बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

गगन थापाको दौडधुप : छठमा अस्ताउँदो सूर्यलाई जनकपुरमा, उदाउँदो सूर्यलाई वीरगन्जमा अर्घ

शुक्रबार, २३ कात्तिक २०८१, १६ : १७
शुक्रबार, २३ कात्तिक २०८१

वीरगन्ज । कांग्रेस महामन्त्री गगन थापा छठ पर्वको अवसर पारेर मधेसमा व्यस्त रहे । परिवारसहित मधेस आएका उनी जनकपुरदेखि वीरगञ्जसम्म पुग्न भ्याए ।

गत बुधबारदेखि महामन्त्री थापा सपरिवार मधेसमा ओर्लिएका हुन् । उनले बिहीबार साँझ छठ पर्वको अवसर पारेर जनकपुरमै अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

उदाउँदो सूर्यलाई अर्घ दिनका लागि उनी बिहीबार साँझै वीरगन्ज पुगे । शुक्रबार बिहान उनले वीरगन्जस्थित घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिए ।

त्यसपछि महामन्त्री थापा बारा जिल्लातिर पुगेका छन् । बारामा उनले गढीमाई मन्दिरको दर्शन गर्नुका साथै पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइन्छ ।

प्रदेशका जनकपुर, वीरगन्ज र बारा गरी तीन वटा खास जिल्लामा धार्मिक दृष्टिकोणले घुमघाम गरेका थापाले मधेसमा आफ्नो प्रभाव बढाउनका लागि छठको मौका छोपेको कतिपयको आकलन छ ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीमा सिरहा, र धनुषा गरी ७ वटै जिल्लामा शेरबहादुर देउवा पक्षकै नेतृत्व छ । सप्तरीमा भने शेखर कोइराला पक्षको नेतृत्व छ । यस हिसाबले पनि मधेस प्रदेशमा आफ्नो प्रभाव बढाउनका लागि गगनको सक्रियता बढ्न थालेको आकलन भइरहेको हो । उनी आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवार हुने योजनामा छन् ।

तर कांग्रेस महामन्त्री थापाले रातोपाटीसँगको कुराकानीमा आफ्ना बालबच्चालाई मधेसको संस्कृति बुझाउन छठ पर्वमा सहभागी हुन आएको बताएका छन् ।

उनले भने, ‘छठ पर्व तराइको ठुलो पर्व हो । मैले पहिलादेखि नै छठमा तराई आउने सोच बनाए पनि सम्भव भइरहेको थिएन । तर यो वर्ष सम्भव भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप