आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

प्रहरीको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

आइतबार, ०७ वैशाख २०८२, २३ : २५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपाल शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ । यसैबिच काठमाडौँ प्रहरीले गत चैत १५ गते तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष सिलवाललाई पक्राउ गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप