बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली

बिहीबार, ०७ साउन २०८३, १६ : ४५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चाहने शक्तिबिचको सहकार्य अनिवार्य भएको बताएका छन् ।
  • उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूकै काँधमा रहेको बताएका छन् ।
  • ओलीले कांग्रेसमा चलिरहेको किचलो जायज नभएको भन्दै लोकतन्त्रका लड्ने शक्ति मिलोस् भन्दै सहकार्यका लागि जुट्न आग्रह गरे ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चाहने शक्तिबिचको सहकार्य अनिवार्य भएको बताएका छन् । साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूकै काँधमा रहेको बताएका छन् । 

‘यिनै पार्टीहरूले लोकतन्त्र फिर्ता ल्याउनुपर्छ, संविधान बचाउनुपर्छ र संविधान संशोधन गर्नुपर्छ’, ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा ओलीले भने, ‘यिनैको अगुवाइमा लोकतन्त्रका आधारभूत प्रश्नको रक्षा गर्दै अघि बढ्नुपर्छ ।’

अध्यक्ष ओलीले सडक र सदन दुवै मोर्चाबाट यसका लागि काम गर्नुपर्ने भन्दै लोकतन्त्र अपहरण गर्ने विरुद्ध लोकतन्त्र चाहने शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । 

नेपाली जनतालाई एकजुट बनाउने पनि यिनै राजनीतिक दलहरूको भएको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल दुरुपयोग गरेर असामाजिक बनाउने र राजनीतिक दल र नेतामाथि छाडा गाली गर्ने काम भइरहेको बताए । 

‘आज हरेक दलहरू, खासगरी लोकतान्त्रिक दलहरू एक हुन जरुरी छ’, ओलीले भने, ‘नेकपा एमाले एकतावद्ध छ अरू दलहरू पनि एकताबद्ध हुन जरुरी छ ।’ 

उनले कांग्रेसमा चलिरहेको किचलो जायज नभएको भन्दै लोकतन्त्रका लड्ने शक्ति मिलोस् भन्दै सहकार्यका लागि जुट्न आग्रह गरे । 

फरक प्रसंगमा अध्यक्ष ओलीले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो देखिएको भन्दै छिट्टै अन्यौलता हट्ने बताए । 

उनले सङ्घीय सरकारका कामकारवाही प्रति कटाक्ष गर्दै उनले मानिसहरू सडकमा बोल्न र हिँड्न समेत नदिएर पञ्चायत भन्दा पनि निरङ्कुशता देखाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप