अनिल श्रेष्ठका तीन कविता
१) गुलुबको उज्यालो
‘ट्वाङ’
बजेको छ
खेल सुरु हुनुअघिको
सूचनाको पहिलो घन्टी
न्यायालयको
मुख्य प्रवेश स्थानमा
घरी निभ्दै
र बल्दै गरेको
रातो र पहेँलो गुलुबको उज्यालो
फैलिरहेको छ माइतीघर मण्डलासम्म
र, नागरिकका
त्रस्त र मालिन्य आँखाहरू
नियालिरहेका छन् न्यायालयको
मुलढोकाबाट आइरहेको
गुलुबको उज्यालो
गुलुबको उज्यालोमा
खस्दै गइरहेको छ सिंहदरबारको साँझ
र, बार एसोसिएसनको सडकहरूमा
निस्फिक्रीसँग खेलिरहेका छन्
चमेराहरू
‘ट्वाङ’
बजेको छ
खेल सुरु हुनुअघिको
सूचनाको अर्को दोस्रो घन्टी
अब केही छिनमै
एउटा रोमाञ्चकारी मल्ल युद्ध हुँदै छ
न्यायालयको मैदानमा
र, निकै उत्साहपूर्वक
खेल मैदानमा प्रवेश गर्नेछन्
सहभागीहरू
आउनुस्,
माइतीघर मण्डलामा उभिएर
यो गुलुबको उज्यालोमा
तपाईं र म पनि
एउटा बेटिङ लगाऊँ
अब यो युद्धलाई
निःशुल्क होइन
सशुल्क गरौँ
र, हर्षोल्लासपूर्वक
हामी यो रातको मनोरञ्जन लिऊँ ।
००
२) फूलमायासँग
आऊ, फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा आँधी जन्माऊँ
सधैँ तुवाँलो लागिरहेको
यो आकाश
र, तुवाँलोलाई हटाउन
नसकिरहेको यो बतास
सधैँ कफ्र्युजस्तो यो घाम
र, खडेरीको यो लगाम
कहिलेसम्म छातीमा
यो उकुच बोकेर
सास फेरिरहनुपर्ने हो ?
कहिलेसम्म ओठहरूले
यो कचपल्टिएको हाँसो
हाँसिरहनुपर्ने हो ?
आऊ, फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा वर्षात् ल्याऊँ
हाँस्नु पनि मस्तसँग नपाइने
यो कसको आदेश हो ?
र, रुनु पनि निस्फिक्रीसँग नसकिने
यो कसको निर्देश ?
गँबारोले झैँ किन सुक्दै छन् ?
हाम्रा आँखाका नानीभित्र पसाइरहेका
कलिला सपनाहरू
र, किन हाम्रा खुसीहरूमा
लाग्दै छ खग्रास ?
आऊ, फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा कुलो लगाऊँ
जताततै मालिकहरू आसीन छन्
ज्यामी हैन, ठेकेदारहरू
सत्तासीन छन्
यो सुक्खा याम
कसले हाम्रो खरबारीमा
लगाउँदै छ डढेलो ?
र, कसको चरन बन्दै छ
यो हाम्रो करेसो ?
आऊ, फूलमाया !
तिमी
र, म
सँगै मिलेर
बादलहरूको
एउटा विस्फोट गराऊँ ।
बाली काटेर यी डाम्नाहरूलाई
हामीले कतिन्जेल पोस्नुपर्ने हो ?
कि राँको बालेर
अब यसका थुतुनाहरूलाई
झोस्नुपर्ने हो ?
आऊ फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा मसाल बनाऊँ
र, सहर जाऊँ ।
००
३) बारपाक
आऊ
छातीभित्र
असङ्ख्य घाउहरू
लुकाएर
म मेरो छातीमाथि
उम्रिएका बैँसहरूले
तिमीलाई
यो प्रकृतिको
अप्रतिम सौन्दर्य
बाँड्न चाहन्छु
मलाई
यहाँ आएर
मुस्कुराइरहेका
मानिसहरू
र, उनीहरूको
खुसी
निकै मन पर्छ
म उनीहरूको
असीम आनन्दले उठिरहेका
आँखाहरूको लय खोज्छु
आऊ
म तिमीलाई
मेरा आफन्तहरूले
यी पहराहरूमा
छाडेर गएका
पाइतालाका डोबहरू
देखाउँछु
म तिमीलाई
मेरो चोलीको तुना
छिनालेर गएको
भुइँचालोको
एउटा कथा भन्छु ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड
-
उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
-
देव र विलियमको अर्धशतक, अन्य ब्याटर नचल्दा १ सय ३३ रनमा रोकियो कर्णाली
-
केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
-
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : कोइराला
-
विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक