देउवालाई धनराजको कटाक्ष : रिस गरेर हुन्छ ? पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ

समाचार सारांश
- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नहुने बताए।
- उनले राजनीतिमा आफ्नो लक्ष्य देश र जनताको हुनुपर्ने र निरन्तर अघि बढ्नुपर्ने बताए।
- गुरुङले सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै राजनीतिक यात्रामा उतारचढाव आउँदा पनि अघि बढ्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिवार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै गुरुङले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औँला गनेर हिसाब गरेर बस्न नमिल्ने उल्लेख गरेका हुन् ।
उनले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसकेकाे र अझै प्रधानमन्त्री बन्न सक्ने जिकिर गरे ।
उपसभापति गुरुङले भने, ‘राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । को कहाँ पुग्यौँ, को कहाँ पुग्न सकेनौँ त्यो तपसिलको विषय हो । राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो । मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो ।’
‘हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्नुपर्दैन । त्यो उतारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्न सक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो,’ उनले थपे ।
उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधीबेहरी चल्दा पनि त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने जिकिर गरे । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक