शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : खेलकुदमा डोपिङको समस्या

चेतना अभावले गम्भीर बन्दै ‘डोपिङ’ समस्या, न नीति छ, न पर्याप्त बजेट

प्रेमीसँगको यौन सम्पर्कले समस्या निम्तिएको दृष्टान्त
शुक्रबार, ०२ जेठ २०८२, १० : ०२
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाकी भर्जिनिया फुच्स डोपिङमा असफल भएपछि उनलाई ४ वर्षको प्रतिबन्ध लाग्यो, तर अनुसन्धानले उनी निर्दोष साबित भइन्।
  • बेल्जियमका खेलाडीले प्रयोग गरेको घोडामा प्रतिबन्धित औषधि भेटिएपछि टोली अयोग्य ठहरियो भने साइक्लिङमा एक खेलाडीले मेकानिकल डोपिङ गरेको पाइयो।
  • नेपालमा डोपिङसम्बन्धी नीति र बजेटको अभाव रहेको र राष्ट्रिय खेलकुदमा डोपिङ परीक्षणको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन।

अमेरिकाकी चर्चित महिला मुक्केबाज हुन्, भर्जिनिया फुच्स । उनले ओलम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गरेकी छन् । विश्व च्याम्पियनसिप, पान अमेरिकन खेलकुदजस्ता विभिन्न ठुला प्रतियोगितामा उनले पदक पनि जितेकी छन् । 

तर, सन् २०२० मा एक प्रतियोगिताका क्रममा डोपिङ परीक्षणमा उनी असफल भइन् । उनको शरीरमा प्रतिबन्धित औषधिको अंश भेटियो । तर शरीरमा फेला परेको प्रतिबन्धित औषधिको मात्रा भने निकै कम थियो । 

नतिजा पोजेटिभ आएपछि उनी प्रतिबन्धमा परिन् । उनीमाथि चार वर्ष कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लाग्यो । उनले भने आफूले प्रतिबन्धित औषधि सेवन नगरेको दाबी पटक–पटक गरिरहिन् । 

r20819_1296x729_16-9

आफू निर्दोष रहेको दाबीसहित उनले प्रतिबन्धविरुद्ध पुनरावेदन गरिन् । वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले प्रतिबन्ध लगाइएको कुनै पनि औषधि आफूले सेवन नगरेको उनको दाबी थियो । पछि अनुसन्धान हुँदै जाँदा एउटा गजबको तथ्य फेला पर्‍यो । 

वास्तवमै उनले प्रतिबन्धित औषधि सेवन गरेकी थिइनन् । तर कसरी उनको परीक्षणको नतिजा पोजेटिभ आयो त ? यसको जवाफ निकै रोचक छ । खासमा, डोपिङ परीक्षणका लागि नमुना दिनुअघि भर्जिनियाले आफ्ना प्रेमीसँग शारीरिक सम्पर्क राखेकी थिइन् । 

भर्जिनियाका प्रेमीले वाडाद्वारा प्रतिबन्ध लगाइएको औषधि सेवन गर्ने गरेका थिए । तर, त्यो कुरा भर्जिनियालाई थाहा थिएन । शारीरिक सम्पर्कका क्रममा बीर्यमार्फत भर्जिनियाको प्रेमीबाट त्यो प्रतिबन्धित औषधिको अंश उनको शरीरमा पुगेको थियो ।

यसरी उनको डोपिङ परीक्षणको नतिजा पोजेटिभ देखिएको थियो । अनुसन्धानका क्रममा यस्तो अनौठो तथ्य फेला परेपछि अमेरिकी एन्टी डोपिङ एजेन्सीले ३२ वर्षीया भर्जिनियालाई निर्दोष सावित गर्दै उनीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । 

  • जनावरलाई समेत प्रतिबन्धित औषधिको आदी बनाइयो

सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना भएको थियो । पेरिस ओलम्पिकमा घोडचढीको स्पर्धा पनि समावेश गरिएको थियो । घोडचढीको टिम स्पर्धामा बेल्जियम चौथो भएको थियो । 

तर, प्रतियोगिताका क्रममा बेल्जियमका खेलाडीले प्रयोग गरेको घोडाको शरीरमा प्रतिबन्धित औषधिको मात्रा भेटिएपछि बेल्जियमको टोलीलाई अयोग्य घोषित गरिएको थियो । परीक्षणका क्रममा बेल्जियमका खेलाडी टाइन म्याग्नसले प्रयोग गरेको घोडाको रगतमा ट्राजोडोनको अंश फेला परेको थियो । 

Horse-disqualification

त्यसपछि म्याग्नस र उनको घोडा डियालाई दुई महिनासम्म कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइयो । ३२ वर्षीया म्याग्नसले भने आफूले घोडालाई कहिल्यै पनि प्रतिबन्धित औषधि सेवन नगराएको दाबी गरेकी थिइन् । 

उनको घोडा १० वर्ष उमेरको थियो । प्रतिबन्धित औषधि डियाको शरीरमा कसरी पुग्यो भन्ने विषयमा आफू अनिभज्ञ रहेको उनले बताएकी थिइन् । आफू र आफ्नो घोडामाथि लगाइएको प्रतिबन्धविरुद्ध उनले पुनरावेदन गरेकी थिइन् । 

  • ठगीको त्यो रूपले जब विश्व खेलकुदलाई नै स्तब्ध बनायो

सन् २०१६ को प्रारम्भमै एउटा अचम्मको घटनाले विश्व खेलकुदलाई तरंगित बनायो । साइक्लिङको चर्चित प्रतियोगिता ‘साइक्लो–क्रस वर्ल्ड च्याम्पियनसिप’ मा बेल्जियमकी खेलाडी फेम्की भान डेन ड्रिएस्च डोपिङमा परिन् । 

तर, उनी आफैले भने प्रतिबन्धित औषधि सेवन गरेकी थिइनन् । जनवरी आयोजित उक्त प्रतियोगितामा उनले आफूले प्रयोग गरेको साइकलमा नियमविपरीत यन्त्र जडान गरेर ठगी गरेकी थिइन् । उनले प्रयोग गरेको साइकलमा गोप्य तरिकाले विद्युतीय मोटर जडान गरिएको तथ्य फेला परेको थियो । 

Femke-Van-den-Driessche-Cor-vos

विश्व खेलकुदमा औपचारिक रूपमा फेला परेको ‘मेकानिकल डोपिङ’ यो पहिलो घटना थियो । त्यसपछि १९ वर्षीया बेल्जियन खेलाडीमाथि ६ वर्षको प्रतिबन्ध लगाइएयो । भान डेन ड्रिएस्चमाथि २० हजार स्विस फ्राँक जरिवाना पनि लगाइएको थियो । 

युरोपेली यू–२३ च्याम्पियनसमेत रहेकी भान डेन ड्रिएस्चले त्यो समयसम्म जितेको सबै पदक फिर्ता लिने निर्णय पनि इन्टरनेसनल साइक्लिङ युनियन (यूसीआई)ले गरेको थियो । मेकानिकल डोपिङको यो घटनाले विश्व खेलकुदलाई आश्चर्यमा पारेको थियो । 

  • महान् फुटबलर म्याराडोनाले त विश्वकप नै गुमाए

विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक हुन्, अर्जेन्टिनाका डिएगो म्याराडोना । आफ्नो सक्रिय खेलजीवनमा यी महान् फुटबलर तीनपटक डोपिङ परीक्षणमा असफल भए । एकपटक त प्रतिबन्धित औषधि सेवन गरेका कारण उनले विश्वकपसमेत गुमाउनुपर्‍यो । 

argentine-footballer-maradona-at-the-1994-worldcup-after-v0-dps3i2nlf79d1

उनी सन् १९९१ मा इटालियन क्लब नापोलीबाट खेल्दा पहिलो पटक डोपिङ परीक्षणमा असफल भए । कोकिन सेवन गरेको आरोपमा त्यतिवेला उनीमाथि १५ महिनाको प्रतिबन्ध लाग्यो । त्यसपछि डोपिङ परीक्षणमा असफल भएकै कारण उनले सन् १९९४ को फिफा विश्वकप गुमाए । 

सन् १९९७ मा उनी तेस्रो पटक डोपिङ परीक्षणमा असफल भए । त्यतिवेला उनी बोका जुनियर्सबाट खेल्थे । अर्जेन्टिनालाई विश्वकप जिताउने कप्तान म्याराडोनाले आफ्नो जीवनमा चाहेजति सबै मान, सम्मान र सफलताको स्वाद चाखे तर, प्रतिबन्धित औषधि सेवनको दाग उनको जीवनमा सबैभन्दा ठुलो कलंक बनेर टाँसिन पुग्यो । 

  • कसैले मृत्युवरण गरे, कोही कारागारमा थुनिए

म्याराडोना मात्र होइन, प्रतिबन्धित लागुऔषध सेवनका कारण विश्व खेलकुदका थुप्रै महान् हस्तीको खेलजीवन ध्वस्त बनेको पर्याप्त उदाहरण छन् । चर्चित प्रशिक्षकका रूपमा उदाउनुअघि फुटबलका पेप ग्वार्डिओला पनि डोपिङ परीक्षणमा असफल भएका थिए । फुटबलकै रियो फर्डिनान्डको खेलजीवनमा पनि यो दाग लागेको थियो । 

प्रतिबन्धित लागुऔषध सेवनकै कारण विश्व चर्चित साइक्लिष्ट टम सिम्पसनको टुर डे फ्रान्स स्पर्धाकै क्रममा निधन भएको थियो भने अर्का प्रभावशाली साइक्लिस्ट लान्स आर्मस्ट्रोङले पनि टुर डे फ्रान्समा जितेको पदक गुमाउनुपरेको थियो ।  

YJPARMSTRONG1-superJumbo

एथलेटिक्सका महान् खेलाडी बेन जोन्सनले पनि डोपिङमा असफल भएपछि आफूले जीवनभर कमाएको मान, सम्मान र उपलब्धि गुमाउनुपरेको थियो । कुनै समय विश्व एथलेटिक्सकी ‘रानी’ भनेर चिनिने मारियोन जोन्सले त प्रतिबन्धित औषधि सेवनकै कारण जेल जीवनसमेत बिताउनुपर्‍यो । उनले ओलम्पिकमा जितेको पदक गुमाउनुपरेको थियो । 

यसैगरी, कुनै समयकी करोडौँ खेलकुदप्रेमीको मुटुकी धड्कन रुसी टेनिस सुन्दरी मारिया सारापोभा, चर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्न, प्रभावशाली अमेरिकी स्प्रिन्टर टाइसन गे, स्विस टेनिस सुन्दरी मार्टिना हिंगिस, आठ पटकका ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज माइकल फ्लेप्स, टेनिसका प्रभावशाली खेलाडी आन्द्रे आगासीलगायत विश्व खेलकुदका थुप्रै चर्चित हस्तीले डोपिङ परीक्षणमा असफल भएकै कारण लज्जास्पद स्थितिको सामना गर्नुपरेको थियो ।

  • विश्व खेलकुदको भयावह र अन्त्यहीन समस्या 

विश्व खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोग पछिल्लो समय अन्त्यहीन समस्याका रूपमा देखापरिरहेको छ । विश्वका कुनै पनि राष्ट्र र कुनै पनि खेल यो समस्याबाट मुक्त छैनन् । विज्ञान र प्रविधिको द्रुततर विकाससँगै प्रतिबन्धित लागुऔषध प्रयोग गर्ने तरिका झनै जटिल बन्दै गएको छ ।

झट्ट हेर्दा खेलकुदमा यस्ता औषधको प्रयोग मात्र डोपिङ परिधिभित्र पर्ने विषयझैँ लाग्छ । यथार्थमा डोपिङको परिभाषा निकै भेग छ । 

खेल मैदानमा दुई पक्ष वा दुई टोलीबिच हुने स्वच्छ भिडन्त विश्व खेलकुदको सबैभन्दा सुन्दर पक्ष हो । तर, पछिल्लो समय विश्व खेलकुदवृत्तमा जसरी पनि प्रतिस्पर्धा जित्नुपर्छ भन्ने मान्यता हाबी हुँदै गएको छ । यसका विभिन्न कारण छन् । त्यसमध्ये खेलकुदमा सफलता हात पारेसँगै जोडिन आउने पदक, प्रतिष्ठा र पैसा सबैभन्दा ठुलो कारकका रूपमा रहेको देखिन्छ । 

18

त्यसैले पछिल्लो समय विश्व खेलकुद कभर्डहल वा रंगशालामा दुई पक्षबिच हुने स्वच्छ भिडन्तमा मात्र सीमित रहेन । जसरी पनि खेल जित्नैपर्छ भन्ने मान्यता हाबी भएपछि ठगी, जालझेल र अस्वस्थ्य प्रतिस्पर्धा विश्व खेलकुदको पर्याय बन्न पुगेको छ । 

माथिका उदाहरणले पनि विश्व खेलकुदमा प्रतिबन्धित लागुऔषध प्रयोगको भयावहको अवस्था दर्शाउँछ । खेलाडी आफै, सम्बन्धित राष्ट्र, प्रशिक्षक, खेल पदाधिकारी, अभिभावक र साथीभाइ डोपिङसँग जोडिएका पक्ष हुन् । विश्व खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोग बढ्नुमा सामान्यतः यिनै पक्षको सक्रियता रहने गरेको देखिन्छ ।

  • सोचेभन्दा बृहत् छ डोपिङको परिधि

इतिहासको कुनै कालखण्डमा प्रतिबन्धित औषधिको सेवन मात्र डोपिङको परिभाषाभित्र पथ्र्यो । तर, बदलिँदो परिवेशसँगै वर्तमान समयमा प्रतियोगिता जित्ने उद्देश्यले खेलाडी वा तीनका सहयोगीद्वारा प्रयोगमा ल्याइने हरेक प्रकारका गलत गतिविधिलाई डोपिङको परिभाषाले समेटन भ्याएको छ । 

त्यसैले अहिले डोपिङको परिभाषा निकै फराकिलो छ । ह्युमन डोपिङसँगै एनिमल डोपिङ, मेकानिकल डोपिङ, जिन डोपिङजस्ता बहृत् परिधिलाई यसले आफ्नो परिभाषाभित्र समेटन भ्याएको छ । यसबाहेक पनि थुप्रै पक्षलाई डोपिङको परिभाषाले समेटेको छ । 

समान स्तरका दुई व्यक्ति वा टोलीबिच केवल आफ्नो वास्तविक क्षमताको प्रयोग गरेर हुने प्रतिस्पर्धा नै विश्व खेलकुदको मर्म हो । जब दुई समान स्तरका व्यक्ति वा टोलीमध्ये कुनै एक पक्षले जसरी भए पनि प्रतियोगिता जित्न तेस्रो पक्ष (भौतिक, रासायनिक, यान्त्रिकलगायत) को सहायता लिन्छ भने त्यो गैरकानुनी ठहर्न पुग्छ । 

  • वर्ल्ड एन्टी डोपिङ एजेन्सी स्थापना

जालझेल र ठगीको प्रवृत्ति बढ्दै गएपछि विश्व खेलकुदलाई निष्पक्ष र निष्कलंक बनाउने उद्देश्यले सन् १९९९ को नोभेम्बर १० तारिखमा वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को स्थापना भएको हो । स्विट्जरल्यान्डको लाउसानेमा ‘लाउसाने घोषणापत्र’ जारी हुँदा विश्वका एक सय ४० राष्ट्रका प्रतिनिधिहरू त्यसको साक्षी थिए । 

वाडाले संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)द्वारा जारी ‘खेलकुदमा डोपिङविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धि’ को मान्यतामा आधारित रहेर आफ्ना गतिविधि बढाउँदै आएको छ । वाडाको मुख्यालय क्यानडाको मोन्ट्रियलमा रहेको छ । 

08dc-doping-chlj-videoSixteenByNine3000

वाडाले आफूमातहत क्षेत्रीय र राष्ट्रिय संघहरूसँग मिलेर खेलकुदलाई प्रतिबन्धित औषधिको प्रकोपबाट मुक्त राख्न सक्दो प्रयास गर्दै आएको छ । वाडाको क्षेत्रीय निकायका रूपमा रिजनल एन्टी–डोपिङ अर्गनाइजेसन (राडो) र सम्बन्धित राष्ट्रहरूमा नेसनल एन्टी–डोपिङ अर्गनाइजेसन (नाडो) ले सक्रियतापूर्वक काम गरिरहेका हुन्छन् ।

यसका अतिरिक्त विश्वका ६ सय ५० भन्दा बढी खेलकुद संघ–संगठनहरूसँगको सहकार्यमा वाडाले आफ्नो गतिविधि सञ्चालन गरिरहेको हुन्छ । वाडाका गतिविधिहरूमा विभिन्न खेलका अन्तर्राष्ट्रिय महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीलगायत संघ–संस्थाहरूले पनि सहयोग पुर्‍याइरहेका हुन्छन् ।

  • नेपालको संसद्ले पारित गरेको छ प्रतिबद्धता

नेपाल सन् १९५३ मा युनेस्कोको सदस्य भएको हो । तर, नेपालमा डोपिङसम्बन्धी गतिविधिहरू धेरै पछि मात्र सुरु भएको हो । युनेस्कोको सदस्य भएको ५७ वर्षपछि मात्र नेपालले खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोगविरुद्ध कन्भेन्सनमा हस्ताक्षर गर्‍यो ।

नेपालले सन् २०१० को जुन १५ मा आएर मात्र युनेस्कोको खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोगविरुद्ध कन्भेन्सनमा हस्ताक्षर गरेको हो । नेपालको संसद्ले पनि यो कन्भेन्सनलाई पालना गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर, नेपालमा डोपिङसम्बन्धी खासै गतिविधि भएको पाइँदैन । वेला–बखत सामान्य गतिविधि र कार्यक्रम मात्र आयोजना हुने गरेका छन् । 

  • नीति पनि छैन, बजेट पनि ‘फ्रिज’

राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संयोजक डा. असिम भण्डारी नेपालमा हालसम्म एन्टीडोपिङसम्बन्धी नीति बन्न नसकेको बताउँछन् । प्रतिबन्धित औषधिको सेवनले खेलाडीको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यसको रोकथाम सबैको सामूहिक दायित्व भएको उनले बताए । 

प्रतिबन्धित औषधि प्रयोगका हिसाबले नेपाली खेलकुद निकै जोखिमपूर्ण अवस्थामा रहेको डा. असिमको अनुभव छ । ‘पक्कै पनि नेपाली खेलकुद जोखिममा छ । तर, पछिल्लो समय थोरै भए पनि काम अगाडि बढेको छ । युवा तथा खेलकुदमन्त्री र सचिवज्यू यस विषयमा संवेदनशील देखिनुभएको छ,’ उनी भन्छन् । 

डा. असिमका अनुसार अहिले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको कार्यालय त स्थापना गरिएको छ, तर त्यहाँ कर्मचारी भने छैनन् । ‘मन्त्रीज्यूले आफ्नो सचिवालयका एक कर्मचारीलाई यहाँ खटाउनुभएको छ,’ उनी भन्छन् ।  

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको जोखिमबाट मुक्त राख्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउँछन् । तर कानुनी समस्याका कारण विनियोजित बजेट भने खर्च हुन नसकेको पनि बताउँछन् । 

‘सरकारले यो आर्थिक वर्षका लागि पनि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, कानुनी समस्याका कारण त्यो रकम पनि खर्च हुन सकेको छैन । हासम्म नियमावलीसम्म बन्न सकेको छैन,’ युवा तथा खेलकुद मन्त्रालयमा हालै आयोजित ‘खेलकुदमा प्रतिबन्धित औषधि एवम् विधिविरुद्धको अन्तरक्रिया’मा मन्त्री चौधरीले भनेका थिए । 

मन्त्री चौधरीले आफ्नो कार्यकालमा नेसनल एन्टी डोपिङ एजेन्सी (एनएडीए) को स्थायी कार्यालय स्थापनादेखि विभिन्न विषयमा केही गतिलो काम भएको दाबी गरे । ‘काम फिटिक्कै नभएको होइन । छोटो अवधिमा पनि केही गतिला काम भएका छन् । नाडाको स्थायी कार्यालयन स्थापना भएको छ । आगामी दिनमा पनि आवश्यक बजेट र दक्ष कर्मचारीको अभाव हुन दिइने छैन,’ उनी भन्छन् ।

राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संयोजक डा. असिम पनि कानुनको अभावमा चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च हुन नसकेको स्विकार्छन् । ‘बजेट छ तर, खर्च गर्ने बाटो छैन । आशा गरौँ, छिट्टै यो समस्या समाधान हुनेछ,’ उनी भन्छन् । 

  • एउटै होइन प्रतिबन्धित लागुऔषध र प्रतिबन्धित औषधि 

धेरैलाई लाग्न सक्छ, प्रतिबन्धित लागुऔषध र खेलकुदमा प्रतिबन्ध लगाइएका औषधिहरू एउटै हुन् । डा. असिमका अनुसार यो बुझाइ गलत हो । सबै प्रतिबन्धित लागुऔषध वाडाको सूचीमा पनि प्रतिबन्धित नै हुन्छन् ।  

तर खेलकुदमा सक्रिय व्यक्तिहरूले प्रयोग गर्न नहुने औषधिको सूची त्योभन्दा निकै लामो छ । ‘हामीले दैनिक जीवनमा प्रयोग गर्ने थुप्रै औषधि वाडाद्वारा जारी प्रतिबन्धित औषधिको सूचीमा पर्छन् । हामीले नियमित रूपमा प्रयोग गर्ने सामान्य रुघाखोकीका औषधिहरू पनि वाडाको सूचीमा प्रतिबन्धमा परेका हुन सक्छन्,’ उनी थप्छन् । 

त्यसैले खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिले स्वास्थ्यसम्बन्धी समस्या भएमा डोपिङको राम्रो ज्ञान भएको चिकित्सकसँग सम्पर्क गर्नु नै उपयुक्त हुन्छ । ‘चिकित्सकहरू आ–आफ्नो क्षेत्रका विज्ञ हुन्छन् । सबै चिकित्सकलाई डोपिङको जानकारी नहुन सक्छ । त्यसैले खेलाडीले डोपिङको राम्रो ज्ञान भएका चिकित्सकसँग सल्लाह गरेर मात्र औषधि सेवन गर्नु आवश्यक हुन्छ,’ उनको कथन छ ।

वर्ल्ड एन्टी–डोपिङ एजेन्सीले प्रत्येक वर्ष जनवरीमा खेलाडीहरूले प्रयोग गर्न नहुने औषधिहरूको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसैले खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरू यस विषयमा जानकार हुनु आवश्यक छ । 

डा. असिमका अनुसार, प्रतिबन्धित औषधिको सेवनले प्रतियोगिताको नतिजामा मात्र असर पार्ने होइन, यस्ता औषधिको अत्यधिक सेवनले खेलाडीको स्वास्थ्यमा समेत गम्भीर असर पार्छ । यस्ता औषधिले खेलाडीको जीवनमै समाप्त पार्न सक्छ ।  

  • किन सार्वजनिक गरिएन नवौँको नतिजा ?

राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करण २०७९ साल असोज–कात्तिकमा गण्डकी प्रदेशमा आयोजना भएको थियो । प्रतियोगिता क्रममा विभिन्न खेलका ४० जना खेलाडीको डोपिङ परीक्षण गरिएको थियो ।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक खेलाडीको डोपिङ परीक्षण गरिएको हो । खेलाडीबाट संकलन गरिएको नमुना परीक्षणका लागि कतार पठाइएको थियो । तर, प्रतियोगिता सम्पन्न भएको करिब तीन वर्ष भइसक्दा पनि त्यसको नतिजा भने सार्वजनिक गरिएको छैन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का एक अधिकारीका अनुसार नवौँ राष्ट्रिय खेलकुदका क्रममा विभिन्न खेलाडीबाट संकलन गरिएको नमुनामध्ये केहीको ‘पोजेटिभ’ नतिजा आएको छ । त्यसैले हालसम्म नतिजा सार्वजनिक नगरिएको हो ।

‘खेलाडीले जानेर प्रतिबन्धित औषधि नखाएको हुन सक्छ । तर केही खेलाडीको नतिजा पोजेटिभ आएको छ । जेसुकै भए पनि नतिजा सार्वजनिक गर्नुपथ्र्यो । लुकाउने प्रवृत्तिले यो समस्या झनै बढ्छ । नेपाली खेलकुदमा पनि डोपिङको समस्या विकराल छ,’ ती अधिकारी भन्छन् । 

यसअघि पनि नेपाली खेलकुदले डोपिङको नमिठो पिडा भोगिसकेको छ । एक चर्चित एथलेटिक्स खेलाडी डोपिङमा असफल भएपछि त्यसले अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएको थियो । ती खेलाडी लामो समय प्रतिबन्धमा पनि परेका थिए । यसैगरी एकै पटक पाँच जना भारोत्तोलन खेलाडी पनि डोपिङ परीक्षणमा असफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप