नेपाली बेसारको अस्ट्रेलिया यात्रा
बानेश्वरका स्थानीय सुहृद चापागाईंले २०८० साउनदेखि काठमाडौँबाट अस्ट्रेलियामा बेसार पठाउन थालेका छन् । उनले पठाउने बेसारमा कर्कुमिन (बेसारमा पाइने तत्त्व)को मात्रा उच्च हुन्छ ।
उच्च कर्कुमिन भएको बेसारको माग विदेशमा बढी भएको थाहा पाएपछि उनी बेसार व्यवसायमा लागेका हुन् । सुरुमा उनले देशका विभिन्न नौ स्थानका बेसारको परीक्षण गरेका थिए । कर्कुमिनको मात्रा उच्च भएको बेसार काभ्रेमा भेटिएपछि उनले त्यहाँका किसानसँग मिलेर बेसारखेती नै सुरु गरेका छन् ।
काभ्रेमा उनीहरूले उच्च कर्कुमिन भएको काँचो बेसार वार्षिक २० हजार किलोजति उत्पादन गर्छन् । मागअनुसार उत्पादन गर्न नसकेको सुहृदको भनाइ छ । ‘अर्को वर्षदेखि वार्षिक दुई लाख किलो उत्पादन गर्ने लक्ष्य छ,’ उनी भन्छन्, ‘अहिलेसम्म बेसार खेतीका लागि मेरो लगानी नै एक करोड पुगिसकेको छ ।’
उनका अनुसार, यतिखेर नेपाली बजारमा दुई प्रकारका बेसार छन्— एउटा कर्कुमिनको मात्रा बढी भएको र अर्को अहिलेसम्म हामीले प्रयोग गर्दै आएको बेसार ।
हामीले प्रयोग गर्दै आएको बेसारको मूल्य प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म छ । सुहृदले भने उच्च कर्कुमिन भएको बेसारलाई प्रतिकिलो १२ सय रुपैयाँसम्म (खुद्रा मूल्य)मा बिक्री गर्छन् ।
_wTV7v5CZGy.jpg)
‘कर्कुमिनको मात्रा बढी भएको बेसारको होलसेल मूल्य हजार रुपैयाँ छ । यसमा अदुवा, अलैँची र अश्वगन्धा आदि मिसाएर पनि बेच्ने गरेका छौँ,’ उनी भन्छन्, ‘यस्तो मिश्रण भएको बेसार प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुन्छ । यस्तो बेसार मासिक १०० किलोजति अस्ट्रेलियामा पठाउँछौँ । सानो परिमाणमा नेपालमै पनि बिक्री हुने गर्छ । खासगरी यसलाई औषधिकै रूपमा प्रयोग गरिन्छ ।’
उनले स्थानीयले उत्पादन गर्ने महसँगै हुम्लाको सिलाजित समेत विदेश पठाउँछन् । सिलाजित प्रतिकिलो दुई लाख रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ ।
‘हुम्लाको सिलाजितलाई हामी आफैँले प्रशोधन गरेर बाहिर पठाउँछौँ । यसलाई अस्ट्रेलिया, जर्मनी र जापानमा मन पराइएको छ । नेपाली बजारमा पनि यसको माग बढी नै छ,’ उनी भन्छन्, ‘हामीले आयुर्वेदिक चिकित्सकको परामर्शबिना बिक्री गर्दैनौँ ।’
यो सबै कारोबार उनले पाँच वर्षअघि खोलेको कम्पनी ‘एग्री डाइरेक्ट’बाट हुन्छ । जहाँ अहिले १५ जनाले रोजगारी पाएका छन् । जसमध्ये कृषि विज्ञ दुई जना, बायो–टेक्नोलजिस्ट पाँच, केमिकल इन्जिनियर तीन, आयुर्वेदिक डाक्टर तीन र कृषिका विद्यार्थी दुईजना छन् ।
‘कृषिविज्ञ, आयुर्वेदिक चिकित्सक, इन्जिनियर समेत भएर निकै अध्ययन गर्यौँ,’ सुहृद आफूहरूको मेहनत र सफलता सुनाउँछन्, ‘यत्तिकै हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा जाँदैन नि ! पहिले त गुणस्तरमै ध्यान दिनुपर्छ ।’
- इन्जिनियरिङ पढेका सुहृदको कृषिमा आगमन
काठमाडौँमै मेकानिकल इन्जिनियरिङ पढेका सुहृदले २०५८ सालतिर मोरङ पुगेर एक अटो–वर्कसपमा काम गरिरहेका थिए । त्यही बेला भारतको बैंग्लोरको एक कलेजले उनलाई एमबीएका लागि छात्रवृत्ति दियो । त्यसपछि उनी अध्ययनका लागि बैंग्लोर हानिए । त्यहाँ उनको पढाइ उद्यमशीलता सम्बन्धमा थियो ।
तीनवर्षे अध्ययन सकेर उनी २०६२ सालमा स्वदेश फर्के र गैरसरकारी संस्थाहरूसँग जोडिएर आफ्नो पढाइ अनुरुपकै काम गर्न थाले । ग्रामीण कृषिको अध्ययन–अनुसन्धान गर्ने र त्यसको उत्थानका लागि प्रोजेक्टहरू बनाउने नै उनको काम थियो । त्यस क्रममा उनले देशका ७४ जिल्लाको कृषि अवस्था र समस्याबारे बुझ्ने अवसर पाए ।
‘करिब १५ वर्षसम्म जागिर गर्दा मैले हाम्रो कृषि प्रणालीलाई नजिकबाट नियालेको थिएँ । गुणस्तरीय उत्पादन भएका ठाउँमा बजार नपाएको पनि देखेँ,’ उनी भन्छन्, ‘त्यसपछि कृषि क्षेत्रलाई अगाडि लैजान मैले एग्री डाइरेक्ट कम्पनी सुरुवात गरेको हुँ ।’
_fSn4jTDEKA.jpg)
रोल्पाको स्याउ काठमाडौँ ल्याएर बिक्री थालेका उनले क्रमशः देशका विभिन्न स्थानबाट सुन्तला, जुनार, कागती, कागुनो, जुनेलो, मार्सी, कोदो, फापर, अदुवा, अलैँची आदि ल्याउन थाले । जसको बिक्रीका लागि उनले सीतापाइला, खुमलटार लगायत काठमाडौँ उपत्यकाका ३० स्थानमा पसल तथा स्टल राखेका थिए । ग्राहकले अनलाइनमार्फत र पसलमै आएर समेत खरिद गर्थे ।
यस्ता स्थानीय कृषि उपजका लागि बजारको समस्या नभएपछि उनले ताप्लेजुङबाट अलैँची, दार्चुला र जुम्लाबाट ओखर तथा स्याउ र पाँचथरको शैलुङबाट रातो र हरियो किबी लगायत उत्पादन ल्याएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन थालेका थिए ।
‘उत्पादन किनिदिँदा किसान खुसी हुन्थे, मलाई भने सधैँ नाफा हुँदैनथ्यो । कहिलेकाहीँ सामान बिग्रने समस्या हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले बेसारतिर लागेपछि यसको व्यापार घटेको छ । तैपनि रैथाने बाली तथा खासखास फलफूल ल्याएर बेच्ने गरेको छु ।’
- कृषिमाथि अध्ययन–अनुसन्धान
हामीकहाँ कृषिको उत्पादन र प्रयोगमा परम्परागत तरिका अपनाइएकाप्रति सुहृद चिन्तित छन् । विज्ञान र प्रविधिका माध्यमबाट कृषिको प्रवद्र्धन गरिनुपर्ने उनको धारणा छ । खासगरी कृषि उत्पादनको उपयोगिता बढाउन र बजार खोज्न उनी अनुसन्धानरत देखिन्छन् ।
_ig76pRGPS9.jpg)
गत वर्षको तिहारमा देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा बिक्री गर्न ल्याइएका सयपत्री लगायत फूल बिक्री नभएर फ्याँक्नुपरेको थियो । यो देखेपछि सुहृदले सयपत्री फूलका विषयमा अनुसन्धान गरे । सयपत्रीबाट अत्तरदेखि धुपसम्म बनाउन सकिने रहेछ । यो ज्ञान उनले सामाजिक सञ्जालमार्फत साझा गरे । अहिले केहीले सयपत्रीबाट धुप र अत्तर बनाएर बजारमा पठाएका छन् ।
पछिल्लो समय सुहृद टीकापुरका युवाको समन्वयमा केराको रेसा निकाल्ने र विभिन्न सामग्री बनाउनेबारे अध्ययन गरिरहेका छन् । पहिले केराको रेसा हस्तकलाको सामग्री बनाउन मात्रै प्रयोगमा आउँथ्यो । अब त्यसबाट ब्याग, टिसर्ट लगायत कपडा बनाउन प्रयोग सकिने उनी सुनाउँछन् । ‘पहिला यस्तो रेसा प्रतिकिलो १०० रुपैयाँमा बिक्थ्यो । तर केमिकल इन्जिनियरलाई अध्ययन गर्न लगाउँदा धेरै राम्रो क्वालिटीको रेसा पाइयो । अहिले किसानसँग ३०० रुपैयाँमा खरिद गरेर कपडा बनाउन प्रयोग हुन्छ,’ उनले भने ।
यस्तै उनले बेसारबाट तेल निकाल्नका लागि अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण