गायनमा तीन दशक बिताएका धिरजको सङ्कल्प : अब देशका लागि गाउँछु
काठमाडौँ । लोकप्रिय पपस्टार धिरज राई यतिबेला एकल साँझको तयारीमा छन् । ‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ नाम दिइएको कन्सर्ट आगामी शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ ।
राईको गायन यात्रा ३० वर्ष पुगेको उपलक्ष्यमा कराउके इन्टरटेनमेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । राईको गायन करियरकै यो दोस्रो एकल साँझ हो । यसअघि २०५६ मा उनको एकल साँझ आयोजना भएको थियो ।
गायनको ३० वर्षे यात्रामा राईले १४ एल्बम र केही फुटकर गरेर दुई सयभन्दा बढी गीत गाएका छन् । एकल साँझमा उनले आफ्ना प्रत्येक एल्बमको एक–एक हिट गीत गाउने योजना छ । जसमा ‘लुकी लुकी’, ‘तिमी रुँदा’, ‘मिस्टिरियस गर्ल’, ‘गर्लफ्रेन्ड’, ‘तिम्रा नयन’, ‘माया छ है’, ‘मायाले माया साटी’ लगायत छन् ।
कार्यक्रममा आफूले गाउने गीतले आफ्नो ३० वर्षे साङ्गीतिक यात्राकै प्रतिनिधित्व गर्ने राईले बताए ।
‘कार्यक्रममा म मेरो ३० वर्षे साङ्गीतिक यात्रा खोतल्नेछु । जसबाट सबैले मेरो साङ्गीतिक यात्राको सुरुदेखि अहिलेसम्मको उतारचढाव थाहा पाउनु हुनेछ’, धिरजले भने ‘कार्यक्रममा म ‘बुद्ध वाज बोर्न इन नेपाल’ किन महत्त्वपूर्ण छ भन्ने जानकारीसमेत दिनेछु ।’
_Y8GoiYr2C0.jpg)
‘बुद्ध वाज बोर्न इन नेपाल’ धिरजले २००५ मा आरआर कलेजमा एमए पढ्दै गर्दा अङ्ग्रेजी किताबमा बुद्ध भारतमा जन्मिएको हो भनेर लेखेको देखेपछि संसारभर यो भ्रम चिर्न अभियान सुरु गरेका थिए ।
‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ एउटा साङ्गीतिक कार्यक्रममात्र नभएको उनले बताए । आफ्नो यो एउटा ‘टर्निङ प्वाइन्ट’ भएको बताउँछन् उनी । कार्यक्रममा आफूले ‘पहिले आफ्नो लागि गाएँ, अब देशका लागि गाउँछु’ भनेर सङ्कल्प गर्ने उनको भनाइ छ । अबको साङ्गीतिक यात्रा पूरै समाजसेवामा समर्पित हुने उनले खुलाए ।
‘३० वर्षे साङ्गीतिक यात्राबाट मैले आफ्ना लागि नाम, दाम, चर्चा, सफलता सबथोक पाएँ’, धिरजले भने, ‘संसार २ फन्को मारिसकेको मलाई अब केही चाहना छैन ।’ त्यसैले गायनको सबै आम्दानी अब समाजसेवामा समर्पित गर्ने सोच बनाएको उनले सुनाए ।
‘शिखरमा पुगेपछि कहाँ जाने भन्ने कुरो आउँदो रहेछ । धेरै मानिस यही कन्फ्युजनमा रहेर उचित चाल्न नसक्दा अलमलमा पर्दा रहेछन् र हराउँछन्’, उनले भने, ‘मलाई पनि अब के गर्ने भन्न निकै गाह्रो भएको थियो । धेरै सोचविचारपछि यस्तो निर्णय लिएँ ।’

धिरजलाई अबको गायन समाजसेवामा समर्पित गर्ने प्रेरणा फिल्म ‘स्पाइडर म्यान’बाट पनि मिलेको हो । पहिले उनी ‘स्पाइडर म्यान’ बच्चाहरूको फिल्म हो भन्ने ठान्थे । जब एकपटक फिल्म हेर्ने मौका मिल्यो, त्यसपछि उनको सोच बदलियो ।
फिल्ममा एउटा दुब्लो पातलो गरिब केटो हुन्छ । जसको शारीरिक बनोटदेखि सबै हैसियत कमजोर हुन्छ । उसलाई विशेष प्रकारको माकुरोले टोक्छ । त्यो माकुरोको टोकाइबाट उसमा विशेष शक्ति प्राप्त हुन्छ । त्यो शक्तिका कारण ती मानिसले पहिलेभन्दा आफूलाई हजार गुणा शक्तिशाली पाउँछ । उसले नर्मल मानिसको कल्पनाभन्दा बाहिरको क्रियाकलाप गर्न सक्छ । उसले शक्ति केमा प्रयोग गर्ने भनेर सोच्न थाल्छ । त्यतिबेला उसको अंकलले शक्तिसँगसँगै जिम्मेवारी पनि बढेको महसुस गराउँछन् । त्यसपछि आफूमा भएको शक्ति उसले राम्रो काममा लगाउँछ ।
‘फिल्म हेरेपछि मलाई पनि मेरो यो सफलता र उचाइ विशेष शक्ति हो भन्ने लाग्यो । केहीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने सोचेँ’, धिरजले भने, ‘मलाई अब आफ्नो लागि पुग्यो । देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।’
राईले समाजसेवाका लागि तत्काल दुई काम गर्ने सोच बनाएका छन् । एक, ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियान निरन्तर अगाडि बढाउने, अर्काे आफ्नो जन्मभूमि खोटाङमा एउटा सुविधा सम्पन्न अस्पताल बनाउने ।
बुद्धको गीत १२ भाषामा निकाल्ने र नेपालका सर्वोत्कृष्ट पेन्टरले निर्माण गरेको ३० फिट लामो ‘बुद्ध वाज बोर्न इन नेपाल’ भन्ने पेन्टिङ राष्ट्रसंघको परिसरमा प्रदर्शन गर्ने योजना रहेको पनि धिरजले सुनाए । उनले भने, ‘पहिलेका जस्तै माया प्रेम, जीवन, देशप्रेम, रोमान्टिकदेखि नयाँ शैलीका र नयाँ स्टाइलका गीत पनि निरन्तर दिन्छु ।’ गीत–सङ्गीतको अबको पूरै आम्दानी समाजसेवामा लगाउने उनले बताए ।
‘विश्वमा हाम्रो सङ्गीत बेच्ने हो भने माया, प्रेमका गीतले हुँदैन’, उनले भने, ‘हाम्रो कल्चर गीत प्रस्तुत गर्नुपर्छ ।’ त्यसका लागि अन्तर्राष्ट्रिय भाषा (अङ्ग्रेजी)मा पनि गीत बनाउने तयारी गरेको उनी बताउँछन् ।

- रेडियोले स्टुडियो नदिँदा धिरज
नेपालमा पप गीतसङ्गीत स्थापित गर्न धिरजको महत्त्वपूर्ण योगदान छ । पप सङ्गीतबाटै स्वदेश तथा विदेशका थुप्रै कार्यक्रम गरेका उनले यसका कारणले थुप्रै चर्चित पुरस्कार र सम्मानसमेत प्राप्त गरेका छन् ।
२०४५/०४६ बाट उनले गायन थालेका थिए । त्यो समय उनको उमेर १३/१४ वर्षको थियो । त्यतिबेला गीत रेकर्ड गर्न रेडियो नेपालको विकल्प थिएन । रेडियोमा आधुनिक गीतको लहर थियो । उनी रेडियोमा पप गीत रेकर्ड होस्, बजोस् भन्ने चाहन्थे ।
रेडियोका हर्ताकर्तामा पप सङ्गीतले समाज भाँड्छ भन्ने सोच थियो । त्यसैले रेडियोमा गीत रेकर्ड गर्न नपाएपछि उनी स्कुल, कलेज, सहरका चोक र भोजमा पप गीत गाउँथे ।
जब देशमा प्रजातन्त्र आयो । त्यसपछि गीत–सङ्गीतले पनि फराकिलो धरातल पायो । एमएम रेडियो खुल्न थाले, निजी क्षेत्रबाट रेकर्डिङ स्टुडियो भित्रिए । उनले २०५१ सालमा आफ्नो पहिलो पप गीत ‘लुकी लुकी’ रेकर्ड गराए । उनको गीत एफएमहरूमा चर्चित भयो ।
‘हाम्रो पप गीत पुराना पुस्ताले भन्दा युवा पुस्ताले रुचाए’, धिरजले उतिबेलाको खुसी सुनाए, ‘२०५३ देखि ०६४ सम्म पप गीतको दबदबा रह्यो ।’ नेपाली गीत–सङ्गीतमा पैसा कमाउने र गायक स्थापित हुने पहिलो काम पप सङ्गीतले नै गरेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण