रास्वपा सभापति रवि लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?
काठमाडौँ । साढे पाँच महिनामा फेरि पार्टीको जिम्मेवारीमा फर्केका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक सुधार गर्ने चाहनामा छन् ।
सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा लामिछानेले पार्टी संरचनामा व्यापक सुधार गर्ने चाहना व्यक्त गरेका हुन् । सत्ता गठबन्धनबाट अर्को प्रहार हुन सक्ने भएकाले पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको धारणा राखे ।
विभिन्न सहकारी ठगी आरोपमा चार वटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका उनी ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका थिए । मंसिर १० गते जिल्ला अदालतले कैफियतसहित ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने रिहा भएका थिए ।
रिहापछि मौन बस्दै आएका उनी पार्टीको जिम्मेवारीमा पनि फर्किएका थिएनन् । पार्टी संरचना सुधार गर्ने लामिछानेको चाहनालाई लिएर रास्वपाभित्र बढ्दो अन्तरद्वन्द्वको रूपमा कतिपयले अर्थ्याएका छन् । बैठक बस्नुअघि कार्यकर्तामाझ सम्बोधन गरेका उनले आफ्नो पद र सानो लाभ लिएर हिँडे रास्वपा सकिने बताएका थिए । आफूहरू सकिए परम्परागत पार्टीहरूकै राज चलिरहने लामिछानेले चेतावनी दिएका थिए ।
यसै विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झा र कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीसँग चासो राखेका थियौँ । लामिछानेको अभिव्यक्ति विश्लेषण गर्दै कार्यवाहक प्रवक्ता झाले व्यक्तिको योग्यता, क्षमता र पार्टीमा काम गरेको प्रस्तुतिका आधारमा पार्टी संरचना सुधार गर्न लागिएको जिकिर गरे ।
स्थापनाकाल दिनदेखि नै रास्वपामा जसरी भित्रिए त्यसैगरी जिम्मेवारी दिँदा पार्टी कमजोर हुँदै गएको निष्कर्षका आधारमा सभापतिले अभिव्यक्ति दिएका उनको भनाइ थियो ।
‘पार्टीमा स्थापना कालदेखि नै जो जसरी भित्रिए त्यही अनुसारको जिम्मेवारी पाए । तर पर्फमन्स राम्रो देखिएन । मेरो चाहना थिएन–पार्टीले नै जिम्मेवारी दिएको त हो नि भनेर पन्छिने प्रवृत्ति हाबी भयो’, उनले भने, ‘अब यसरी पार्टी चल्न सक्दैन भन्ने निष्कर्षका साथ उहाँले योग्यता, क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ भन्नुभएको हो । सबैको योग्यता, क्षमता र प्रस्तुति हेरेर जिम्मेवारी दिनेगरी गृहकार्य गर्न सबैलाई तीन दिनको समय दिएको छ । सोही आधारमा संरचनागत परिवर्तन हुन्छ ।’
बाहिर रास्वपालाई कमजोर बनाउन वा विभाजन गर्न सकिए आफूहरूको राजनीतिक भविष्य सुरक्षित हुन सक्छ कि भन्ने पुराना दलहरूको चाहना हुनसक्ने झाले बताए । यद्यपि त्यो चाहना पूरा नहुने उनको भनाइ थियो ।
उनले पार्टीलाई क्याडरबेस्डमा जानेबारे बैठकमा छलफल भए पनि निर्णय नभएको जिकिर गरे । केन्द्रीय समितिले नियन्त्रण र सन्तुलन गर्नेगरी मासबेस्ड पार्टी निर्माणको अवधारण साथ रास्वपा खुलेको नेताहरूले दाबी गर्दै आएका छन् । यद्यपि अन्य दलको तुलनामा रास्वपा मासबेस्ड पार्टी भए पनि खासमा मिक्सबेस्ड(क्याडर र मास) पार्टी भएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै लामिछानेले २०७९ साल असार ७ गते वैकल्पिक शक्तिको रूपमा रास्वपा गठन गरेका थिए । सुरुमा २१ जना केन्द्रीय समिति गठन गरेको रास्वपाले विभिन्न चरणमा विस्तार गरी अहिले ६० सदस्यीय बनाइएको छ । गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्धक निर्देशकसमेत रहेका लामिछानेविरुद्ध सरकारले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाका कारण उनको सांसद पदसमेत निलम्बित भएको छ । अहिले चार वटा अदालतमा कुल दुई करोड ७९ लाख धरौटी बुझाएर उनी छुटेका छन् । सहकारी ठगीमा पर्सा जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म अदालतमा मुद्दा दायर गरेको छैन । आफूलाई कमजोर बनाउन सरकारले टाउकोमाथि तरबार झुण्ड्याएको बताएका थिए ।
‘म मौन बसेको सरकारले फाइदा उठाउँदै टाउकोमाथि तरबार झुण्ड्याउँछु भनेर एउटा जिल्लामा मुद्दासमेत नबुझाएर राखेको छ । यिनीहरूलाई लागेको होला यसको टाउकोमा तरबार राख्यो भने चुपचाप बस्छ’, उनले भनेका थिए, ‘कुनै पनि वेला शिरमाथि राखेको तरबार म थाप्न तयार छु । म लड्छु जुनसुकै शक्तिसँग पनि लड्छु । तर यो लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने म लाछि मान्छे होइन ।’
यसै सिलसिलालाई जोडेर लामिछानेले अब पार्टीको संरचनामा काम गरी नेताहरूलाई गृहकार्य दिएका छन् । सबैको लागि आफू सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेकाले सोहीअनुसार तयार रहन उनले आग्रह गरेका थिए ।
पछिल्लो समय अर्का उपसभापति डा.स्वर्णिम वाग्लेसँग सम्बन्ध बिग्रिएको चर्चा चलेको छ । लामिछाने हिरासतमा रहँदा कार्यवाहक सभापतिको जिम्मेवारीमा नपाएकोमा वाग्ले असन्तुष्ट रहेको राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ । लामो समय कांग्रेसमा रहेर काम गरेका वाग्ले गतवर्ष मात्र विद्रोह गरी रास्वपा प्रवेश गरेका थिए । अहिले उनी पार्टीको तेस्रो स्थानमा रहेका छन् । वाग्ले केन्द्रीय कार्यालय र केन्द्रीय समिति बैठकमा समेत नदेखिएपछि आशंकालाई बल पुगेको थियो । तर उनी काम विशेषले म्यानमारमा भएकाले बैठकमा सहभागी नभएको सचिवालयले जानकारी दिएको छ । बाहिर आएको जस्ता पार्टीभित्र वाग्लेको असन्तुष्टि नभएको उनका सचिवालय सदस्य खुम अधिकारीले जिकिर गरे ।
‘पार्टीको परामर्शमा नै म्यानमार जानुभएको छ । बाहिर हल्ला गरेजस्तो पार्टीभित्र उहाँको असन्तुष्टि छैन । निराधार हल्ला हो । स्वदेश फर्किएपछि पार्टीको नियमित काममा सहभागी हुनुहुन्छ’, अधिकारीले भने ।
बुर्लाकोटीले लामिछानेको धारणा पार्टीभित्र कुनै नेतामाथि लक्षित नभई दूरगामी दृष्टिकोणबाट आएको जिकिर गरे । बुर्लाकोटीले अन्य पार्टीको जस्तै भविष्यमा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ संरचना सुधारको अवधारणा ल्याएको स्पष्ट पारे ।
‘सभापतिज्यूको अभिव्यक्ति कुनै व्यक्ति विशेषभन्दा पनि दूरदृष्टिकोणबाट राख्नुभएको हो । अन्य पार्टी जस्तै रास्वपा पनि दुर्घटना पर्न सक्छ भनेर संकेत गर्नुभएको हो । म्यासिभ रिर्फमको कुरा पनि यही नै हो’, उनले भने, ‘सभापति हिरासतमा भएका वेला कसैले गलत रिपोर्टिङ गरेको हुन सक्छ । तर बैठकमा उहाँले कोही कसैप्रति लक्षित गर्नुभएको छैन । पार्टीलाई पछिसम्म एकताबद्ध र बलियो बनाएर लैजाने विषयमा आफ्नो धारणा राख्नुभएको हो ।’
यस्तै विभाग घटाउने विषयमा छलफल भएको भए पनि कुनै निर्णय नभएको उनले जानकारी दिए । रास्वपामा ३८ वटा विभाग छन् तर प्रभावकारी काम भएको छैन । कार्यवाहक प्रवक्ता झाले विभागलाई सानो आकारमा चुस्तदुरुस्त बनाउन सकिन्छ भनेर छलफल भएको स्पष्ट पारे ।
केन्द्रीय समिति बैठकमा लामिछानेले भनेका थिए– ‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु । अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो ।’
_unVLXeeRGN.jpg)
पार्टी बनाउन आफूले के गर्नुपर्ने हो तयार रहेको भन्दै उनले १५ दिनभित्र के भएन के गर्नुपर्छ त्यसको खाका ल्याउन आग्रह गरेका थिए । साथै, गएको असोजमा भएको रास्वपाको भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धतासहित निर्देशन दिएका थिए ।
यसैगरी मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति रास्वपाको कित्ता क्लियर नभएकोमा चौतर्फी आलोचना भइरहेको छ । केही दिनअघि प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा समेत गणतन्त्रवादी वा राजावादी कुन कित्तामा हो स्पष्ट नभएकोमा आलोचना भएको थियो । आलोचनापछि उपाध्यक्षद्वय डीपी अर्याल र वाग्लेले आफूहरू गणतन्त्रप्रति कटिबद्ध रहेको र लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नभएको स्पष्टीकरण दिएका थिए । तर विश्लेषकहरूले रास्वपा भिडबाट जन्मिएको पपुलिस्ट पार्टी भएकाले कुनै भर नहुने आरोप लगाएका थिए ।
यस्ता आरोपको खण्डन गर्दै सभापति लामिछानेले आफूहरू लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका थिए ।
‘पटकपटक हाम्रो डीएनए टेस्ट गर्ने कुरा हुन्छ । तिमीहरू कुनै वादी हो भनेर रास्वपाले कतिपटक जाँच दिनुपर्छ ? हामी वर्तमान संविधानलाई मानेर, व्यवस्थालाई स्वीकार गरेर आएको दल हो । गणतन्त्रवादी छैनौँ कि भनेर लुटतन्त्रलाई प्रसय दिन जुन हिलो छ्याप्ने प्रयास भइराखेको छ । म भन्न चाहन्छु– जहाँ तपाईं उभिरहनुभएको छ, त्यो गणतन्त्र होइन । त्यो गणतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपा खोल ओड्दैन’, स्पष्टीकरण दिँदै उनले भनेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण