देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमननाथका 'गुरु', नागरिक छानबिन आयोगको संयोजक

काठमाडौँ । चैत १५ गते राजसंस्था पक्षधरहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा हिंसा भड्किदा जनधनको क्षति भएको १३ दिन भैसकेको छ । तीनकुने घटनामा फोटो पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
सरकारले उक्त घटना पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएकाले घटनाको जिम्मेवारी पनि शाहले नै लिनुपर्ने बताउँदै आएको छ । सरकारका प्रधानमन्त्री,गृहमन्त्रीदेखि सत्तारुढ दलका नेताहरूले पूर्वराजा शाह तीनकुने घटनाको जिम्मेवार रहेको बताए पनि शाहले भने उक्त घट्नाबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
त्यसो त पूर्वराजा शाहका समर्थकहरूले सरकारी पक्षको उक्त भनाइको प्रतिवाद गर्दै सरकारले नै उक्त घटना गराएको दाबी गर्दै आएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरे पनि सरकार आयोग गठन गर्न तयार भएको छैन ।
सरकार आयोग गठनको विपक्षमा देखिएपछि राजा फर्काउने अभियानमा सामेल संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुने घटनाबारे अनुसन्धान गर्न 'नागरिक आयोग' बनाएको बुधबार घोषणा गरेको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न बुधबार पुराना नेता समेत रहेका देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जनाएका छन् ।
‘शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए गरिएका गम्भीर मानवअधिकार हननको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेतबाट छानबिन नगरी विश्वसामु नेपालको छवि धुमिल बनाएकोले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ट व्यक्तित्व र संघसंस्थाहरुको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन भएको छ’, नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक समाजका विशिष्ट व्यक्तित्व तथा संघसंस्थाहरुको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यहरूमा सुरक्षा क्षेत्रबाट पूर्व एआइजी रविराज थापा रहेका छन् भने चिकित्सा क्षेत्रबाट डा रामप्रसाद उप्रेती रहेका छन् । त्यसैगरी मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधि गरेका डा.ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेको प्रवक्ता नेपालको भनाइ छ ।
आयोगका संयोजक वीरगञ्जनिवासी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक हुन् । २०२६ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष रहेका नेपाली नेविसंघको संस्थापक संयोजक रहँदा शेरबहादुर देउवा, दमननाथ ढुंगाना, विपिन कोइराला, अर्जुननरसिंह केसी लगायतका तात्कालीन बिद्यार्थी नेताहरु समितिमा सामेल थिए ।
‘कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुंगाना र पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ आदिका पनि 'गुरु' मानिने देवेन्द्र नेपालीको संयोजकत्वमा छानबिन आयोग गठन भएको छ’, नेपालले भने, ‘उहाँ नेतृत्वको आयोगप्रति सबैको विश्वास रहन्छ ।’
रातोपाटीले संयोजक नेपालीलाई अव कसरी छानबिन गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनले आफू अहिले वीरगञ्जमा रहेको र चाँडै काठमाडौँ फर्केर बैठक राखेर काम थाल्ने बताए ।
‘म चाँडै काठमाडौँ फर्कन्छु । त्यसपछि बैठक राखेर औपचारिक ढङ्गले वैशाखको सुरुबाटै काम सुरु गर्छौ’, नेपालीको भनाइ छ । आयोगले गर्ने सबै काम पारदर्शी हुने समेत बताए । ‘अहिले यति बुझ्नुस् आयोगका सबै काम पूर्ण पारदर्शी हुन्छन् । बाँकी पत्रकार सम्मेलन नै गरेर जानकारी गराउँछौ’, नेपालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण