देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
काठमाडौँ । नेपाली कांग्रेसको गत शुक्रबार बसेको पदाधिकारी बैठकमा सहमहामन्त्री जीवन परियारले पार्टीको भ्रातृसंस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माबारे गुनासो गरे । संघका अध्यक्ष विश्वकर्माले आफूलाई नटेरेको परियारको गुनासो थियो ।
सहमहामन्त्री परियार पार्टीले दलित संघको महाधिवेशन गर्न बनाएको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’का संयोजक हुन् । पार्टीका केन्द्रीय सदस्यद्वय लक्ष्मी परियार र शान्ति विक सदस्य रहेको निर्देशन समितिले पटक–पटक बोलाएको बैठकमा संघका अध्यक्ष विश्वकर्मा नआएको परियारले बताए ।
‘पार्टीले मलाई दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक बनाएको छ । निर्देशन समितिले महाधिवेशनबारे छलफल गरौँ भनेर पटक–पटक बैठकमा बोलाउँदा अध्यक्षजी आउनुहुन्न,’ परियारले बैठकमा सभापति शेरबहादुर देउवासँग गरेको गुनासो उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘अब कसरी महाधिवेशनको वातावरण निर्माण गर्ने ? कसरी प्रक्रिया अगाडि बढाउने ?’
स्रोतका अनुसार सहमहामन्त्री परियारको यस्तो गुनासोपछि सभापति देउवाले ‘दलित संघको अध्यक्षलाई अबको बैठकमा उपस्थित हुन भनौँला’ भनेका थिए ।
‘तपाईं निर्देशन समितिले बोलाएको बैठकमा अनुपस्थित भएकोबारे पार्टी पदाधिकारी बैठकमा गुनासो आएछ नि’ भन्ने प्रश्नमा दलित संघका अध्यक्ष विश्वकर्माले रातोपाटीसँग भने, ‘म डेढ महिनादेखि अलि बिरामी थिएँ । त्यसैले निर्देशन समितिको बैठकमा अनुपस्थित भएको सत्य हो । म अनुपस्थित भए पनि प्रतिनिधि त पठाएको थिएँ ।’
संघको कार्यसमिति सदस्य मञ्जित ताम्राकारलाई प्रतिनिधिका रूपमा पठाएकाले निर्देशन समितिका संयोजक सहमहामन्त्री परियारले पदाधिकारी बैठकमा गुनासो गर्नु उपयुक्त नभएको विश्वकर्माको भनाइ थियो । ‘म उपस्थित नभए पनि मैले निर्देशन समितिका सबै बैठकमा प्रतिनिधि पठाएको छु । निर्देशन समितिले त यो काम गर्नुप¥यो भन्ने निर्देशन दिने हो । त्यो गर्न निर्देशन समितिले नसकेकै हो । अहिले गुनासो गर्नुको के अर्थ रह्यो र ?’
कांग्रेसभित्रको गुटगत समीकरणमा निर्देशन समितिका संयोजक र अध्यक्ष फरक–फरक गुटका भएकाले समस्या भएको देखिन्छ । परियार १४ औँ महाधिवेशनमा कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट उम्मेदवार भएर सहमहामन्त्रीमा निर्वाचित भएका थिए । दलित संघ अध्यक्ष विश्वकर्मा भने सभापति देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन् ।
निर्देशन समिति र दलित संघको तदर्थ समितिमा देखिएको विवादबारे जानकारी लिन खोज्दा सहमहामन्त्री परियार सम्पर्कमा आउन चाहेनन् ।
निर्देशन समितिकी सदस्य लक्ष्मी परियार भने निर्देशन समितिले बोलाएको बैठकलाई दलित संघ अध्यक्ष विश्वकर्माले बेवास्ता गरेकाले समस्या देखिएको बताउँछिन् । ‘हामीले महाधिवेशनबारे छलफल गर्न भनेर पटक–पटक बैठक बोलायौँ । अध्यक्षज्यू आउनु भएन,’ निर्देशन समिति सदस्य परियारले रातोपाटीसँग भनिन्, ‘कहिले बिरामी छु भनेर टार्नुभयो । कहिले बाहिर छु भनेर टार्नुभयो । बैठकमा उपस्थित हुन मञ्जित ताम्राकारलाई तोकेर पठाउनु भएको थियो । मञ्जितले बैठक बसेर निर्णय गरौँ भन्दा सही गर्न नमानेपछि पार्टीले दिएको समयमा काम गर्न सकिएन ।’
कांग्रेसले दलित संघलाई महाधिवेशन गर्न दिएको समय गत चैत मसान्तमा सकिएको छ । त्यसपछि पार्टीले विश्वकर्मा नेतृत्वको तदर्थ समितिको म्याद थपेको पनि छैन र खारेज पनि गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण