काठमाडौं । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम महिला’को दोस्रो शृंखला बुधबार साँझ ७ः३० बजे प्रसारण भएकाे छ । गत बुधबार प्रसारण भएको पहिलो शृंखला पौराणिक पात्र सीताका बारेमा थियो भने यसपालि महाविदुषी विभूषण पाएकी गार्गी माथि चर्चा गरिएको सामग्री प्रसारण भएकाे हो ।
पात्र : गार्गी/वाचक्नवी
जन्मकाल : उपनिषद् काल
जन्मस्थान : गर्गकूट, जुम्ला
माता : गाग्र्यायणी/वचक्नुपत्नी
पिता : गाग्र्य/वचक्नु
नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पु¥याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै महिलाहरूप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस हामीले कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अडचन, उत्पीडन, अन्योल, बेथिती र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कनेछौँ । ‘प्रथम नेपाली महिला’ कार्यक्रमको दोस्रो शृङ्खला महाविदुषी विभूषण पाएकी गार्गीमाथि केन्द्रित छ । कहलिएका वेदान्ती महिलामाझ गार्गीको अग्रणी स्थान छ । पूर्वीय दर्शन जगत्मा नेपालकी छोरी गार्गीले निर्वाह गरेको भूमिका विशिष्ट छ । गार्गीको समय उपनिषद् काल हो । राजा जनकको विद्वत्सभामा उनले महान् ऋषि याज्ञवक्ल्यसँग गरेको शास्त्रार्थ प्रसिद्ध छ ।
अनुसन्धाता योगी नरहरिनाथका अनुसार गार्गीको जन्मस्थल गर्गकूट अथवा गर्गकोट हो ।
गर्गकोट अपभ्रंश भई ‘गज्र्याङ्कोट’ कहलाएको यो थलो जुम्लाको असिदराको माथिल्लो भागमा पर्छ ।
यहाँ गुठीचौर (गोठीचौर) नामक एउटा स्थान छ र त्यसको नजिकै गर्ग/गार्गीसँग सम्बद्ध एउटा प्राचीनगुफा समेत छ ।
यस गुफामाथि युगल ‘देवल’ बनाइएका छन् ।
पाशुपत धर्म विस्तारमा योगदान गरेका गर्गगोत्रसँग सम्बन्धित व्यक्तिहरूको प्राचीनथलो पनि यही नेपालभूमि हो ।
त्यसैले गार्गीको जन्मस्थल यहीँ हुनुपर्ने अनुमान गर्न थप मद्दत पुगेको छ ।
नेपालमा गर्गगोत्री अत्यधिक हुनुले गर्ग र गार्गीको सम्बन्ध यही थलोसँग देखिनु अस्वाभाविक होइन ।
पुराणादि संस्कृत साहित्य र व्याकरणका अनुसार गार्गी गर्गकुलकी छोरी भन्ने देखिन्छ ।
कतिपयले उनलाई महर्षि गर्गका सुपुत्री समेत जनाएका छन् ।
गर्गऋषिको निवासस्थानको सम्बन्ध काहीं ‘गर्गाचल पर्वत’ भनिएको छ ।
कतै ‘गर्गस्रोत’ उल्लेख पाइन्छ ।
योगी नरहरिनाथले चाहिँ गर्गको निवासस्थल ‘गर्गकूट’ नै भएको किटानी गरेका छन् ।
पृथुराजाका गुरू, गन्धर्वराज विश्वावसुलाई ब्रह्मतत्त्वका विषयमा ज्ञान दिने, शिव– पार्वतीको विवाह गराउने तथा धर्मराज युधिष्ठिरलाई शिवमहिमा दर्शाउने महर्षि गर्ग भगवान् कृष्णका पुख्र्यौली राजगुरू थिए ।
भगवान् कृष्ण तथा बलरामको न्वारन र व्रतबन्ध समेत उनै गर्गले गराएका हुन् ।
महर्षि गर्गले शेषनागबाट ज्योतिषको ज्ञान पाएको उल्लेख छ ।
मथुराका राजा उग्रसेनले आयोजना गरेको राजसूय तथा अश्वमेध यज्ञमा मूलपुरोहित गर्ग नै थिए ।
र उनी ज्योतिष, ब्रह्मविद्या, कर्मकाण्ड आदि ज्ञानमा मात्रै होइन, विज्ञानका क्षेत्रमा पनि कुशल हस्ताक्षर भएको प्रमाण उनका कृतिहरूले दिएका छन् ।
‘गर्ग संहिता’ उनका प्राप्त कृतिमध्ये उत्कृष्ट रहेको छ ।
उनका कैयन् ग्रन्थ अप्राप्त छन् ।
‘गर्ग संहिता’ कै पनि एक अंश मात्र पाइएको मानिन्छ ।
अप्राप्त कृतिमा विज्ञानसम्बद्ध ‘यन्त्रकल्प’ समेत रहेको छ ।
देवर्षिचरित्र, वारिशास्त्र, गर्गस्मृति, वेदचक्षुरूप सिद्धान्त, होरा आदिका कृतिकार गर्ग ऋषि विभिन्न संहिता तथा श्रौतसूत्रका सहभाष्यकार समेत हुन् ।
खगोल तथा भूगोलका विद्वान् वैज्ञानिक गर्गको ऋग्वेदको छैँठौँ मण्डलमा एउटा सूक्त पनि छ ।
गर्गकै सम्बन्धमा पनि प्राचीन संस्कृत साहित्यमा स्पष्टता छैन ।
कतै ऋषि अंगिराको वंशमा उनलाई भवमन्यु वा मन्युका पुत्रका रूपमा देखाइएको छ भने कतै ब्रह्माका एक मानसपुत्र भनिएको छ ।
गर्गलाई भगवान् शिवका अठारमध्ये एक अवतार पनि मानिएको छ ।
उनै गर्ग वा गर्गवंशकी छोरीका रूपमा वर्णित गार्गीमा विद्वान् पिताका गुण हुनु स्वाभाविक मान्नसकिन्छ ।
ब्रह्मतत्त्वका सम्बन्धमा पनि गार्गीले आफ्नै पितापुर्खाबाट ज्ञान लिएको हुनसक्छ ।
उनका पिता वा दाजु अथवा भाइ ‘गाग्र्य’ समेत निकै विद्वान् भएकाले उनको ज्ञानबृद्धिमा मद्दत पुगेको आकलन छ ।
यिनै ज्ञानका आधारमा उनी राजा जनकको दरबारमा आफ्नो ख्याति चम्काउन सफल भएकी हुन् ।
कताकतै गार्गीलाई गर्गकी पत्नी भनिएको नभेटिने होइन ।
‘गर्गगोत्रकी स्त्रीलाई पूर्वमा गाग्र्यायणी र अन्यत्र गार्गी भन्ने गरिएको’ उल्लेख पाइए तापनि अज्ञानतावश यसो भनिएको हुनसक्छ ।
व्याकरणका मर्मज्ञहरू ‘गार्गी’ गर्गऋषिकी छोरी भएको पुष्टि व्याकरणबाट समेत हुने बताउँछन् ।
‘गर्गस्य अपत्यं स्त्री’ व्युत्पत्ति अनुसार ‘स्त्री’को अर्थ पत्नी लगाइँदा भ्रम पर्न गएको हो ।
अन्यथा ‘अपत्य’को अर्थ सन्तान हुन्छ ।
यसरी हेर्दा ‘गर्गस्य अपत्यं स्त्री’को अर्थ ‘गर्गका सन्तान स्त्री’ अर्थात् गर्गकी छोरी भन्ने हुन्छ ।
‘गर्गस्य अपत्यं पुमान्’ले गर्गका छोरा भन्ने जनाउँछ र ‘गर्गस्य गोत्रापत्यम्’बाट चाहिँ गर्गका सन्तान (स्त्री/पुरूष) बुझिन्छ ।
यसरी गर्ग वा गर्गगोत्रकी छोरी गार्गी र गर्ग अथवा गर्गगोत्रका छोरा गाग्र्य भन्ने अर्थ लाग्छ ।
गार्गीको एक नाम ‘वाचक्नवी’ हो ।
उनी वचक्नुकी छोरी भएकीले उनलाई यो नाम जुर्नपुगेको मानिन्छ ।
उनी बोल्न प्रवीण भएकीले यो नाम जुर्नपुगेको पनि हुनसक्छ ।
उनको वास्तविक (सक्कली) नाम चाहिं अज्ञात छ ।
गार्गीलाई महर्षि गर्गकी छोरी मान्दा कालक्रम मिल्ने देखिँदैन ।
उपनिषद् कालकी गार्गी त्रेतायुगमा देखापरेकी छिन् भने गर्गको सम्बन्ध द्वापर युगसँग छ । त्यसैले उनी भगवान् कृष्णका गुरू गर्गकी छोरी भएकामा आशङ्का रहन्छ ।
त्यतिखेर ऋषिहरू दीर्घायुका हुनेभएकाले गर्ग पहिलेदेखि पछिसम्मै रहेको तर्क पनि नभेटिने होइन ।
गर्गलाई भगवान् शिवका एक अवतार मान्दा अथवा ब्रह्माका मानस पुत्रमध्ये एक मान्दा समेत कालक्रम भङ्ग हुने देखिँदैन ।
भगवान् शिवले महर्षि गर्गको आयु दश लाख वर्ष बनाइदिएको उल्लेख पनि भेटिन्छ ।
तर वैज्ञानिक दृष्टिकोणबाट सत्यता प्रमाणित गर्न अप्ठेरो छ ।
गार्गी पनि यसै पछाडि हट्ने स्वभावकी थिइनन् । उनले याज्ञवल्क्यलाई अनेक प्रश्न तेर्साइन् । ब्रह्मविषयक उनका जटिल प्रश्नहरूको उत्तर दिन याज्ञवल्क्यले आफ्नो छुट्टै दर्शन नै प्रतिपादन गर्नुपरेको समेत शास्त्रमा उल्लेख पाइन्छ ।
अरू सबै मर्ने र कतै ‘चिरञ्जीवी’ समेत उल्लेख नभएका गर्ग सदाकाल जीवितै रहने कुरो आधुनिक मनले सजिलै पत्याउने देखिंदैन ।
त्यसैले फरक–फरक बेलामा अलग–अलग गर्ग भएको अडकल काट्न सजिलो भएको छ ।
विधिविधानसाथ एक करोड गायत्री जप्ने व्यक्तिलाई ‘वशिष्ठ’ उपाधि दिने प्रचलन रहेजस्तै अथवा फरक समयमा विभिन्न व्यास भएजस्तै कुनै काम वा पदविशेषमा रहेकालाई गर्ग उपाधि दिने परम्परा रहेको हुनसक्छ ।
गार्गीका सम्बन्धमा प्रस्ट हुन नसकेका धेरै पक्ष रहे तापनि उनले राजा जनकको दरबारमा महान् ऋषि याज्ञवल्क्यसँग ब्रह्मविषयक शास्त्रार्थ गरेको प्रमाणका रूपमा अहिले पनि हामी सामु ‘बृहदारण्यकोपनिषद्’ ग्रन्थ उपलब्ध छ ।
हो, राजा जनक उनै शीरध्वज हुन् कि मिथिला नरेश अन्य कुनै जनक (राजा) हुन् ? प्रश्न उठ्नु किमार्थ अनुचित छैन ।
किनभने बृहदारण्य, विदेह, नैमिकानन, स्वर्णलाङ्गल, आदि नामले परिचित मिथिला क्षेत्रमा राज्य गर्ने राजाहरूले आफूलाई प्रजा वा जनताको पिताका अर्थमा ‘जनक’ भनेरै परिचय दिने प्रचलन ज्यादै पुरानो हो ।
शिक्षाको नगरी मिथिला क्षेत्रमा बर्सेनि विद्वान्हरूबिच शास्त्रार्थ गराउने चलन थियो ।
एक पटक राजा जनकले जो आफूलाई ज्ञानी साबित गर्नसक्छ अर्थात् जो सबैभन्दा बढी ब्रह्मवेत्ता ठहरिन्छ, उसलाई स्वर्णपत्रहरूले सिंग सिँगारिएका एक हजार गाई उपहार दिने घोषणा गरेका थिए ।
त्यस विद्वत्सभामा पहिल्यै ढुक्क भई याज्ञवल्क्य शिष्य मार्फत गाईहरू आफ्नो आश्रममा लग्ने सुर कस्दै गरेका बेला गार्गीको रोचक प्रसङ्ग आउँछ ।
यो विद्वत्सभामा कुरु तथा पाञ्चाल देशबाट समेत विद्वान्हरू आएका थिए ।
विद्वत्जन अश्वल, आर्तभाग, लाह्यायनि, भुज्यु, चाक्रायण, उषस्त र कहोलले गरेका प्रश्नको उत्तर दिई ऋषि याज्ञवल्क्य मक्ख परेका बखत वाचक्नवी गार्गीले सोधेकी थिइन्, ‘पदार्थहरू जलमा व्याप्त छन् तर जल केमा व्याप्त छ ?’
वायु, आकाश, अन्तरिक्ष, गन्धर्वलोक, आदित्यलोक, चन्द्रलोक, नक्षत्रलोक, देवलोक, इन्द्रलोक र प्रजापतिलोकबारे प्रश्न गरेकी थिइन् ।
उनका विद्वत्तापूर्ण प्रश्न सुनेर याज्ञवल्क्य तीन छक परेका थिए ।
विभिन्न प्रश्नका उत्तर पाएपछि विदुषी गार्गीले थप प्रश्न जोड्दै ‘ब्रह्मलोक केमा व्याप्त छ ?’ सोधिन् ।
क्रोधित हुँदै याज्ञवल्क्य ऋषिले ‘यो त अति भयो, धेरै प्रश्न नगर, प्रश्नको पनि सीमा हुन्छ, टाउको भुइँमा खस्न बेर लाग्ने छैन’सम्म भन्न पुगेका थिए ।
गार्गी पनि यसै पछाडि हट्ने स्वभावकी थिइनन् ।
त्यतिखेर त मौन बसिन् तर बाँकी अरूका प्रश्नोत्तरपछि पुनः थप दुई प्रश्न तेस्र्याएरै छाडिन् ।
ब्रह्मविषयक उनका जटिल प्रश्नहरूको उत्तर दिन याज्ञवल्क्यले आफ्नो छुट्टै दर्शन नै प्रतिपादन गर्नुपरेको समेत शास्त्रमा उल्लेख पाइन्छ ।
यसपछि विदुषी गार्गीले ऋषि याज्ञवल्क्यका विद्वत्ताको महती प्रशंसा पनि गरिन् ।
बृहत् हिन्दी कोश (ज्ञानमण्डल लिमिटेड, वाराणसी) तथा भारतीय संस्कृति कोश (राजपाल,दिल्ली) मा गार्गीलाई ‘याज्ञवल्क्यस्मृति’का रचयिता याज्ञवल्क्यकी पत्नी समेत भनिएको छ ।
राजा जनकका गुरू याज्ञवल्क्यकी अर्की पत्नीको नाम ‘मैत्रेयी’ हो ।
हिन्दू संस्कृति अङ्क (कल्याण, गीताप्रेस, गोरखपुर) मा चाहिँ याज्ञवल्क्यकी दुई पत्नीका नाममा मैत्रेयी र कात्यायनी उल्लेख छ ।
यसरी हेर्दा गार्गी याज्ञवल्क्यकी पत्नी हो भन्नेमा शङ्का रहन्छ ।
उपनिषद्कालीन गार्गी आजन्म ब्रह्मचारी रहेको उल्लेख समेत पाइनुले शङ्का निराधार नरहेको छर्लङ्ग बनाएको छ ।
याज्ञवल्क्यका नाममा समेत अन्योलको अवस्था छ ।
वैशम्पायनका शिष्य, शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ऋषि याज्ञवल्क्य र राजा जनकका गुरू, स्मृतिकार, मिथिलाक्षेत्रका याज्ञवल्क्य उही नभएर अर्कै हुनसक्ने आधार कालक्रमले औँल्याउँछ ।
समयका हिसाबमा दुवै याज्ञवल्क्यका बिच ठुलो अन्तर रहेकाले दुवै एक नभएको ठहर गर्न सजिलो बनेको छ ।
गार्गीलाई याज्ञवल्क्यकी पत्नी मान्ने हो भने जुम्ला माइती भएकी गार्गीको घर चाहिँ मिथिला क्षेत्र भन्नुपर्ने हुन्छ ।
किनभने याज्ञवल्क्यको आश्रम मिथिलाञ्चलमा रहेको प्राचीन संस्कृत साहित्यबाट अवगत हुन्छ ।
गार्गी महाविदुषी थिइन् ।
वेदकी व्याख्याता, ब्रह्मविद्, दार्शनिक र असाधारण व्यक्तित्वकी धनी गार्गीले वेदका ऋचा सिर्जनामा समेत देन दिएको उल्लेख छ ।
महिलाले वेद पढ्नहुँदैन भन्ने रूढिवादी मानसिकता भएकालाई उनको जीवनगाथाले कसिलो दनक दिएको छ ।
गार्गीको जन्मस्थल/कर्मस्थल नेपालमा हुनु हामी सबैका निम्ति गौरवले छाती फुलाउने विषय हो ।
वेदान्ती नेपाली महिलाका सन्दर्भमा गार्गी प्रथम नेपाली महाविदुषी हुन् भन्ने तथ्यहरू छन् ।
यस्ता विभिन्न आधार रहेकाले राज्यले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नु सर्वथा उचित निर्णय हुने देखिन्छ ।
प्रतिक्रिया