राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् ।
काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भनिन् ।
करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६ सय ६ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुसी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्याएको उनले जानकारी दिइन् ।
राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो कि? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने?”, उनले प्रश्न गरे ।
स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।
वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन