लुम्बिनी प्रदेशको विजयी सुरुवात, कोशी प्रदेशलाई २६ रनले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । लुम्बिनी प्रदेशले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो ।
सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ४८ ओभरमा अलआउट हुनुअघि दुई सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले भने ४२.४ ओभरमा अलआउट हुनुअघि एक सय ८२ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि सुजन थपलियाले ३५ रन बनाए । ओपनर चिराग साहले पनि ३१ रन बटुले । शुभन गहतराजले २९ रन जोडे । सकिब हकले २७ रन बनाए । कप्तान अंकित सुवेदीले टोलीको खातामा १८ रन थपे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लुम्बिनी प्रदेशका बलर अजय चौहानले पाँच विकेट लिए । उनले ८.४ ओभरमा ३२ रन खर्चिए । रमेश कुर्मीले पनि तीन विकेट लिए । देव खनाल र कृष्ण कार्कीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ९० बलमा एक छक्का र सात चौका प्रहार गरे । ओपनर मृनाल गुरुङले पनि टोलीको खातामा ४३ रन थपे । उनले ६१ बलमा पाँच चौका प्रहार गरे । नर सार्कीले टोलीको खातामा ४५ रन थपे ।
तल्लो क्रमका ब्याट्सम्यान नरले केवल ३२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । यसदेखि वाहेक ओपनर मनिष थापा (१६ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके । कोशी प्रदेशका बलर दीपेश कँडेल र प्रकाश कार्कीले तीन–तीन विकेट लिए । फिरदोष अन्सारीले पनि दुई विकेट हात पारे ।
प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।
क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको दोस्रो दिन २६ गते सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’