउँदै एउटा शीतलता प्रदान गरिरहेको थियो । वरिपरिका डाँडाहरूमा फैलिएको हरियाली र ती पहाडको बनोटलाई नै आधार बनाएर निर्माण गरिएको यो संरचना देख्दा प्राचीन वास्तुशिल्पीहरूको कला र इन्जिनियरिङ ज्ञानप्रति सम्मान जागेर आयो ।
चीनको इतिहास जोडिएको यस ठाउँलाई पर्यटनको बलियो आधार बनाउन चीनले निकै मिहिनेत गरेको रहेछ । पर्खाल चढ्न नसक्नेहरू त्यहाँ केबलकारबाट पनि जान सक्थे । अहिले भूमिगत केबलकार समेत निर्माण भइरहेको रहेछ ।
मैले र भाइ प्रशान्तले पनि त्यहाँको एक कुनामा बसेर केही बेर टोलाउँदै टाढाको क्षितिजसम्म पुगेको पर्खाललाई हेरिरह्यौँ । त्यो पलमा शब्दहरू मौन थिए, तर मनभित्र एउटा अद्भुत शान्ति र सन्तोष थियो ।
हामीलाई घुमाइरहेका स्थानीय गाइडका अनुसार, यो पर्खाल बनाउन चामलको पिठो र चुनको सम्मिश्रणलाई मसलाका रूपमा प्रयोग गरिएको रहेछ, जसले गर्दा सयौँ वर्ष बितिसक्दा पनि यो उत्तिकै बलियो र अटल छ । पर्यटकहरूको भिडमा कतिपय मानिसहरू त हातमा चिनियाँ झन्डा बोकेर गर्वका साथ 'चोङगो वान सुई' (चीन जिन्दाबाद) भन्दै नारा लगाइरहेका थिए । उनीहरूको राष्ट्रप्रेम र आफ्नो सम्पदाप्रतिको लगाव देख्दा मलाई आफ्नै देशका ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नुपर्ने कुराको याद आयो ।
मैले र भाइ प्रशान्तले पनि त्यहाँको एक कुनामा बसेर केही बेर टोलाउँदै टाढाको क्षितिजसम्म पुगेको पर्खाललाई हेरिरह्यौँ । त्यो पलमा शब्दहरू मौन थिए, तर मनभित्र एउटा अद्भुत शान्ति र सन्तोष थियो । सानो छँदाको त्यो 'चन्द्रमाबाट देखिने वस्तु' को भ्रम आज सत्यको धरातलमा उभिएर टुटिसकेको भए पनि, यो मानव निर्मित आश्चर्यले मेरो मनमा छोडेको छाप भने अमिट रहने निश्चित थियो । साँझ पर्नै लाग्दा आकाशको रङ अलि गाढा हुँदै गयो र सूर्यका अन्तिम किरणहरूले पर्खालका ढुङ्गाहरूलाई सुनौलो आभा दिइरहेका थिए ।
बिस्तारै ओरालो झर्दै गर्दा मलाई लाग्यो– ग्रेटवाल केवल ढुङ्गा र माटोको थुप्रो मात्र होइन, यो त मान्छेको अजेय इच्छाशक्तिको कथा हो । आफ्नो मातृभूमिको रक्षाका लागि प्राचीन चिनियाँहरूले देखाएको त्यो अठोट आज पनि यी विशाल पत्थरहरूमा जीवन्त छ । फर्कने क्रममा केही चिनियाँ वृद्धवृद्धाहरूले हामीलाई मुस्कुराउँदै 'नी हाउ' (नमस्ते) गरे, जसले हाम्रो यात्रालाई थप आत्मीय बनायो । केही घण्टाअघिको त्यो कौतूहल अब एउटा सुखद अनुभूति र सम्झनामा बदलिइसकेको थियो । जब हामी मुख्य प्रवेशद्वारमा फर्किएर गाडीतर्फ लाग्यौँ, मेरो मनमा एउटै कुरा खेलिरहेको थियो— संसारमा असम्भव भन्ने केही छैन, यदि मानिससँग दृढ सङ्कल्प र सामूहिक एकता छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण