बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
पूर्वाधार

चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत

सेनाले निर्माण गरेका अन्य आयोजनाको प्रगति कति ?
आइतबार, २८ वैशाख २०८२, १३ : ३०
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना २०८१ चैत मसान्तसम्म ३९.३४ प्रतिशत समष्टिगत भौतिक प्रगतिको अवस्थामा पुगेको छ । यो अवधिमा ४१.०६ प्रतिशत वित्तीय प्रगति (मोबिलाइजेशन सहित) रहेको नेपाली सेनाले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ साउन २७ गते यो आयोजना निर्माणका लागि नेपाली सेनालाई औपचारिक रूपमा जिम्मा दिएको थियो । सम्झौताअनुसार ४ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना ८ वर्ष पुग्नै लाग्दा ४० प्रतिशत पनि पूरा हुन नसकेको हो ।

सेनाले निर्माण गरिरहेको यो आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेज छन् । यसमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणको चरणमा छन् । तर प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको सेनाले जनाएको छ । 

खोकना–बुङ्मती खण्डको मुआब्जा वितरणमा स्थानीयसँग विवाद हुँदा काम अघि बढ्न नसकेको सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउँछन् । 

‘आयोजना निर्माण गर्नुपर्ने जग्गामा ऐतिहासिक, धार्मिकस्थल भएकाले आयोजना निर्माण गर्न नहुने माग स्थानीयले गरेका छन्,’ प्रवक्ता केसीले भने, ‘त्यहाँको समस्या समाधानका लागि समिति बनेको छ । समितिले अध्ययन गरिरहेको छ । विवाद मिलाउने काम भइरहेको छ ।’

प्रवक्ता केसीका अनुसार उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न समन्वय भइरहेको छ । साथै, जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्य अगाडि बढिरहेको छ । 

२०८१ चैत १९ गते बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजनाको प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा प्राप्त भएको छ । हालसम्म स्वीकृत डीपीआर बमोजिम खोकना–बुङ्गमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ । 

आयोजना अन्तर्गतका जम्मा ७ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर छ । यसमध्ये कुल ३ हजार ३५५ मिटर लम्बाइ रहेको महादेवटार सुरुङको बायाँ टनेल ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यो टनेल ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर खन्ने कार्य सम्पन्न भएको हो । 

दोस्रो धेद्रे सुरुङ दायाँबायाँ टनेल ब्रेक थ्रु भएको छ । कुल लम्बाइ १ हजार ६९१ मिटर रहेकोमा दायाँ १ हजार ६५३ मिटर छ भने बायाँ १ हजार ७२८ मिटर लम्बाइ छ । 

त्यसैगरी लेनडाँडा सुरुङको पनि दुवै टनेलको ब्रेक थ्रु भइसकेको छ । कुल १ हजार ६२६ मिटर लम्बाइ रहेको यो सुरुङमा १ हजार ६३३ मिटरको बायाँ र १ हजार ६३३ मिटर लम्बाइको दायाँ टनेल छ । 

देवीचौर सुरुङ (कुल १००० मिटर) र सिसौटार (३९० मिटर) खरिद सम्झौता तथा डिजाइन सम्पन्न भई निर्माण कार्य भइरहेको सेनाले जनाएको छ । कुल २ हजार २५० मिटर लम्बाइको चन्द्राम भीर सुरुङ ९१.०३ मिटर खन्ने कार्य सम्पन्न भएको छ । कुल लम्बाइ ५८३ मिटरको मौरी भीर सुरुङ डिजाइन स्वीकृत भई निर्माण सुरु हुने चरणमा छ । यो सुरुङ ०८१ कार्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भएको थियो ।

  • पाँच वटा पुल निर्माण, थप २० वटा निर्माण सक्ने लक्ष्य

आयोजना अन्तर्गत जम्मा ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा छन् । निर्माणाधीन अधिकांश पुलको फाउण्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ । जस अन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका मेजर, माइनर स्पेसल पुलको निर्माण कार्य अगाडि बढिरहेको सेनाले जनाएको छ । हालसम्म आयोजना अन्तर्गत जम्मा ५ स्थानका पुल निर्माण कार्य सम्पन्न भइसकेको र चालु आर्थिक वर्षभित्र थप २० वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाइएको छ । 

  • जग्गा अधिग्रहणको अवस्था 

द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ । ६.५ किलोमिटरदेखि २४.८ किलोमिटर खण्डमा सुरुङमार्ग, स्लोप प्रोटेक्सन रिभर टेनिङ निर्माण कार्यको लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गा अधिग्रहणका लागि नेपाल सरकारको स्वीकृति प्राप्त हुने क्रममा रहेको जनाइएको छ । 

यसमध्ये काठमाडौँमा रेखाङ्कन परिवर्तन तथा स्लोप स्टाब्लाइजेशनका संरचना निर्माणका लागि आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गामा निर्मित भौतिक संरचनाको क्षतिपूर्ति बाँकी छ । यस्तै ललितपुरमा सुरुङमार्गका संरचना निर्माणका लागि ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा थप आवश्यक छ । त्यसैगरी मकवानपुर मा सुरुङमार्गका संरचना निर्माणका लागि २८–१५–३–१.१९ रोपनी नम्बरी जग्गा थप आवश्यक छ । 

फास्ट ट्र्याक निर्माणको क्रममा हालसम्म ४४,४२० वटा विभिन्न प्रजातिका रुख कटान सम्पन्न भएको छ । साथै कटान गरिएका रुखको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको जनाइएको छ । 

  • सेनाले जिम्मा लिएका अन्य आयोजनाको अवस्था 

कर्णाली करिडोर अन्तर्गत लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड कुल लम्बाइ २२.०५ किलोमिटर हो । यसमध्ये आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल १३.५ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको थियो । ०८१/०८२ को साउनदेखि चैत मसान्तसम्म १.७८ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको छ । हालसम्म कुल १५.२८ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको जनाएको छ ।

यस्तै ९२ किलोमिटर लम्बाइ रहेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना पनि २०७४ साल यता नेपाली सेनाले निर्माण गरिरहेको छ । यो सडक आयोजना ०८०/०८१ को अन्त्यसम्म कुल ३८ किलोमिटर नयाँ ट्र्याक निर्माण र ३ किलोमिटर ट्र्याक स्तरोन्नति भएको थियो । ०८१/०८२ को साउनदेखि चैत मसान्तसम्ममा कुल ४० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ । ०७४ वैशाखदेखि निर्माण थालेको यो आयोजनाको सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ०८६/०८७ सम्म छ । 

यसैगरी १०.५ किलोमिटर लम्बाइ रहेको उत्तरदक्षिण कोशी सडक खाँदबारी किमाथांका (च्याम्ताङ्ग–घोङघप्पा खण्ड) सडक आयोजना ०८०/८१ को अन्त्यसम्म कुल ८.५ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको थियो । सो अवधिमा ३.५ किलो मिटर ट्र्याक स्तरोन्नति सम्पन्न भएको थियो । ०८१/०८२ को साउनदेखि चैत मसान्तसम्म २.०१ किलोमिटर नयाँ ट्र्याकसहित कुल १०.५१ किलोमिटर ट्र्याक निर्माण भएको छ ।

यसैगरी दार्चुला–टिङ्कर सडक आयोजना ७९ किलोमिटर ०८०/०८१ को अन्त्यसम्म कुल १३.४ किलोमिटर नयाँ ट्र्याक निर्माण र २ किलोमिटर ट्र्याक स्तरोन्नति भएको थियो । ०८१/०८२ को चैत मसान्तसम्म १.८ किलोमिटर नयाँ ट्र्याक निर्माण र १.२ किलोमिटर ट्र्याक स्तरोन्नति सम्पन्न भई कुल १५.२० किलोमिटर ट्र्याक निर्माण भएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा पनि नेपाली सेनाले काम गरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा नवलपरासी, दाङ र सिराहा जिल्लाका सामुदायिक वन (५६ हेक्टर क्षेत्रफल) मा तारबारसहित एक लाख ८०० बिरुवा रोपिएको थियो । साथै, कोशीटप्पु वन्यजन्तु आरक्षमा १०० मिटर तटबन्ध निर्माण, सुनसरीको बर्जु ताल संरक्षण तथा व्यवस्थापन कार्यसम्पन्न भएको थियो । 

आर्थिक वर्ष ०८१/८२ मा सिन्धुली, सिराहा, दाङ र नवलपरासी जिल्लाका सामुदायिक वन (६९ हेक्टर क्षेत्रफल) मा तारबारसहित वृक्षारोपण तथा २ वटा ताल तलैया संरक्षण तथा व्यवस्थापनको लागि ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप