ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा

म्याग्दी । सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् ।
आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् । गण्डकी प्रदेशमा पहिलोपटक दुई वर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिबार र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुनेगरी बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार बिहानै अस्पतालमा उपचार गराउन आए पनि ओपिडी सेवा बन्द भएपछि उपचार नगराइकन फर्कनुपरेको धवलागिरि गाउँपालिका–२ लुलाङबाट सेवा लिन आभएका भबिराम विकले बताए ।
“अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिकमा जाँच गर्नुपर्ने भयो, घरमा नियमित प्रयोग गर्ने औषधिसमेत पाउन सकिएन”, उनले भने । शुक्रबारदेखि नै अस्पतालको ओपिडी सेवा बन्द भएपछि गाउँगाउँबाट उपचार गराउन आएका बिरामी उपचार नगराइकन फर्कनुपरेको छ । अस्पतालका डा रामु सापकोटाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।
प्रदेश अस्पताल बेनीमा कार्यरत चिकित्सकले ओपिडी सेवा बन्द भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई समेत ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी