अब चरा गुँडमा फर्कियो
काठमाडौँ । फिल्ममा व्यस्त अभिनेता नाजिर हुसेन रङ्गमञ्च अभिनयमा ‘कमब्याक’ गर्दैछन् । नाटक ‘हरि हजुरबा’ मार्फत् उनी ६ वर्षपछि रङ्गमञ्चमा देखिन लागेका हुन् ।
‘हरि हजुरबा’ काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा मङ्सिर अन्तिम साता मञ्चन हुँदैछ । नाटकको लेखन तथा निर्देशन अभिनेता नाजिरले नै सम्हालेका छन् ।
नाटकले हुलाकी र हजुरबाको कथा समेटेको नाजिरले बताए । ‘हजुरबा ४/५ वर्षदेखि हराएको नातिनी कुरेर बसिरहनु भएको छ । नातिनीले पठाएको चिठ्ठीको सिलसिलामा हरि हुलाकी र हजुरबाको भेट हुन्छ’, नाजिरले भने ‘यी दुवैको वरिपरि नाटकको कथा घुमेको छ ।
नाटकमा हरि (हुलाकी)को भूमिकामा नाजिर आफैँले अभिनय गर्दैछन् । हजुरबाको भूमिकामा अभिनेता विजय बराल देखिने भएका छन् । नाटकले द्वन्द्वकालको कथा बोकेको भन्दा फरक नपर्ने नाजिर बताउँछन् ।
‘द्वन्द्वकालमा यति धेरै मानिस हराएका छन् कि ती अझै घर फर्किएका छैनन् । आफन्तहरू अझै उनीहरूलाई पर्खिरहेका छन्’, नाजिरले भने, ‘कुर्नेको पनि फरकफरक कथा छ । कति सपना कुरिरहेका छन्, कति अवसर, कति सहारा पर्खिरहेको पनि देख्न सकिन्छ ।’ ती सबै कुर्नेको कथा ‘हरि हजुरबा’ नाटकले भन्ने नाजिरले प्रस्ट पारे ।
‘नाटकले बितेका ती समय बोल्छ, जुन समय हामीले अलिअलि भोग्यौँ, सुन्यौँ र देख्यौ पनि । त्यही सेरोफेरोमा रहेर मैले नाटक लेखेको छु,’ उनले भने ।
नाजिरले नाटक अभिनयमा विजय बरालसँग सहकार्य गर्नुको मुख्य कारण सहजता हो । किनभने दुवै थिएटरका सहयात्री पनि हुन् । दुवैले थिएटरमा एकसाथ थुप्रै काम गरेका छन् । नाटकको आइडिया पनि सबैभन्दा पहिले उनले विजयलाई नै सुनाएका थिए । विजयको सकारात्मक प्रतिक्रियापछि नै नाजिरले नाटकको कथा लेखन थालेका थिए ।
‘मण्डलामा धेरै पहिले हामीसँगै काम गर्थ्यौँ । त्यो इनर्जी फर्कियोस् भनेर सँगै यो नाटक गर्न लागेका हौँ,’ नाजिरले भने, ‘थिएटरबाट टाढा भएको झैँ फिल भएकाले पनि फर्किन लागेका हौँ ।’
अहिले फिल्म अभिनयमा भिजे पनि आफ्नो जरा थिएटर भएकाले नाटकको माया मार्न नसक्ने नागिरको भनाइ छ । उनले भने, ‘म रङ्गमञ्चको चरा हो । अब चरा गुँडमा फर्कियो ।’
नाटक मञ्चन हुने दिन नजिकिँदै गर्दा एकदमै उत्साहित छन् उनी ।
- अभिनय सजिलो
‘हरि हजुरबा’ नाजिरको लेखन निर्देशनमा मञ्चन हुने तेस्रो नाटक हो । यसअघि उनले डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन एन्डरसनको कथामा दुई नाटक मञ्चन गराएका थिए । त्यसमध्येकै एक नाटक ‘कुरूप हाँस’ हो । जसको मञ्चन २०७५ सालमा भएको थियो ।
कलाकारका विधाहरूमा अभिनयभन्दा लेखन, निर्देशन कठिन विधामा पर्छ । त्यो उनले पनि महसुस गरेको विषय हो । अरूको लेखन, निर्देशन रहेको नाटकमा कलाकार बनेर अभिनय गर्दाभन्दा आफ्नोमा सजिलो हुने नाजिरको अनुभव छ ।
‘अभिनयभन्दा लेखन, निर्देशन गाह्रो हो । डर अनेकौँ छन्’, उनले भने, ‘अरूको कमेन्ट गर्न सजिलो हुन्छ । आफूले गर्दा कठिन छ ।’
यतिबेला नेपाली फिल्मको व्यवसाय उकालो लागेको छ । यस्तो अवस्थामा थिएटरमा दर्शक घट्ने धेरैको अनुमान छ । नाजिर भने रङ्गमञ्च र फिल्मका दर्शक अलग्गै भएको बताउँछन् ।
रङ्गमञ्चको स्वाद लिने दर्शक फरक छन् । जसलाई यसबाट अलग्याउन सकिन्न’, उनले भने, ‘फिल्मका दर्शकलाई नाटकमा तान्न सकिन्छ कि भन्ने लोभ पनि हो ।’
फिल्मका दर्शकलाई नाटकको स्वाद चखाउन सकियो भने रङ्गमञ्च पनि धेरै हराभरा हुने र थिएटरको आकर्षण बढ्ने उनको भनाइ छ ।
कतिपयले उनको नाटक निर्देशनलाई फिल्म निर्देशनको तयारीका रूपमा पनि लिएका छन् । फिल्म निर्देशकको रूपमा ‘एक्स्पोज’ हुन नाजिरलाई पनि मन छ तर अहिले नै गरिहालौँ भन्ने योजना नरहेको उनले खुलाए ।
‘थिएटरमा जुन हिसाबले हुर्कियो, सिकियो, त्यो हिसाबले निर्देशक पनि हुनसक्छु’, उनले भने, ‘निर्देशकको पोइन्टअफ भ्यूबाट पनि फिल्ममा हेरौँ भन्ने मन छ ।’
फिल्म निर्देशन यो समय गर्छु भन्ने नभए पनि आइपरेको खण्डमा पछि नहट्ने उनले सुनाए ।
- नाटकमा निरन्तरता
नाजिर थिएटरबाट उदाएका कलाकार हुन् । तर, पछिल्लो समय उनी फिल्ममा बढी व्यस्त छन् । थुप्रै फिल्ममा अभिनय गरेका उनका ‘केटी हराएको सूचना’ र ‘गुन्यु चोली’ दुई फिल्म प्रदर्शनको पर्खाइमा छन् ।
ती फिल्मको प्रचारप्रसार गर्नुपर्ने समयमा थिएटरमा व्यस्त हुन लागेका उनले फिल्मलाई पनि मिलाएर समय दिने बताए ।
नाजिर अब नाटक नियमित गर्ने सोचमा छन् । ‘निर्देशन, लेखनभन्दा पनि कलाकारको रूपमा निरन्तरता दिन चाहन्छु’, उनले भने, ‘हरि हजुरबा नाटक सकिए लगत्तै दुई फिल्म छायाङ्कनमा समय दिनुपर्नेछ । त्यसपछि फेरि नाटकमा फर्किन्छु ।’