नेपाली खेलकुदमा डोपिङसम्बन्धी चेतना अभाव छ
_K5oKZBEc8z.jpg)
समाचार सारांश
- नेपाली खेलकुदमा डोपिङको समस्या, खेलाडी र पदाधिकारीमा चेतनाको कमी रहेको पाइन्छ।
- प्रतिबन्धित औषधिको सेवनबारे खेलाडीलाई ज्ञान नहुँदा र चिकित्सकको ज्ञानको अभावले समस्या बढेको छ।
- एन्टी-डोपिङ परीक्षणमा खेलाडीहरूले असहयोग गर्ने र नियमको पालना नगर्ने प्रवृत्ति बढ्दो छ।
प्रतिबन्धित औषधिको सेवन नेपाली खेलकुदका लागि पनि चुनौतीको विषय बनेको छ । तर, नेपाली खेलकुदमा डोपिङको विषयमा निकै कम चर्चा हुन्छ । खेलाडीमात्र होइन, अधिकांश खेल पदाधिकारीलाई समेत डोपिङको बारेमा राम्रो ज्ञान छैन ।
बिरामी पर्दा खेलाडीले आफ्नै तरिकाले औषधि सेवन गर्छन् । हाम्रो समाजको चरित्र पनि फरक छ । बिरामी पर्दा सिधै मेडिकलमा गएर औषधि मागेर खान्छौँ । सामान्य व्यक्तिलाई यसले ठुलो असर नगरे पनि खेलाडीको हकमा भने यसले गम्भीर रूप लिन सक्छ ।
हामीले दैनिक जीवनमा प्रयोग गर्ने थुप्रै औषधि वाडाको सूचीमा प्रतिबन्धित रहेको हुनसक्छ । खेलाडीमा डोपिङसम्बन्धी चेतना पनि अभाव छ । हाम्रो देशमा जानेरभन्दा पनि अञ्जानमा धेरै खेलाडीको शरीरमा वाडाद्वारा प्रतिबन्धित औषधिको अंश प्रवेश गरेको हुन सक्छ ।
‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’ भन्ने नियम डोपिङमा पनि लागु हुन्छ । प्रतियोगिताअघि परीक्षण गर्दा खेलाडीको शरीरमा प्रतिबन्धित औषधिको मात्रा फेला परे त्यसको सजाय खेलाडीले भोग्नै पर्ने हुन्छ । कतिपय अवस्थामा राज्यसमेत भागीदार बन्नुपर्छ ।
‘मैले नजानेर यस्तो औषधि सेवन गरेको हुँ’ भनेर छुट पाउने अवस्था रहँदैन । चिकित्सकहरू पनि आ–आफ्नै क्षेत्रका विशेषज्ञ हुन्छन् । सबै चिकित्सकलाई डोपिङको ज्ञान हुँदैन । त्यसैले खेलाडी बिरामी परेर चिकित्सककहाँ जाँदा उहाँहरूले रोगलाई ध्यानमा राखेर औषधि दिनुहुन्छ ।
बिरामीलाई निको पार्ने औषधि दिनु नै चिकित्सकको कर्तव्य हो । तर बिरामीको उपचारमा प्रयोग हुने यस्ता सामान्य औषधि पनि वाडाको सूचीमा भने प्रतिबन्धित हुन सक्छन् । त्यसैले खेलाडीले बिरामी पर्दा डोपिङको राम्रो ज्ञान भएको चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।
तर हाम्रो देशमा डोपिङको राम्रो ज्ञान भएका चिकित्सकहरू निकै कम हुनुहुन्छ । त्यस्ता चार–पाँच जना चिकित्सकले देशैभरका खेलाडीलाई हेर्न सम्भव पनि हुँदैन । त्यसमाथि खेलाडी र खेल पदाधिकारीमा समेत डोपिङसम्बन्धी ज्ञान अभाव छ ।
अधिकांश खेलाडीले बिरामी पर्दा डोपिङको ज्ञान भएका चिकित्सकहरूसँग सम्पर्क गरेको मलाई थाहा छैन । भलिबल, क्रिकेट, ब्याडमिन्टन र रग्बीका केही खेलाडीले भने बिरामी पर्दा मलाई टेलिफोन सम्पर्क गर्नुभएको छ । डोपिङसम्बन्धी चेतना अभावकै कारण यस्तो भएको हो ।
अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिस्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, म र डा. शारदा हुमागाइँको नम्बर खेलाडीलाई उपलब्ध गराएका छौँ । थप जनशक्ति उत्पादन गर्न पनि सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।
पछिल्लो समय हामीले पूर्वखेलाडी र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई तालिम पनि दिँदै आएका छौँ । नियमित रूपमा प्रतियोगिता आयोजना गर्ने खेल संघहरूले डोपिङसम्बन्धी ज्ञान भएका चिकित्सक राख्न सके झनै राम्रो हुन्छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस्ता चिकित्सकहरू नियुक्त गर्नु आवश्यक छ ।
नेपालमा खेलकुद प्रतियोगिता आयोजना गर्दा डोपिङ परीक्षण गर्ने परम्परा पनि छैन । ठुला राष्ट्रिय प्रतियोगिताअघि केही खेलाडीको डोपिङ परीक्षण गर्ने र डोपिङसम्बन्धी चेतना फैलाउने कार्यक्रम आयोजना गर्न सके राम्रो हुन्छ ।
मोटर स्पोर्टस, किक बक्सिङ र रग्बीजस्ता केही खेल संघले भने यसको सुरुवात गरेका छन् । अधिकांश खेल संघसँग साधन–स्रोत अभाव छ । त्यसैले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यसमा पहल गर्नुपर्छ ।
हाम्रो देशमा डोपिङसम्बन्धी नीतिसमेत बन्न सकेको छैन । यससम्बन्धी कानुन पनि अभाव छ । कानुन अभावकै कारण राष्ट्रिय एन्टी–डोपिङ एजेन्सीका लागि छुट्याइएको बजेटसमेत खर्च हुन सकेको छैन । राष्ट्रिय एन्टी–डोपिङ एजेन्सीको स्थायी कार्यालय त स्थापना भएको छ तर, कर्मचारी छैनन् । समग्रमा अवस्था सन्तोषजनक छैन ।
खासगरी तीन प्रकारले खेलाडीले प्रतिबन्धित औषधि सेवन गर्ने गरेका छन् । धेरैजसो खेलाडीलाई यसबारे ज्ञान नै छैन । केही खेलाडीलाई डोपिङबारे ज्ञान त छ तर, जानेरै पनि शक्तिबर्द्धक औषधि प्रयोग गरिरहेका छन् । अर्कोतिर, तेस्रो पक्षको उक्साहटमा लागेर पनि केही खेलाडीले यस्ता औषधि प्रयोग गर्ने गरेका पाइएका छन् ।
जुन खेलमा पुरस्कार राशि र लोकप्रियता बढी हुन्छ, त्यस्ता खेलमा तुलनात्मक रूपमा बढी यस्ता औषधि प्रयोग हुन्छन् । यसका अतिरिक्त, बक्सिङ, भारोत्तोलन, एथलेटिक्सजस्ता बढी शारीरिक बल प्रयोग हुने खेलमा पनि प्रतिबन्धित शक्तिबर्द्धक औषधि बढी प्रयोग हुने गरेको पाइन्छ ।
दम रोगको औषधि, मुटुको चाल नियन्त्रण गर्ने औषधि र पिसाब धेरै लाग्ने औषधि (डाइयुरेटिक्स) प्रयोग गर्दा डोपिङमा पर्न सक्ने खतरा बढी हुन्छ । पिसाब धेरै लाग्ने औषधि त खेलाडीका लागि अभिशाप नै हो । यो औषधिले त अन्य प्रतिबन्धित औषधि खाएको भए त्यसको अवसरसमेत कम पार्ने काम गर्छ ।
त्यसैले पिसाब धेरै लाग्ने औषधि प्रयोग गर्दा सीधै डोपिङमा पर्न सक्ने खतरा हुन्छ । चर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्न पनि यही औषधिका कारण डोपिङमा असफल भएका हुन् । फेरि हामीले दैनिक जीवनमा उपभोग गर्ने कतिपय कुराले पनि खेलाडीलाई डोपिङ परीक्षणमा असफल पार्न सक्छ ।
‘प्राकृतिक रूपमा प्राप्त हुने सबै कुरा डोपिङमुक्त हुँदैनन्’ भन्ने सिद्धान्त नै छ । कतिपय अवस्थामा छ प्रतिबन्धित औषधि सेवन गर्ने खेलाडीभन्दा पनि यस्तो औषधि सेवन गर्न प्रोत्साहन गर्ने व्यक्तिलाई झनै बढी सजाय हुन्छ । डोपिङमा असफल भएर सजाय भोगिरहेका खेलाडीसँग नजिकिने र उनीहरूसँग अभ्यास गर्ने खेलाडीसमेत प्रतिबन्धमा पर्न सक्छन् । त्यसैले डोपिङ निकै गम्भीर विषय हो ।
- एन्टी–डोपिङ अफिसरलाई खेलाडीले हैरान पार्छन्
एन्टी–डोपिङ अफिसरका लागि अवस्था सहज हुँदैन । ठुला प्रतियोगिताअघि नमुना संकलन गर्ने क्रममा खेलाडीले हैरान पार्छन् । फसिने डरले खेलाडीहरू नमुना दिन आनाकानी गर्छन् । डोपिङ परीक्षणका लागि हामीलाई निश्चित मात्रामा खेलाडीको पिसाब चाहिन्छ ।
तर खेलाडीहरू एन्टी–डोपिङ अफिसरलाई देख्नासाथ तर्कन खोज्छन् । आफूलाई पिसाब आएकै छैन भनेर पन्छिन खोज्छन् । पिसाब आए पनि चाहिनेजति मात्रामा पिसाब फेर्दैनन् । एन्टी–डोपिङ असिफरको आँखा छलेर पिसाबमा अन्य कुरा मिसाइदिन्छन् ।
एन्टी–डोपिङ असिफरले खेलाडीलाई तत्काल पिसाब फेर्न बाध्य पनि पार्न सक्दैनन् । एन्टी–डोपिङ असिफरको पनि आफ्नो सीमा हुन्छ । यस्तै एउटा घटना नेपालमै आयोजित दक्षिण एसियाली खेलकुद (साग) मा पनि भएको थियो ।
एक जना विदेशी खेलाडीको नमुना संकलन गर्नुपर्ने भयो । तर ती खेलाडी नमुना दिनका लागि आफू तयार नभएको भन्दै पौडी पोखरीमा पसे । उनले आफूलाई तत्काल पिसाब नआएको बताए । लामो समय प्रतीक्षा गर्दा पनि ती खेलाडी पौडी पोखरीबाट निस्कन मानेनन् । त्यसबिच उनले पटक–पटक पौडी पोखरीमै पिसाब फेरे । एन्टी–डोपिङ असिफरसामु यस्ता थुप्रै चुनौती आउँछन् ।
(राष्ट्रिय एन्टि–डोपिङ एजेन्सीका संयोजक भण्डारीसँग गरिएको कुराकानीसँग आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी