शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीएल क्रिकेटमा आज : इतिहासकै सर्वाधिक सफल टोली मुम्बई र चेन्नई दोस्रोपटक भिड्दै

आइतबार, ०७ वैशाख २०८२, १६ : ३८
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुई खेल खेलिँदैछ । पहिलो खेल पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुनेछ । दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच खेलिनेछ । 

मुम्बई र चेन्नईबिचको खेल वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । यो मुम्बईको घरेलु मैदान हो । यी दुई टोली जारी सिजनको आईपीएलमा दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । 

यी दुई टोली गत मार्च २३ तारिखमा पहिलो पटक आपसमा भिडेका थिए । उक्त खेलमा चेन्नईले मुम्बईलाई चार विकेटले हराएको थियो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो । त्यसैले आइतबार मुम्बई सोही हारको बदला लिने धुनमा हुनेछ । 

००

आईपीएल इतिहासकै सर्वाधिक सफल टोली

आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स दुबै सर्वाधिक सफल टोली हुन् । यी दुबै टोली एक–अर्काका चिरप्रतिद्वन्द्वी पनि हुन् । यी दुई टोलीबिचको हरेक भिडन्त निकै प्रतिस्पर्धात्मक हुने गरेको छ । 

त्यसैले क्रिकेटप्रेमीले चेन्नई र मुम्बईबिचको भिडन्तलाई ‘एल क्लासिको’ नाम दिएका हुन् । पाँचपटक आईपीएलको उपाधि चुम्दा मुम्बई इन्डियन्सले तीनपटक त फाइनलमा चेन्नई सुपर किङ्लाई नै हराएको छ । चेन्नईले पनि एकपटक फाइनलमा मुम्बईलाई हराएको छ । 

सन् २०१० मा पहिलो पटक चेन्नई सुपर किङ्सले उपाधि जितेको थियो । फाइनलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । सन् २०११ को उपाधि पनि चेन्नईले नै उचालेको थियो । 

उक्त संस्करणको फाइनलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराएको थियो । त्यसपछि चेन्नई सुपर किङ्सले सन् २०१८ मा उपाधि चुमेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । सन् २०२१ को उपाधि पनि चेन्नईले नै चुमेको थियो ।

उक्त संस्करणको फाइनलमा चेन्नई सुपर किङ्सले कोलकाता नााइट राइडर्सलाई २७ रनले पराजित गरेको थियो । सन् २०२३ मा पनि चेन्नई सुपर किङ्सले उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यसैगरी, मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।

त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।

मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो । 

००

दुबै टोलीको आठौँ खेल, दबाबमा चेन्नई

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । तर, मुम्बईको तुलनामा चेन्नई बढी दबाबमा देखिन्छ । आइतबारको खेलमा पराजित भए चेन्नईको प्ले–अफ चरणमा पुग्ने सम्भावना निकै कम हुनेछ । 


चेन्नईले यसअघि खेलेको सातमध्ये केवल दुई खेलमा जित हात पारेको छ । यो सिजन अत्यन्तै निराशाजनक प्रदर्शन गरेको चेन्नई पाँच खेलमा पराजित भइसकेको छ । चेन्नई चार अंकसहित तालिकाको सबैभन्दा तल अर्थात, १०औँ स्थानमा आसिन छ । 

यो सिजनको आईपीएलमा मुम्बईको अवस्था पनि गतिलो छैन । मुम्बईले तीन खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना कायम राख्न आइतबार मुम्बई पनि जितकै खोजीमा हुनेछ ।
००
हेड टु हेडमा मुम्बई अगाडि 

आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच कुल ४० खेल खेलिएको छ । त्यसमा मुम्बई इन्डियन्स केही अगाडि देखिन्छ । मुम्बईले चेन्नईलाई २१ खेलमा पराजित गरेको छ । चेन्नईले भने १९ खेलमा मुम्बई इन्डियन्सलाई हराएको छ । 

अर्कोतिर, मुम्बईको घरेलु मैदानमा भने चेन्नईले खासै गतिलो प्रदर्शन गर्न सकेको देखिँदैन । वानखेड स्टेडियममा हालसम्म यी दुई टोलबिच कुल १२ भिडन्त भएको छ । त्यसमध्ये सात खेलमा मुम्बई र पाँच खेलमा चेन्नई विजयी भएका छन् । 

मुम्बई र चेन्नई एक–अर्काका चिरप्रतिद्वन्द्वी पनि हुन् । यी दुई टोलीबिच चारपटक फाइनलमा भिडन्त भइसकको छ । त्यसमध्ये तीन खेलमा मुम्बईले चेन्नईलाई हराएको छ । एकपटक भने फाइनलमा चेन्नईले मुम्बईलाई पराजित गरेको छ । 
००
मुम्बईको सर्वाधिक रन सूर्यको नाममा

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले हालसम्म खेलिएको सात खेलमा कुल दुई सय ६५ रन बनाइसकेका छन् । दोस्रो स्थानमा रहेका तिलक वर्माले पनि सात खेलमा दुई सय ३१ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर कप्तान हार्दिक पाण्ड्या हुन् । उनले ६ खेलमा कुल ११ विकेट लिएका छन् । 

००

नुरको नाममा चेन्नईको सर्वाधिक विकेट

आईपीएलको जारी सिजनमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रचिन रवीन्द्र हुन् । उनले सात खेलमा कुल एक सय ८६ रन बनाइसकेका छन् । उनले मुम्बईविरुद्ध ४५ खेलमा अविजित ६५ रन बनाएका थिए । 

सर्वाधिक विकेट लिने बलर नुर अहमद हुन् । उनले सात खेलमा कुल १२ विकेट लिएका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि पहिलो स्थानमा आसिन छन् । 
००
ब्याट्सम्यानलाई साथ दिने पिच

मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच आइतबारको खेल हुने वानखेड स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १९ खेल खेलिएको छ ।

त्यसमध्ये ५५ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६४ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर भने एक विकेट गुमाएर दूई सय ३५ रन हो । यो स्कोर सन् २०१५ मा बेंगलुरुले मुम्बईविरुद्ध नै बनाएको थियो ।

००
छैन वर्षाको सम्भावना

चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच खेल हुने दिन आइतबार मुम्बईको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

दिनभर चर्को घाम लाग्नेछ । तापक्रम भने २० देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

००

सम्भावित टोली 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन, विल ज्याक्स, सूर्य कुमार यादव, तिलक बर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, कर्ण शर्मा र रोहित शर्मा । 

चेन्नई सुपर किङ्स : महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), शेख रशिद, रचिन रवीन्द्र, राहुल त्रिपाठी, विजय शंकर, रवीन्द्र जडेजा, जामी आभर्टन, अंशुल कम्बोज, नुर अहमद, खलिल अहमद, मथिशा पाथिराना र शिवम दुबे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप