भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
काठमाडौँ । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ ।
रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो ।
राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा ८ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए ।
उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुई वटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो। प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो ।
पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो ।
बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताए ।
उनले भने,“उनीहरूलाई झुटो आश्वासन दिएर यो कम्पनीमा यसरी अगाडी बढ्नुपर्छ, उनीहरूलाई धेरै कमाउनुपर्छ भनेर लालच देखाइएको थियो । दारी आउनुभन्दा गाडी आउनुपर्छ तिमिहरूसँग, मैले यसरी तीन करोड कमाएको छु, तिमीहरूले पनि तीन करोड कमाउनुपर्छ लगायतका प्रलोभनमा राखी योजना अनुसार उनीहरूलाई राखिएको थियो । परिवारलाई पनि थाहा दिइएको थिएन । परिवारसँग कुरा हुँदा त्यहाँ कुनै व्यक्तिले निगरानी गरिरहेको थियो ।”
कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पुर्याउने कार्य गरिरहेको पाइएको छ ।
जोशीका अनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण