बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
पहिलो प्रस्रव

पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !

शनिबार, २० वैशाख २०८२, १५ : ००
शनिबार, २० वैशाख २०८२

श्रीमान् अफिस गएका बेला इल्याले मनका भावना कापीमा पोख्थिन् । कतिपय भावनालाई कथाको रूप पनि दिइन् । यसरी कापीमा पोखिएका आफ्ना भावना अरुलाई देखाउन वा सुनाउन उनलाई लाज हुन्थ्यो, लुकाएरै राख्थिन् । एक दिन इल्याका श्रीमान् (दीपक भट्टराई) ले सुटुक्क उनको नोटबुक पढ्न पुगे, त्यसबाट ‘उसको पुतली’ शीर्षकको एउटा कथा झिके र ‘गरिमा’ पत्रिकालाई दिए । 

एक दिन दीपकले गरिमा पत्रिका ल्याएर इल्यालाई दिए, जसमा उनको कथा छापिएको थियो । यो २०४३ सालको कुरा हो । पत्रिकामा छापिएको यही नै पहिलो सिर्जना थियो इल्याको । आफ्नो कथा पत्रिमा छापिएको देख्दा उनीमा खुसीको सीमै थिएन, कथा छापिएकामा इल्याभन्दा अझ बढी खुसी थिए दीपक ।

लेखक इल्या भट्टराई (जन्म : २०१२ मंसिर १३) का हालसम्म ११ कृति प्रकाशित छन् । देशका नामुद पत्रकार तथा लेखक मदनमणि दीक्षितकी छोरी इल्यालाई लेख–पढको वातावरण घरमै थियो । उनका कान्छा दाजु कामोदमणि दीक्षित निकै कमिक्स पढ्थे । दाइले पढेको देखेर उनले पनि थुप्रै कमिक्स पढ्न थालिन् । पढ््नमा रुचि बस्दै गयो । कमिक्समा आउने कथा र घटनाक्रमले उनलाई तान्थ्यो । बेताल, जादुगर, म्यान्ड्रेक लगायत चर्चित कमिक्स निकै पढिन् । घरमा आउने ‘फिल्मफेयर’ पत्रिकाले पनि उनलाई आकर्षित गथ्र्यो । 

उनका जेठा दाजु विनोदमणि दीक्षित, विनोदका मिल्ने साथी उत्तम कुँवर लगायत उत्साहित साहित्यप्रेमी युवाको जमातले एउटा पुस्तकालय खोले । यो पुस्तकालय ठ्याक्कै उनीहरू बस्ने घरअगाडि थियो । त्यति बेला इल्याको परिवार प्युँखामा भाडाको घरमा बस्थ्यो । इल्या र उनका कान्छो दाजु पुस्तकालयमा चिनियाँ चित्रकथा पढ्थे । त्यहाँबाट इल्याले तोता–मैनाका कथा, गुलबकावलीका शृङ्खला ल्याएर पढ्थिन् । 

११–१२ वर्षको उमेरमा उनले पन्जाबी लेखक नानक सिंहको उपन्यास ‘पवित्र पापी’ पढ्न पुगिन् । यो उपन्यास उनलाई दाजुहरूले दिएका थिए— पढ, राम्रो छ भनेर । ‘पवित्र पापी’ले उनलाई ठुला उपन्यास पढ्न उत्प्रेरित गर्‍यो । 

उनका जेठा दाजुले खुब जासुसी उपन्यास पढ्थे । उमेरको खुड्किलो उक्लिँदै जाँदा इल्याले पनि दाजुको देखासिकीमा इबने सफीका जासजुस उपन्यास ‘कर्नल विनोद’ लगायत पढिन् । ‘पढ्नलाई मलाई कुनै समस्या भएन । स्वतःस्र्फुत रूपमा म किताबप्रति तानिएँ,’ उनी भन्छिन् । 

एक्ली छोरी भएकाले इल्यालाई आमाले निकै सुखमा हुर्काएकी थिइन् । पढ्नका लागि समय निकाल्नुपर्ने भन्ने थिएन । मोटामोटा किताब रातभरमै पढिसक्थिन् ।

घरमा पिताजीलाई उनले प्रायः पढिरहेकै अवस्थामा देख्थिन् । ‘बुबा असाध्यै विद्वान्, असाध्यै पढ्ने । केटाकेटीसँग खासै मिसिनुहुुन्नथ्यो । हामी त बुबासँग अति नै डराउँथ्यौँ । बुबासँग कहिले पनि दोहोरो कुरा हुँदैनथ्यो । बुबा घर छिरेपछि म आफ्नो कोठामा दुम्केर बस्थेँ,’ उनी भन्छिन् । 

उनी पिताबाट निकै प्रभावित थिइन् । पितालाई देखेर उनलाई लाग्थ्यो— लेख्नु भनेको विद्वान्ले गर्ने निकै ठुलो कर्म हो । पिताले कहिलेकाहीँ घरमा सबैलाई ‘डिक्टेसन’ सुनेर लेख्न लगाउँथे । उनले पढ्थे, छोराछोरीले सुनेर लेख्नुपथ्र्यो । एकातिर ‘डिक्टेसन’को अभ्यास, अर्कोतिर घरमै कमिक्स पढ्ने बानीले होला इल्याले सानैदेखि कथा लेख्ने अभ्यास गरेकी थिइन्, तर त्यसरी लेखेका कथालाई उनले संग्रहित गरिनन् । 

‘मलाई धमिलो सम्झना छ, आठ वर्षको उमेरमा मैले एउटा कथा लेखेकी थिएँ । त्यतिबेला टोलमा आफ्ना उमेरका साथीसंगीलाई जम्मा गरेर कथा सुनाउने चलन थियो । मैले पनि सुनाएकी थिएँ,’ इल्या भन्छिन्, ‘धेरैले राम्र्रो भनेका थिए ।’ 

इल्याकी आमाले आफ्नो माइतीगाउँ नजिकका दत्तात्रय रायलाई धर्म भाइ बनाएका थिइन् । उनी पनि प्युँखा टोलमा बस्थे । एक दिन उनले भाञ्जीको कथा सुन्न पुगेका थिए । पछि उनले इल्यालाई कथा लेख्न नोटबुक र फाइलिङ गर्न एउटा फाइल उपहार दिए । 

जवानीका दिनमा भने इल्याले प्रेमका रुमानी कविताहरू लेखिन् । ती कविता छपाउने आँट भने उनले कहिल्यै गरिनन् । कविता कोरिएका ती कापी अझै पनि उनीसँग छन् । कविताहरू पढ्दा उनलाई निकै रमाइलो लाग्छ । तर ती कविता छपाउनका लागि उनी स्तरीय ठान्दिनन् ।

  • पितालाई कथा देखाएपछि... 

२०४० सालमा उनका श्रीमान् पोखरा गए । पोखरामा पुल्चोक इन्जिनियरिङ क्याम्पसको शाखा बन्दै थियो । क्याम्पसका ५०–६० वटा भवन बनाउने प्रोजेक्टको जिम्मा इल्याका श्रीमान् (दीपक भट्टराई)ले पाएका थिए । 

बीएड गरेकी इल्या श्रीमान्सँग पोखरामा बस्दा सुरुमा लेखपढकै काम मात्रै गरेकी थिइन्, त्यही मेसोमा उनको पहिलो कथा गरिमामा छापिने अवसर जुरेको थियो । पोखरामा बस्दा २०४२ देखि २०४५ सम्म उनले कन्या मावि नदीपुरमा अध्यापन समेत गरिन् ।  

पहिलो कथा छापिएपछि उनले कथा लेखिरहिन् तर छपाउन खासै मेसो मिलिराखेको थिएन । उनका कथा भतिजाले पत्रपत्रिकामा लगेर छाडिदिन्थे । यीमध्ये अधिकांश कथा ‘विमोचन’ पत्रिकामा छापिए । 

कथा लेख्न र छापिन थालेको निकै पछिसम्म उनी आफैँ कथा लिएर पत्रिकाका कार्यालयमा जाने आँट गर्दिनथिन् । एक दिन इल्या हिम्मत जुटाएरै मधुपर्कको कार्यालयमा पुगिन् र कथा दिइन् । महिनौँ कुर्दा पनि मधुपर्कले उनको कथा छापेन ।

कथा लेख्न र छापिन थालेको निकै पछिसम्म उनी आफैँ कथा लिएर पत्रिकाका कार्यालयमा जाने आँट गर्दिनथिन् । एक दिन इल्या हिम्मत जुटाएरै मधुपर्कको कार्यालयमा पुगिन् र कथा दिइन् । महिनौँ कुर्दा पनि मधुपर्कले उनको कथा छापेन । त्यही कथा पछि इल्याका भतिजाले ‘स्पेस टाइम्स’मा दिए र छापियो । 

एक दिन उनलाई लाग्यो— मैले आफ्ना सिर्जना पितालाई देखाउनैपर्छ । शनिबारको दिन थियो, माइतीमा इल्याको दम्पतीलाई खाना खान बोलाइएको थियो । त्यतिबेला इल्याले आफूले लेखेको नियात्रा पनि बोकेर गएकी थिइन् । त्यो नियात्रा पितालाई पढिदिन आग्रह गरिन् । पिताजीको अध्ययन कक्षमा गएर नियात्रा दिएपछि इल्या भान्सामा आएकी थिइन् । निकै बेरपछि मदनमणि पनि छोरीलाई पछ्याउँदै भान्सामा आए । 

‘अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ । अरु के लेखेकी छौ ?’ पिताका मुखबाट यति सुनेपछि उनलाई आफू लेखक भएको महसुस भयो । पिता–पुत्रीको संवाद चलेकै बेला दीपक पुगे । ‘कति धेरै कथा लेखेकी छिन् । मैले कतिपटक भनिसकेँ, संग्रह निकालौँ । खै किन हो मान्दै मान्दिनन्,’ दीपकले भने । 

त्यतिबेलाको संवादमा इल्यालाई पिताले कथा संग्रह निकाल्न प्रेरित गरे । संयोगले सोही दिन मदनमणिलाई भेट्न नगेन्द्रराज शर्मा र रोचक घिमिरे पुगेका थिए । मदनमणिले उनीहरूलाई समेत भने, ‘इल्याले त कस्ता राम्रो कथा र नियात्रा लेख्ने रैछ । मलाई थाहै थिएन ।’ 

नगेन्द्रले आफ्नो पत्रिका ‘अभिव्यक्ति’मा इल्याको कथा छाप्ने भए । रोचक घिमिरेले भने ‘रचना’ पत्रिकाका लागि नियात्रा मागे । ‘अभिव्यक्ति’मा कथा आउनुअघि ‘स्पेस टाइम’ले त्यही कथा छापिदियो । ध्रुवचन्द्र गौतमको नियमित स्तम्भमुनि इल्याको कथा छापिएको थियो । त्यो कथा धेरैले मन पराए । साहित्यिक वृत्तमा पनि ‘यो मान्छे को रहेछ ?’ भनेर सोधखोज सुरु भयो । कथाको शिल्प देखेर लोभिएका नगेन्द्रले छापिएको भए पनि त्यसलाई आफ्नो पत्रिकामा छापिदिए । 

यसैबिचमा २०६० सालमा इल्याले आफ्नो पहिलो कथासंग्रह ‘मन मनै त हो’ बजारमा ल्याइन् । यो कृति इल्याले आफैँ छापेकी थिइन् । यो कृति छाप्न करिब ३०–४० हजार जति खर्च भएको उनी भन्छिन् । कृति निकाल्ने सबै जिम्मा श्रीमान्ले लिएका थिए । कृतिको कभरमा मदनमणि दीक्षितले खिचिदिएको इल्याको फोटो राखिएको छ । यो फोटो राख्न पनि इल्यालाई श्रीमान्ले नै सुझाव दिएका थिए । 

यसपछि उनको नियात्रा संग्रह ‘लफबराको वरिपरि’ २०६१ बजारमा आयो । ‘रचना’ पत्रिकामा नियात्रा छापिएपछि आफ्नोबारे सोधखोज गर्दै धेरै फोन आएको उनी सुनाउँछिन् । ‘मनुजबाबु मिश्रले समेत मलाई फोन गर्नुभएको थियो,’ इल्या आफ्ना उत्साहका ती दिन सम्झिन्छिन्, ‘ओहो ! मैले लेखेको नियात्रा त रुचाइने रैछ भन्ने महसुस भयो र संग्रह तयार गरेकी थिएँ ।’ 

यसपछि मदनमणिले छोरी इल्याका सिर्जनामा चासो दिन थाले । माइत गएका बेला उनले सोध्ने गर्थे– के लेख्दै छौँ ? अरु कथा छन् ? 

यसरी पिताले सोधेका बेला इल्याले आफूले लेखेका सबै कथा सुम्पिइन् । आफूले लेखेको जति सप्पै कथा पितालाई दिइन् । 

सबै कथाहरू पढिसकेपछि एक दिन मदनमणिले इल्यालाई भने— त्रिवि नेपाली विभाग प्रमुख दयाराम श्रेष्ठ ‘सम्भव’लाई भूमिका लेख्न देउ ।

‘मेरो संग्रहमा दयाराम सरले भूमिका लेख्नुहोला र ?’ संशय मान्दै उनले सोधिन् । 

‘गएर दे न,’ पिताले यति मात्रै भने ।

२०६२ सालको दसैँछेक इल्याले दयाराम श्रेष्ठलाई पाण्डुलिपि दिइन् । उनले केही नभनी एक महिनापछि आउन भने । एक महिनापछि इल्या जाँदा उनले साझामा छपाउन दिन भने । आफूजस्तो नयाँ लेखकको कृति साझाले छाप्ला र भन्ने उनलाई लागेको थियो । 

‘यस्तो नछापे कस्तो छाप्छ त ? दिनुस् न गएर,’ दयारामले भने । यसको केही महिनामा इल्याको दोस्रो कथा–संग्रह ‘अनि’ (२०६२) छापिएर आयो । 

यसरी हरेक वर्षजस्तो उनका कृति छापिन थाले— निःशब्द (कथा संग्रह–२०६३), युरोप नौलो परिवेश (यात्रा संस्मरण– २०६५), कसले के बुझ्यो (बालकथा संग्रह– २०६६), म साँच्चिकै हराउँदै छु (यात्रा संस्मरण– २०७४), त्यो एउटा बिहान (कथा संग्रह– २०७४), दक्षिणायन (नियात्रा २०७५) र मिसर (नियात्रा २०७९) । 

यही बिचमा उनका श्रीमान्लाई क्यान्सर भयो । इल्याको अधिकांश समय अस्पताल र घर गर्दैमा बित्यो । उपचारका क्रममा धेरै समय भारत बसिन् तर श्रीमान्को मृत्युको घटनाले उनी निकै बिथोलिइन् । यो बिचमा इल्याको लेखन र पठन ठप्पप्रायः भयो । 

उनका पिताको उपन्यास माधवी प्रख्यात छ । इल्यालाई पनि सीतायण लेख्ने रहर भएको थियो । उनले ३०–४० पेजसम्म लेखिसकेकी थिइन् । लेखेजति उनले पितालाई देखाइन् । सीताजस्ती पात्रलाई लिएर लेख्दा गहकिलो भएर लेख्नुपर्ने पिताजीको सुझाव थियो । त्यसपछि इल्याले त्यो उपन्यासलाई त्यत्तिकै थन्काएर राखिन् । 

‘अहिलेसम्म यो त्यत्तिकै थन्किएको बसेको छ । यसलाई पूरा गर्ने मेरो इच्छा छ,’ उनी भन्छिन्, ‘खोइ किन हो मसँग अब सीतायण पूरा गर्ने धैर्य छ जस्तो नै लाग्दैन । हेरौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप