मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू

सोमबार, २९ वैशाख २०८२, २१ : ११
सोमबार, २९ वैशाख २०८२

मकवानपुर । भीमफेदीस्थित कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरू भएको छ । बिग्रिएको एउटा युनिट मर्मतपछि कुलेखानी तेस्रो जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । 

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना १४ दिनपछि सोमबारबाट पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । १५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मतकार्य सकिएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए ।

एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो । प्रमुख ताम्राकारका अनुसार युनिट मर्मतको क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने जस्ता काम गरिएको हो । 

मर्मतकार्यमा चिनियाँ तीन प्राविधिकसहित नेपाली १८ प्राविधिकको टोली संलग्न रहेको उनले बताए । ‘आयोजनाको एउटा युनिट बन्द हुँदा ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । मर्मतपछि भने दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने ।

देशको एक मात्र जलाशययुक्त इन्द्रसरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीन वटा केन्द्रमा सञ्चालनमा रहेको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट, र तेस्रो १४ मेगावाट क्षमताका छन् । 

विद्युत् प्राधिकरणको ब्याकअपको रूपमा रहेको कुलेखानी जलाशयमा दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घटिरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

उनका अनुसार सोमबार अपराह्न जलाशयमा पानीको सतह १ हजार ५५६ सेन्टिमिटर रहेको छ । जलाशयमा अधिकतम १ हजार ५३० मिटर उचाइसम्म पानी अट्न सक्ने क्षमता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप