बुटवलका प्रतिष्ठित व्यवसायीद्वय खरेल र खनालविरुद्ध राजस्व चुहावटको मुद्दा
बुटवल । बुटवलमा सवारी साधनका सामना (अटो पार्टस्)को कारोबार गर्दै आएका प्रतिष्ठित दुई व्यवसायीविरुद्ध राजस्व चुहावटको अभियोगमा बिहीबार मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४, नयाँमिलका दधिराम खरेलविरुद्ध राजस्व चुहावटको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको कार्यालय प्रमुख एवं प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले जानकारी दिए । खरेल पश्चिम नेपाल बस व्यावसायिक प्रालिका अध्यक्षसमेत हुन् ।
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान गर्दा खरेल र साझेदारविरुद्धको कसुर पत्ता लागेको जनाएको छ । उनीहरुले सञ्चालन गर्दै आएको शुभलक्ष्मी अटो लिङ्क प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले गाडीका महँगा पार्टस् राजस्व छली गरेर ल्याउने र बिक्रीवितरण गर्ने गरेको विभागको भनाइ छ ।
शुभलक्ष्मी अटो लिङ्क प्रालिको वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन तथा अनुसन्धान गर्दा राजस्व चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहितको बिगो ७२ लाख ११ हजार ३०० कायम गरी बिगो असुलउपर गरी बिगो बराबर जरिवानासहित एक करोड ४४ लाख २२ हजार ६०० मात्र असुलउपर गरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको विभागले जनाएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण