सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेट

पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने

पीसीबीले आईसीसीलाई स्मरण गरायो सम्झौता
आइतबार, ०७ वैशाख २०८२, १२ : १९
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करण सन् २०२५ को सेप्टेम्बर २९ देखि अक्टोबर २६ तारिखसम्म भारतमा आयोजना हुँदैछ । महिला विश्वकपमा कुल आठ टोलीको सहभागिता रहनेछ । 

प्रतियोगितामा सहभागी हुने आठवटै टोलीको टुङ्गो पनि लागिसकेको छ । प्रतियोगितामा आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र पाकिस्तान सहभागी हुनेछन् । पाकिस्तान छनोट चरणमा आफ्नो सबै खेल जित्दै विश्वकपमा छनोट भएको हो ।

आफ्नो टोली विश्वकपमा छनोट भएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई आफ्ना वाचा स्मरण गराएका छन् । पीसीबी अध्यक्ष नकवीले महिला विश्वकप खेल्न आफ्नो टोली भारत नपठाउने बताएका हुन् । 

यसअघि, भारतले पनि पाकिस्तानी भूमिमा आईसीसी च्याम्पियन्स ट्रफी र पुरुष एसिया कप खेल्न मानेको थियो । त्यसपछि यी दुबै प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा खेलाइएको थियो । सन् २०२३ को एसिया कपमा भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल श्रीलंकामा खेलेको थियो । 

यसैगरी यसैवर्ष आयोजित च्याम्पियन्स ट्रफीमा पनि भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलेको थियो । भारतले सुरक्षाको कारण देखाउँदै लामो समयदेखि पाकिस्तानमा कुनै पनि प्रतियोगिता खेल्न मानेको छैन । च्याम्पियन्स ट्रफीमा क्रममा भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि पाकिस्तानले पनि आगामी तीन वर्षसम्म आफ्नो टोलीले भारतीय भूमिमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने सम्झौता गरेको थियो । 

सोही अनुरुप, अहिले पीसीबी अध्यक्ष नकवीले आफ्नो टोलीले भारतमा महिला विश्वकप नखेल्न अडान लिएका हुन् । ‘म आईसीसीलाई सम्झौता हामीबिच भएको सम्झौता स्मरण गराउन चाहन्छु । महिला विश्वकप पनि अब हाइब्रिड मोडलमै आयोजना हुनुपर्छ । हाम्रो टोली महिला विश्वकप खेल्न भारत भ्रमणमा जाँदैछ,’ अध्यक्ष नकवीले भनेका छन् । 

पीसीबी अध्यक्ष नकवीले पाकिस्तानको खेलका लागि ‘न्यूट्रल भेन्यू’ खोज्ने काम पनि महिला विश्वकपको आयोजक भारतले नै गर्नुपर्ने पनि बताएका छन् । ‘हाम्रो टोलीले भारतमा खेल्दैन । यस्तो स्थितिमा हाम्रा लागि न्यूट्रल भेन्यू खोज्ने काम पनि भारतले नै गर्नुपछै,’ उनले भनेका छन् । 

खासमा, भारत र पाकिस्तानबिचको तनावपूर्ण राजनीति सम्बन्धको असर खेलमा पनि देखिन्छ । खासगरी क्रिकेटमा त झनै बढी राजनीतिको छाया पर्ने गरेको छ । पाकिस्तानले भारतमा सन् २०२३ को आईसीसी पुरुष एकदिवसीय विश्वकप खेलेको थियो । 

भारतले भने सन् २००८ देखि पाकिस्तानमा कुनै पनि प्रतियोगिता खेलेको छैन । यी दुई टोलीबिच अन्तिम पटक सन् २०१२–१३ सिजनमा भारतीय भूमिमा द्विपक्षीय क्रिकेट शृंखला खेलिएको छ । त्यसयता यी दुई टोलीबिच आईसीसी र एसीसीको आधिकारीक प्रतियोगितामात्र खेलिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप