शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा, रवि लामिछानेबारे के भन्यो ?

शनिबार, १० जेठ २०८२, १९ : ००
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ, 'भिजिट भिसा' मा मानव तस्करीमा संलग्नताको आरोप लागेको छ।
  • रास्वपाले विगतमा रमेश लेखकले दिएको भनाइ स्मरण गराउँदै निष्पक्ष छानबिनका लागि राजीनामाको माग गरेको छ, साथै सदन अवरुद्ध नगर्न सरकारलाई सुझाव दिएको छ।
  • रास्वपाले सर्वोच्च अदालतको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ तर सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई लिएर आशंका व्यक्त गरेको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ। शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै 'भिजिट भिसा' को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, 'विगतमा सांसद रमेश लेखकले नै सदनमा, "प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ" भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।'
साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सरकारलाई सुझाव दिएको छ । 

विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेसम्बन्धी सर्वोच्च अदालतको हालैको आदेशबारे समेत प्रतिक्रिया दिइएको छ। सर्वोच्चले शुक्रबार तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गरेसँगै रास्वपाले उक्त निर्णय कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ। तर, सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई तथ्यहीन र जबरजस्ती जोडिएको आशंका र्टीले व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नहरूलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेर्नुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर निर्णय भएछ कि भन्ने आशंका छ। राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्ने हाम्रो चिन्ता छ।'

यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार अपराह्न ४ बजे बसेको र अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने समेत पार्टी कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?