शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको जोखिमबाट टाढा राख्ने काम हुँदैछ

शुक्रबार, ०२ जेठ २०८२, ०९ : ३४
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • नेपाली खेलकुदमा डोपिङको समस्या बढ्दै गएको छ, खेलाडी र पदाधिकारीमा चेतनाको कमी रहेको छ।
  • मन्त्रीले डोपिङ नियन्त्रणलाई प्राथमिकतामा राख्दै एन्टी-डोपिङ एजेन्सीको कार्यालय स्थापना गरे, तर कानुनी समस्या र बजेट अभाव छन्।
  • केही भारोत्तोलन खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि मन्त्रीले यस विषयमा कानुन बनाउने र स्थायी संरचना तयार पार्ने काम अघि बढाए।

नेपाल खेलकुदको अन्तर्राष्ट्रिय दायरा फराकिलो हुँदै गएको छ । हाम्रा खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता हात पारिरहेका छन् । यस्तो स्थितिमा नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट मुक्त राख्न हामीले ठोस कदम चाल्नु आवश्यक थियो ।

तर, नेपाली खेलकुदमा डोपिङको विषयमा खासै चर्चा हुने गरेको थिएन । खेलाडी र खेल पदाधिकारीमा समेत डोपिङसम्बन्धी चेतना अभाव थियो । त्यसैले युवा तथा खेलकुदमन्त्री भएर आएपछि मैले यो विषयलाई आफ्नो प्राथमिकतामा पारेको हुँ ।

डोपिङको विषय निकै गहन रहेछ । यो वर्तमान विश्व खेलकुदकै सबैभन्दा ठुलो समस्या पनि हो । विभिन्न रोगको उपचारका क्रममा सामान्य औषधि खाए पनि खेलाडीहरू डोपिङमा पर्ने अवस्था रहेछ । सामान्यतः प्रतिबन्धित लागुऔषध मात्र डोपिङ हो भन्ने आम बुझाइ छ ।

तर वर्ल्ड एन्टी–डोपिङ एजेन्सीको सूचीमा परेका विभिन्न रोगका औषधि सेवन गर्दा पनि खेलाडी डोपिङमा पर्ने खतरा रहेछ । त्यसैले मैले नेपाली खेलकुदमा पनि डोपिङको विषयमा गहन अध्ययन र अनुसन्धान हुनु आवश्यक देखेँ ।

त्यसमाथि म मन्त्री भएर आएको केही समयपछि नै हाम्रा केही भारोत्तोलन खेलाडी डोपिङ परीक्षणमा असफल भएका थिए । यसले हाम्रा खेलाडीको भविष्य त अन्धकार बनाउँछ नै, सँगै अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा पनि गिराउँछ ।

नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको जोखिमबाट मुक्त राख्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक छ । कानुनी समस्याका कारण विनियोजन गरिएको रकमसमेत खर्च हुन नसकेको अवस्था पनि छ । हालसम्म नियमावलीसम्म बन्न सकेको छैन । 

त्यसैले यस विषयमा कानुन बनाउने काम पनि भइरहेको छ । मेरै कार्यकालमा नेशनल एन्टी–डोपिङ एजेन्सीको स्थायी कार्यालय पनि स्थापना गरेको छु । तत्कालका लागि आफ्नै सचिवालयको कर्मचारी त्यहाँ खटाएको छु ।

छोटो अवधिमा पनि डोपिङ कन्ट्रोलको विषयमा केही गतिला काम भएका छन् । आगामी दिनमा थप बजेटको व्यवस्था गरिने छ । दक्ष कर्मचारीको अभाव हुन दिइने छैन । नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको जोखिमबाट टाढा राख्न स्थायी संरचना तयार पार्ने काम अघि बढिसकेको छ । 

केही समयअघि युवा तथा खेलकुद मन्त्रालयले ‘खेलकुदमा प्रतिबन्धित औषधि एवम् विधिविरुद्धको अन्तरक्रिया’ कार्यक्रम पनि आयोजना गरेका थियौँ । त्यो कार्यक्रममा खेलकुद संघका पदाधिकारीले सम्बन्धित विषयका विज्ञहरूसँग छलफल गर्नुभएको थियो । 

( युवा तथा खेलकुद मन्त्री चौधरीसँग गरिएको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजुलाल चौधरी
तेजुलाल चौधरी
लेखकबाट थप