डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
मङ्गलबार, ३० वैशाख २०८२, १७ : ४१

डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित बिक सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटतिर झोलुङ्गे पुल नजिक नुहाउने क्रममा बालक नदीमा बगेर वेपत्ता भएका हुन् ।
उनी रमेश बिकका छोरा हुन्। घटना जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको कमान्डमा ७ जनाको प्रहरी टोली खटिएको र हाल तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
हरेक वर्ष सावधानीको अभावमा सेती नदीमा मानिसहरू बगेर ज्यान गुमाउने घटनाहरू दोहोरिरहने गरेका छन्। स्थानीय प्रशासनले नदी आसपास सचेत रहन आग्रह गरेको छ ।