मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए

काठमाडौं । भारतको मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणालाई अमेरिकाबाट सुपुर्दगी गरिएको छ। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६ नोभेम्बर २००८ मा भएको मुम्बई आक्रमणका लागि जिम्मेवार तहव्वुर राणालाई बिहीबार अमेरिकाबाट सफलतापूर्वक सुपुर्दगी गरिएको बताएको हो ।
एनआईएले एक प्रेस विज्ञप्ति जारी गर्दै सुपुर्दगी प्रक्रिया सुरु हुनुभन्दा अघि राणा अमेरिकामा न्यायिक हिरासतमा रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राणालाई भारत सुपुर्दगी गरिने पहिले नै घोषणा गरिसकेका थिए ।
अमेरिकी अदालतले यसअघि राणालाई भारत सुपुर्दगी गर्न अनुमति पनि दिएको थियो। तर गत वर्ष नोभेम्बरमा उनले यसमाथि पुनरावलोकन दायर गरेका थिए । यो निवेदनलाई पनि गत महिना अमेरिकी सर्वोच्च अदालतले खारेज गरेको थियो ।
पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा अमेरिकी जेलमा थिए । अमेरिकामा राणालाई २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँगै मुम्बई आक्रमण गर्ने र डेनमार्कमा आक्रमणको योजना बनाएकोमा दोषी ठहराइएको थियो । यी मुद्दाहरूमा, तहव्वुर हुसेन राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो ।