सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’

शनिबार, २० वैशाख २०८२, १६ : १४
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरूसँग राखेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट रहेको बताएका हुन् । 

‘अहिलेको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पानी जहाज हो । पानी जहाज, रेल, हावाबाट बिजुली, घर–घरमा ग्यासको पाइपजस्तै नीति तथा कार्यक्रम हिजो आयो । हामीले त्यसलाई स्पष्ट भनिसक्यौँ– पुरानो ढर्राको, च्यातिएको कागजजस्तो, टोले गुन्डाहरूले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो,’ उनले भने । 

अहिलेको नीति तथा कार्यक्रमले सरकारको गलत कामको विरोध गर्नसमेत नपाइने भनेको उनले बताए । सरकारमा रहेका दलहरूले नीति तथा कार्यक्रममा देशको आर्थिक नीतिको बारेमा कुरा नगरेर राजनीतिक भाषा प्रयोग गरेको उनको आरोप छ । नेता शाहीले युवालाई रोजगारी दिने भनिए पनि के आधारमा उनीहरूलाई रोजगारीको व्यवस्था गरिने भन्ने प्रष्टता नरहेको बताए ।

विराटनगर जुट मिल, चिनी मिललगायत युवाहरूलाई रोजगारी दिने  उद्योगहरू बन्द गराएर कसरी रोजगारी दिने भन्ने आफूहरूले बुझ्न नसकेको उनले बताए । अहिले आएको नीति तथा कार्यक्रमले यो व्यवस्था नै खराब छ भन्ने कुरा पुष्टि गर्ने उनको दाबी छ । 

यसै गरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र युवाहरूको क्षेत्रमा सरकारले अत्यन्तै राम्रो नीति र कार्यक्रम ल्याएको बताए । 

त्यस्तै, संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानुनहरू यथाशीघ्र संसद्बाट पारित गर्ने सरकारको नीति एकदमै राम्रो रहेको उनले बताए । ‘संघीयतामा आवश्यक पर्ने कानुनहरू यथाशीघ्र संसद्बाट पारित गर्ने कुरा गरेको छ । यो एकदमै राम्रो हो,’– उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप