थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी

पोखरा । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालकै अध्यक्ष क्षितिज थेवेलाई युवा संघको पुनः अध्यक्ष दोहोर्याउन दबाब दिएपछि महाधिवेशन स्थलमा तनाव सुरु भएको छ ।
राष्ट्रिय युवा संघकै एक पूर्व अध्यक्षले थेबेलाई दोहोर्याउन प्रधानमन्त्री ओलीदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागि परेको आरोप लगाएका छन् । ‘सधैँ अधिवेशन टार्ने खेलो भइरहेको छ । अहिले पनि सर्वसम्मत बनाउने नाममा केन्द्रबाट दबाब दिइएको छ,’ उनले भने, ‘हामी चाहिँ निर्वाचनमा जानुपर्छ, सर्वसम्मत भए पनि नयाँ मान्छेले नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा छौँ । अधिकांश प्रतिनिधिको माग पनि त्यही हो ।’
नयाँ नेतृत्वका लागि थेबेसँगै उपाध्यक्षहरू प्रकाश केसी, महाराज गुरुङ र हालका महासचिव सुमन पुरीको दाबी छ । महाधिवेशन स्थलमा एक पक्ष निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेको छ भने अर्को पक्ष थेबेलाई सर्वसम्मत गराउन दबाब दिइरहेको छ । पोखरा सभागृहमा थेबेका समर्थकले नारा लगाएपछि महासचिव पुरी पक्षधरले निर्वाचनको माग गर्दै प्रदर्शन गरे ।
गुरुङ पक्षधर पनि निर्वाचन हुनुपर्ने भन्दै नाराबाजीमा जुटेका छन् । ‘सर्वसम्मत भन्ने नाममा जथाभाबी गर्न भएन । प्रतिस्पर्धामा जसले जिते पनि स्वीकार छ,’ अध्यक्षकै आकाङ्क्षीहरू भन्छन्, ‘प्रतिस्पर्धामा जानुपर्छ । निर्वाचन हुनुपर्छ ।’
- प्रतिनिधि विवादले रोकियो प्रक्रिया
तर प्रतिनिधिमा विवाद भएपछि महाधिवेशनको प्रक्रिया अघि बढेको छैन । १ हजार ८ सय ३५ प्रतिनिधि सहभागी हुनुपर्नेमा प्रतिनिधि नै नभएको मान्छेको नाम समेत प्रतिनिधिमा उल्लेख भएर आएको भन्दै अध्यक्षका आकाङ्क्षीहरू पहिला प्रतिनिधिको नामावली टुङ्ग्याउन माग गरिरहेका छन् । ‘प्रतिनिधिमा विवाद देखियो । अब आइतबार मात्रै प्रतिनिधिको टुङ्गो लाग्छ अनि महाधिवेशन प्रक्रिया अघि बढ्छ,’ एक आकाङ्क्षीले भने, ‘अहिलेसम्म महाधिवेशन अघि बढ्न सकेको छैन ।’