रवि लामिछाने पक्राउपछि रास्वपाको कमाण्ड कसको हातमा ?
काठमाडौँ । सहकारी बचत रकम हिनामिना गरी ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक सातादेखि प्रहरी हिरासतमा छन् । उनको हिरासत अवधि कति हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेलाई गत शुक्रबार पक्राउ गरी कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
बिहीबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि दोस्रोपटक म्याद थप्दै कात्तिक १४ गतेसम्मका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोपमा सहकारी ऐन, २०७४ र सङ्गठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा लामिछानेमाथि मुद्दा लाग्ने देखिन्छ ।
प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ । सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न चाहेमा प्रहरीले ९० दिनसम्म हिरासतमा राख्न म्याद पाउन सक्छ ।
यस हिसाबले लामिछानेमाथिको अनुसन्धान लम्बिने देखिन्छ । यदि अदालतले लामिछानेलाई धरौटीमा छोड्न आदेश नदिएमा पार्टीको कार्यसम्पादन, सञ्चालनमा समस्या आउने देखिन्छ । तर अहिलेसम्म लामिछानेले कुनै नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छैनन् ।
यसरी सञ्चालन भइरहेको छ रास्वपा
रास्वपा यतिबेला सभापति लामिछानेको बचाउमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको छ । रास्वपाले आगामी वैशाख २५ देखि २७ सम्म प्रथम महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
सभापति लामिछाने हिरासतमा पुगेसँगै अब पार्टीको कमाण्ड कसले गर्ने भन्ने दुविधा देखिएको छ । सभापतिका रूपमा लामिछानेले हिरासतबाटै नेतृत्व गरिरहन्छन् वा अन्य नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने भन्नेबारे कुनै निर्णय नभएको सो पार्टीका नेता बताउँछन् ।
_UPzW3QvrVl.jpg)
सभापति नभए पनि पार्टीको नियमित काम प्रभावित नभएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दाबी गरे । सभापति लामिछाने हिरासतमा रहे पनि पार्टीको प्रथम महाधिवेशनको तयारी नरोकिने उनको भनाइ छ । सम्बन्धित निकायबाट दोषी ठहर नभएसम्म पार्टीले सभापति लामिछानेलाई पार्टीको कार्यकारी भूमिकाबाट निलम्बन नगर्ने उनले स्पष्ट पारे ।
‘अहिले पार्टी उपसभापतिहरूले राजनीतिक र संसदीय कमाण्ड हेरिराख्नुभएको छ । सङ्गठनतर्फ कार्यवाहक महामन्त्रीको हिसाबले म आफैँले हेरिराखेको छु’, बुर्लाकोटीले भने, ‘विभागहरू पनि सक्रिय छन्, कुनै समस्या छैन ।’ पछिल्लो समय अलि बाक्लो सरसल्लाह गर्नुपर्ने अवस्था देखिएको भन्दै उनले त्यसमा पनि कुनै अड्चन नदेखिएको दाबी गरे । अदालतले दोषी ठहर नगरेसम्म सभापति लामिछानेको विकल्प नखोजिने उनले प्रस्ट पारे ।
लामिछाने पक्राउ परेपछि रास्वपा सडकमा उत्रिएको छ । जसले गर्दा १०/१५ दिनका लागि पार्टीका काम प्रभावित भएको र बाँकी काम छिटै नियमित रूपमा अगाडि बढ्ने बुर्लाकोटीले बताए । कात्तिकभित्र जिल्ला भेलाहरू सक्ने कार्यतालिका थियो । मंसिर १६ गते हुने स्थानीय तहका उपनिर्वाचनको तयारीमा जुट्ने निर्णय पनि यसअघि नै रास्वपाले गरेको थियो ।
‘पार्टीको पूर्वनिर्धारित काम रोकिँदैन । तिहार अगाडि हुने भनिएका १०/१५ दिनको काम स्थगित गरेका छौँ । बाँकी काम छिटै सुरू हुन्छ’, बुर्लाकोटीले भने ।

रास्वपाका नेताहरूले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेमाथि झुटा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाएका छन् । केपी ओली नेतृत्वको सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको उनीहरू बताउँछन् ।
लामिछाने पक्राउको विरोधमा देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन रास्वपाले आह्वान गरेको छ । गत शनिबारदेखि पोखरा केन्द्रित विरोध प्रदर्शन गरेको रास्वपाले अब देशभरि अभियानकै रूपमा आन्दोलनलाई लैजाने तयारी गरेको छ ।
‘आन्दोलन स्वतःस्फूर्त हुन्छ । विशेषगरी काठमाडौँ उपत्यका आसपासका साथीहरूले केन्द्रमा प्रदर्शन गर्नुपर्छ भन्नुभएको थियो । उहाँहरूले केन्द्रीय नेताहरूको उपस्थिति माग गर्नुभएको थियो,’ बुर्लाकोटीले भने, ‘हामी पोखरामा केन्द्रित भएकाले आउन सकेका थिएनौँ । केही साथीहरू आउने क्रममा छन् ।’
आन्दोलनमा कसले नेतृत्व गर्ने भनेर नसोचेको बुर्लाकोटीको भनाइ छ । तर सभा, विरोध प्रदर्शनमा हुन सक्ने हुलदङ्गा, घुसपैठ लगायत अवाञ्छित क्रियाकलाप रोक्न ‘¥यापिड एक्सन टिम’ परिचालन गरिएको उनले बताए । ‘अवाञ्छित गतिविधि भएमा त्यसको जिम्मा पार्टीले लिन्छ । सोही अनुसार हामी कारबाही अगाडि बढाउँछौँ,’ उनले भने ।
पार्टीले गरेको आन्तरिक छानबिनमा लामिछाने निर्दोष देखिएको र संसदीय छानबिन समितिले पनि सभापति लामिछानेले सहकारीबाट ऋण लिएको कुनै प्रमाण दिन नसकेको बुर्लाकोटीको तर्क छ । यसकै आधारमा अदालतले सभापति लामिछानेलाई रिहा गर्ने उनको विश्वास छ ।
‘आन्तरिक छानबिनबाट दोषी नदेखिएकाले सभापतिले गल्ती नगरेकोमा पार्टी स्पष्ट छ । संसदीय छानबिन समितिले समेत सहकारीबाट ऋण लिएको कुनै प्रमाण दिएको छैन’, उनले भने, ‘यति हुँदाहुँदै पनि उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएमा त्यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ ।’
_nFkWmWKV3B.jpg)
तर पार्टीमा नेतृत्वको विषयलाई लिएर कुनै समस्या नभएको बुर्लाकोटीको जिकिर छ । पार्टीको निर्णयमा हस्ताक्षर गर्न कानुनले सभापतिलाई वर्जित नगरेकाले पार्टीको नियमित काम भइरहेको उनको दाबी छ । विधानमै सभापतिको अनुपस्थितिमा उपसभापतिले बैठकको नेतृत्व गर्ने स्पष्ट व्यवस्था भएकाले कुनै समस्या नभएको उनले प्रस्ट पारे ।
‘नेतृत्वको कुनै समस्या हुँदैन । अहिले बैठकको संयोजन डीपी अर्यालले गरिराख्नुभएको छ । विधानमै सभापति अनुपस्थित हुँदा सभापतिको निर्देशनमा उपसभापतिले कार्यसम्पादन गर्ने भनिएकाले कुनै समस्या छैन’, बुर्लाकोटीले भने, ‘दुई वटा उपसभापति मिलेर संयुक्त रूपमा निर्णयहरू गरिराख्नुभएको छ । बैठकको संयोजन अर्यालले नै गर्नुहुन्छ । कानुनी निर्णय लिनुपर्यो भने त्यतिबेला सभापतिको सहमति लिएर गर्नुपर्छ । अन्य निर्णय गर्न कुनै समस्या छैन ।’
६१ सदस्यीय केन्द्रीय समितिमा अर्याल वरिष्ठ उपाध्यक्ष छन् । उनी लामिछानेका विश्वासपात्र हुन् । दोस्रो उपसभापतिमा डा. स्वार्णिम वाग्ले छन् । महामन्त्री डा. मुकुल ढकाललाई निष्कासन गरेकाले कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा बुर्लाकोटी छन् । लामिछाने पक्राउ परेपछि अर्याल र वाग्लेले संयुक्त रूपमा बैठक सञ्चालन गर्दै आएका छन् । साङ्गठनिक गतिविधि बुर्लाकोटी आफैँले हेर्दै आएका छन् ।
तथापि लामिछानेलाई थप समय थुनामा राख्ने आदेश भएमा एकदुई वटा ‘मुभ’ प्रभावित हुन सक्ने बुर्लाकोटीको बुझाइ छ । उनले भने, ‘सभापतिलाई थुनामा राख्न आदेश दिएमा एकदुई वटा मुभ फरक पर्छ । अन्यमा कुनै फरक पर्दैन ।’
बुर्लाकोटीका अनुसार पहिलो, पार्टीको बैठकमा पेस गर्ने एजेण्डा, सडकमा उपस्थित हुनका लागि गरिने आह्वानमा फरक पर्छ । केही नारामा फरक पर्छ । विशेष गरी सुशासन, सहकारी पीडित लगायतका अवस्था बदल्नका लागि एजेण्डा अघि सारिएको उनले बताए ।
‘दोस्रो, राज्य तहको निर्णय र कार्यान्वयन गर्ने विषयमा समस्या हुनसक्छ’, उनले भने ।
तर मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि पहिला नै अख्तियारी दिइसकेकाले कुनै समस्या नभएको बुर्लाकोटीको भनाइ छ । कुनै छुटेको अवस्थामा निर्णय गर्न सक्ने गरी अख्तियारी दिइसकेको उनले स्पष्ट पारे ।
कानुन बमोजिम सभापतिको हस्ताक्षर अहिले पनि चल्ने दाबी गर्दै अदालतले निर्णय नगरेसम्म कुनै समस्या नभएको उनले बताए । तर सभापति नभए पनि महाधिवेशनको कार्यतालिकामा फेरबदल नहुने उनले दाबी गरे ।
‘महाधिवेशनको कार्यतालिकामा कुनै फेरबदल भएको छैन । नियमित प्रक्रिया अनुसार नै भइरहेको छ । हामी फटाफट निर्णय गर्नेछौँ । पुर्पक्षमा जान अदालतले आदेश दिए पनि महाधिवेशन प्रभावित हुँदैन,’ बुर्लाकोटीले भने, ‘हामीले कहीँ कतै विचलित हुने कार्यतालिका बनाएका छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण