मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

बिहीबार, २४ असोज २०८१, १८ : ०७
बिहीबार, २४ असोज २०८१

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।

तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आएका छन् । उनी झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने काम गर्दै आएका छन् । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उनी कहाँ पुग्छन् ।

महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चामल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उनीसँग रहेको छ । 

दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुर्सदको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्थे । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गरेका थिए ।

पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीवनयापनको खोजीमा तराई झरे । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उनले भने, “कुनै ठाउँमा पनि स्थायी रूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायी रूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ्य नहुँदा घुमन्ते रूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उनले भने, “जिउ ढाक्ने लुगाफाटो अरूसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई  गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।

राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रीज परियोजना अन्तर्गत दमाईले सिलाई  गर्ने मेसिन पाएका छन् । मेसिन पाएपछि घर खर्च चलाउन उहाँलाई  केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उनले भने, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”

दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उनी समावेश हुनबाट छुटेका छन् । लगतमा समावेश नहुँदा उनले परिचयपत्र र पुनर्स्थापनाका प्याकेज पाएका छैनन् । पच्चिस वर्ष अघि बनाइएको झोपडीमा दमाई परिवार बस्दै आएको छ । “प्लास्टिकको कालो त्रिपाल र घाँसको छाना भएको कच्ची झोपडी बनाएको वर्षौँ भइसक्यो”, उनले भने, “झोपडी ढल्ने अवस्थामा पुगेको छ, झोपडी ढले आश्रयस्थलको खोजीमा फेरी भौँतारिनुपर्ने छ ।”

दमाईका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टीकाटालो गरेर छोरीको विवाह गरी बिदाइ गरेको नमिठो अनुभव उनीसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उनले भने, “पढाइका लागि आवश्यक रकम जुटाउन सकिन, बिचमै विद्यालय छुटाएर दुई महिना अघि कमाई गर्नका लागि भारत पठाएको छु ।” छोरालाई भारत पठाउनु रहर नभएर बाध्यता भएको उनले उल्लेख गरे ।

सिलाइसँगै पहिला दामोदर पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा बजाउने कार्य गर्थे । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उनको भनाइ रहेको छ । “झोपडीको कुनामा दमाहा झुण्याएको वर्षौँ भइसकेको छ”, उनले भने, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दसैँ आए पनि एक छाक खानका लागि अरूसँगै हात थाप्नुपर्ने अवस्था दमाई परिवारलाई रहेको छ । उनी भन्छन्, “हाम्रा पीरमार्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहजरूपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यही मात्रै हाम्रो अनुरोध छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप