बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
अस्ट्रेलियाविरुद्धको ‘बक्सिङ डे’ टेस्ट क्रिकेट

ओपनर यशस्वीले अर्धशतक बनाए पनि अप्ठ्यारोमा भारत

शुक्रबार, १२ पुस २०८१, १३ : ०७
शुक्रबार, १२ पुस २०८१

काठमाडौँ । भारतीय ब्याट्सम्यानहरुले अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेका छन् । मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टको दोस्रो दिन शुक्रबारको खेल सकिँदासम्म भारतले आफ्नो पहिलो पालीमा पाँच महत्वपूर्ण विकेट गुमाएर एक सय  ६४ रनमात्र बनाउन सकेको छ ।

अस्ट्रेलियाले पहिलो पालीमा बनाएभन्दा भारत अझै तीन सय १० रनले पछाडि छ । पहिलो पालीमा भारतका लागि ओपनर यशस्वी जैसवालका अतिरिक्त माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । यशस्वीले ८२ रन बनाए ।

दूर्भाग्यपूर्ण तरिकाले रन आउट भई पेभेलियन फर्किनुअघि उनले एक सय १८ बलको सामना गरी एक छक्का र ११ वटा चौका हिर्काए । २२ वर्षीय यशस्वी जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक पनि हो ।

ओपनरको भूमिकामा आएका कप्तान रोहित शर्मा भने तीन रनमै आउट भए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका केएल राहुल पनि २४ रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान विराट कोहली ३६ रन बनाउँदै पेभेलियन फर्किए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका विराटले ८६ बलको सामना गरी चार चौका हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान आकाश दीपले त खातासम्म खोल्न सकेनन् । दोस्रो दिनको खेल सकिँदासम्म ऋषभ पन्त अविजित ६ र रविन्द्र जडेजा अविजित चार रन बनाउँदै क्रिजमा छन् ।

भारतले हालसम्म अतिरिक्त रुपमा नौ रन पाएको छ । घरेलु टोली अस्ट्रेलियाका बलर प्याट कमिन्स र स्कट बोल्यान्डले दुई–दुई विकेट लिए । कमिन्सले १३ ओभरमा दुई मेडन राख्दै ५७ रन खर्चिए । बोल्यान्डले १२ ओभरमा चार मेडन राख्दै दुई विकेट खर्चिए ।

त्यसअघि, मेलबर्न क्रिकेट ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली अस्ट्रेलियाले चार सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि अभुनवी ब्याट्सम्यान स्टिभन स्मिथले उत्कृष्ट अर्धशतकीय पाली खेले ।

चौथो नम्बरमा क्रिज समाल्न आएका स्मिथले एक सय ४० रनको योगदान गरे । उनले एक सय ९७ बलको सामना गरी तीन छक्का र १३ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३४औँ शतक हो । उनले ६८ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएका थिए ।

अस्ट्रेलियाले पालीको सुरुवात गतिलो गरेको थियो । अस्ट्रेलियाका लागि माथिल्लो क्रमका तीन ब्याट्सम्यानले अर्धशतक पनि बनाए । ओपनर साम कोन्सटसले टोलीका लागि ६० रनको योगदान गरेका थिए । उनले ६५ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

१९ वर्षीय कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमै अर्धशतक पनि बनाएका हुन् । उनले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट उनले खेलेको पनि यो पहिलो खेल हो । ओपनर ब्याट्सम्यान कोन्सटसले १९ वर्ष ८५ दिनको उमेरमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् ।

उनी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने अस्ट्रेलियाका चौथो सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी आफ्नो ‘डेब्यू’ टेस्टमै विभिन्न कारणले चर्चित पनि बने । उनले भारतीय टोलीका जसप्रित बुमराह, मोहम्मद सिराजजस्ता अनुभवी बलरहरुलाई पनि हायल–कायल बनाएका थिए ।

कोन्सटसले तिब्रगतिका बलर बुमराहको तीन वर्ष पुरानो कीर्तिमान पनि तोडे । कोन्सटसले बुमराहको बलमा एक छक्का र दुई चौका हिर्काएका थिए । बुमराहको बलमा कुनै पनि ब्याट्सम्यानले एक हजार एक सय १२ दिनपछि छक्का प्रहार गरेको हो ।

यसअघि, बुमराहले लगातार चार हजार चार सय ८३ बल फाल्दासम्म कुनै ब्याट्सम्यानले छक्का हिर्काउन सकेका थिएनन् । अघिल्लो पटक सन् २०२१ मा क्यामरुन ग्रिनले सिड्नीमा खेलिएको खेलमा बुमराहविरुद्ध छक्का प्रहार गरेका थिए ।

बुमराहको अधिकांश बलमा युवा ब्याट्सम्यान कोन्सटसले ‘रिभर्स सट’ खेलेका थिए । सुरुमा बुमराहले कोन्सटसलाई केही दवावमा राखेका थिए । तर, केही समयपछि नै बुमराहको हरेक बलमा कोन्सटसले रन बटुल्न थालेका थिए ।

कोन्सटसले आक्रामक पाली खेल्नेक्रम जारी रहेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले बलिङको जिम्मेबारी रविन्द्र जडेजालाई सुम्पिएका थिए । भारतीय कप्ताको त्यो योजना सफल पनि भयो । २०औँ ओभरको दोस्रो बलमा जडेजाले कोन्सटसलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमा ९२.२० को स्ट्राइक रेटमा रन बनाएका हुन् । उनले केवल ५२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले बुमराहविरुद्ध खेल्न आफूले निकै पहिलेदेखि योजना बनाएको बताए ।

कोन्सटसका अतिरिक्त अर्का ओपनर उस्मान ख्वाजाले पनि अर्धशतक बनाए । उनले टोलीको खातामा ५७ रन थपे । ३८ वर्षीय ख्वाजाले एक सय २१ बलको सामना गरी ६ चौका पनि हिर्काए । उनले टेस्ट क्रिकेटमा बनाएको यो २७औँ अर्धशतक पनि हो ।

कोन्सटस र ख्वाजाले ओपनिङ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्नश लाबुशेनले पनि टोलीका लागि ७२ रनको योगदान गरे । उनले एक सय ४५ बलमा सात चौका पनि हिर्काए । ३० वर्षीय लाबुशेनले टेस्ट क्रिकेटमा २२औँ अर्धशतक बनाएका हुन् ।

यसैगरी, पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान ट्राभिस हेड भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । भारतविरुद्धको जारी टेस्ट शृंखलामा यसअघि उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । यसअघि खेलिएको तीनवटै टेस्टमा उनको ब्याटिङ अब्बल थियो ।

ट्राभिस हेडले पहिलो टेस्टको दोस्रो पालीमा ८९ रन बनाएका थिए । दोस्रो टेस्टमा पनि उनले एक सय ४० रन बनाएका थिए । तेस्रो टेस्टमा पनि ट्राभिस हेडले टोलीका लागि एक सय ५२ रनको योगदान गरेका थिए ।

छैटौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्श पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले ३१ रन बनाए । उनले ४१ बलको सामना गरी एक छक्का पनि हिर्काए ।

आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा ४९ रन थपे । उनले ६३ बलको सामना गरी सात चौका पनि हिर्काए । उनले आठ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएका थिए ।

यसैगरी, अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १५ र नाथन लियोनले १३ रन जोडे । स्कट बोल्यान्ड ६ रनमा अविजित रहे । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २७ रन पाएको थियो । अस्ट्रेलियाले पहिलो पालीमा एक सय २२.४ ओभर ब्याटिङ ग¥यो ।

भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट लिए । उनले २८.४ ओभरमा नौ मेडन राख्दै ९९ रन खर्चिए । रविन्द्र जडेजाले पनि तीन विकेट हात पारे । उनले २३ ओभरमा चार मेडन राख्दै ७८ रन खर्चिए । आकाश दीपले दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए ।

दोस्रो दिन भारतीय खेलाडीहरु पाखुरामा कालो पट्टी बाँधेरमा मैदानमा ओर्लिएका छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

पाँच टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

यसैगरी, ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । यो शृंखला आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसको महत्वपूर्ण अंग पनि हो । त्यसैले टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतका लागि यो शृंखला निकै महत्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप