बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी–२० क्रिकेट

अमेरिकाविरुद्ध ‘क्लिन स्विप’ गर्ने नेपालको लक्ष्य

आइतबार, ०४ कात्तिक २०८१, २३ : ००
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । नेपाल र अमेरिकाबिचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल सोमबार खेलिँदैछ । उक्त खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार, बिहान ०५ः४५ बजे सुरु हुनेछ ।

तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने यसअघि नै नेपालले जितिसकेको छ । शृङ्खलामा नेपाल २–० ले अगाडि छ । त्यसैले सोमबारको खेलमा पनि नेपाली टोली अमेरिकालाई हराउँदै शृङ्खलामा ‘क्लिन स्विप’ गर्ने धुनमा हुनेछ ।  

nepal vs usa 3

अर्कोतिर, पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको अमेरिका भने घरेलु मैदानमा नेपाली टोलीविरुद्ध तेस्रो खेलका लागि ओर्लँदा सान्त्वना जितको खोजीमा रहने छ । नेपालले शृङ्खलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

शृङ्खलाको दोस्रो खेलमा नेपाली टोलीले अमेरिकालाई ‘सुपर ओभर’ मा हराएको थियो । नेपाल र अमेरिकाबिचको दोस्रो खेल निकै रोमाञ्चक थियो । निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको थियो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको सम्मानजनक स्कोर तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७० रन नै बनाएको थियो ।

nepal vs usa 2

त्यसपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा घरेलु टोली अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सकेको थियो । नेपालले भने चार बलमै कुनै पनि विकेट नगुमाई विजय लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा सोमपाल कामी नायक बनेका थिए । खेललाई सुपर ओभरसम्म पुर्‍याउन र सुपर ओभरमा नेपाललाई जित दिलाउन उनको भूमिका महत्त्वपूर्ण रहेको थियो । नेपालको जितमा कुशल भुर्तेलले पनि महत्त्वपूर्ण योगदान गरेका थिए । उनले अविजित ९२ रन बनाएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खला खेल्न नेपाली टोली अहिले अमेरिका पुगेको हो । लिग–२ प्रतियोगिता भने एकदिवसीय ढाँचामा हुनेछ । लिग–२ शृङ्खला भने अक्टोबर २५ तारिखदेखि सुरु हुनेछ ।

nepal vs usa

अमेरिकामा खेलिने लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ । लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपाली टोलीले आयोजक अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ ।

यी दुवै राष्ट्रसँग नेपालले दुई–दुई खेल खेल्नेछ । शृङ्खलाको पहिलो खेल अक्टोबर २५ तारिखमा अमेरिका र स्कटल्यान्डबिच खेलिने छ । नेपालले भने अक्टोबर २७ तारिखमा आफ्नो पहिलो खेल अमेरिकासँग र अक्टोबर २९ तारिखमा दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ ।

यसैगरी, नेपालले तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ शृङ्खला सकिए लगत्तै सहभागी तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । तर, टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने लिग–२ को अङ्ग होइन ।

nepal cricket

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकाविरुद्धको शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ ।

नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए । यसका अतिरिक्त क्यानले अमेरिका भ्रमणका क्रममा खेलिने लिग–२ शृङ्खलाका लागि पुबुदु दासानायकेलाई पनि मेन्टरको रूपमा नियुक्त गरेको छ । उनी नेपाली राष्ट्रिय टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् ।

अमेरिकामा हुने लिग–२ शृङ्खलामा सहभागी हुन राष्ट्रिय टोलीका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने पनि अमेरिका पुगिसकेका छन् । नेपालस्थित अमेरिकी दूतावासले भिसा (प्रवेशाज्ञा) उपलब्ध गराएपछि सन्दीप शुक्रबार राति अमेरिका प्रस्थान गरेका थिए ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप