परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएकाे दूतावासले जनाएको छ ।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए । सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो ।
मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो ।
मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए ।
उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण