शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
संस्कार

विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति

शनिबार, ०३ जेठ २०८२, १९ : ३०
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • तराई मधेशमा चाडपर्व र विवाह खर्चिला हुँदै गएका छन्, जसले सामाजिक सद्भाव र मौलिकता गुमाएको छ।
  • विवाह र अन्य उत्सवमा देखासिकी र प्रतिस्पर्धा बढेको छ, जसले गर्दा मानिसहरू ऋण लिन बाध्य छन् र आर्थिक समस्यामा परेका छन्।
  • परम्परागत चलनहरू विकृत हुँदै गएका छन्, जसले गर्दा गरीब मानिसहरू झन् गरिब बन्दै गएका छन् र कतिपयले घरबार गुमाएका छन्।

तराई मधेसका पहिचान र विशेषता हुन्— कृषि र चाडपर्व तथा संस्कृति । दुर्गापूजा, होली, छठ, रक्षाबन्धन, भाइद्वितीया, चौरचन, घडीपवनी लगायत निकै यस्ता चाडपर्व तथा रीतिरिवाज छन् जसले तराई मधेशलाई विशेष पहिचान दिएका छन् । 

पछिल्लो समय यहाँ हरेक चाडपर्व तथा रीतिरिवाज यति खर्चिला तथा भड्किला भएका छन् कि कतिपयलाई लाग्न थाल्यो, चाडपर्व नै नआइदिए हुन्थ्यो । संस्कृतिकर्मी एवं मैथिल साहित्य परिषद्का पूर्वउपाध्यक्ष श्यामसुन्दर यादव भन्छन्, ‘संस्कृतिका नाममा विकृति सुरु भएको छ, सादी–विवाह तथा चाडपर्वमा अहिले सामाजिक सद्भाव र मौलिकता हराएको छ, तडकभडक मात्रै बढेको छ ।’

उनका अनुसार, चाडपर्वहरू तथा विवाह लगायत उत्सव तथा अनुष्ठानहरू अहिले देखावटी भएका छन् । तिनमा कसले कति खर्च गर्ने भनी प्रतिस्पर्धा मात्रै हुन्छ । महँगो लुगामा देखासिकी हुन्छ । फलानोको बिहेमा यति खर्च गर्‍यो, मैले पनि कम गर्न हुन्न भन्ने प्रतिस्पर्धी भावना लिएर खर्च गर्ने बढेका छन् । 

‘सप्तरीमा भएको एक मण्डल (थर) परिवारको बिहेमा १६ लाखको टेन्ट मात्र थियो,’ संस्कृतिकर्मी यादव भन्छन्, ‘त्यस मध्यम परिवारले देखासिकीका कारण नै टेन्टमा त्यत्रो खर्च गर्‍यो ।’

भर्खरै सर्लाहीमा विवाह भोज खाएर फर्किएका एक पत्रकार साथी तराई मधेसमा तडकभडकमा देखासिकी बढेको बताउँछन् । ‘मैले भोज खाएको छोरीको विवाहमा रथ ल्याइएको थियो । त्यहाँ भोज खान आएका अर्का व्यक्तिले पनि छोरीको विवाह गर्दै रहेछन्, उनी भन्दै थिए— मैले योभन्दा ठुलो रथ ल्याउनुपर्ला,’ ती पत्रकार साथी भन्छन्, ‘तराई मधेश भोजले नै बिग्रँदै छ ।’

मृत्यु संस्कारमा भोज अनिवार्य जस्तै छ, तराई मधेशमा । अर्काको देखेर ऋण लिएरै भए पनि ठुल्ठुला भोज गरेका हुन्छन्, जसमा लाखौँ रुपैयाँ खर्च हुन्छ । यसरी लागेको ऋण तिर्न परिवारलाई वर्षौं लाग्छ । कतिपयको घर घडेरी पनि त्यसैमा गुमेको हुन्छ ।

स्वयंवर हुने बेला दुलहा–दुलहीलाई आशीर्वाद दिने भनी आफन्तलाई माइकमै नाम लिएर बोलाइन्छ । मञ्चमा आशीर्वाद दिन जानु भनेको पैसा दिन जानु हो । त्यसैले आर्थिक अवस्था कमजोर हुनेहरू अहिले जन्ती जान पनि छाडेका छन् ।

पत्रकार तथा सामाजिक अभियन्ता रामरिझन यादवले हालै सामान्य ढंगले गरेको एक अध्ययन अनुसार तराई मधेशका ७० प्रतिशत व्यक्तिले ऋण लिएरै विवाह तथा भोजभतेर गर्छन् । तराई मधेशमा मिटर–ब्याजको समस्या पनि यही कारण उब्जिएको उनको भनाइ छ । ‘अधिकांशले मिटर ब्याजमा रकम लिएर छोराछोरीको बिहे गरेका छन् । मृत्यु संस्कार समेत गरेका छन्,’ पत्रकार यादव भन्छन्, ‘सिरहाको भलुवाहीमा २२ वर्षीय छोराको निधनपछि एक आमाले मिटर–ब्याजमा एक लाख रुपैयाँ ऋण लिएर गाउँभरिलाई भोज खुवाएकी थिइन् । सायद त्यो ऋण अझै तिर्न सकेकी छैनन् ।’

आधुनिकीकरणले चाडपर्व, विवाह तथा भोजभतेरलाई सबैभन्दा विकृत बनाएको पत्रकार यादवको भनाइ छ । ‘खर्चिला र भड्किला चाडपर्वकै कारण मधेशका नागरिक गरिब हुन पुगेका छन् । आर्थिक रुपमा विपन्न कतिपयले सम्पन्न व्यक्तिको देखासिकी गरी ऋण लिएरै भोजभतेर, वैवाहिक कार्यक्रम गर्ने गरेका छन्,’ उनले भने । 

सिरहाको गरगमा गाउँ भोजकै कारण बर्बाद भएको पत्रकार यादव बताउँछन् । केही वर्षअघिको कुरा हो, त्यहाँ मृत्यु संस्कारमा धेरैले ऋण लिएर भोजभतेर गरेका थिए तर ऋण तिर्न जग्गा बेच्नुपरेकाले अहिले गाउँलेको आर्थिक अवस्था दयनीय हुन पुगेको छ । ‘मधेशमा यस्ता उदाहरण थुप्रै छन्,’ उनी भन्छन् । 

पहिले विवाहमा मटकोर (एक अनुष्ठान) हुन्थ्यो, त्यसपछि बिहे हुन्थ्यो । अहिले मटकोर यति विकृत भइसकेको छ कि त्यसमा विवाह बराबर नै खर्च गर्ने बढेका छन् । 

यस्तै, बिहेका लागि कुरा छिन्नुलाई तिलक अर्थात् छेक्का भनिन्छ । त्यो तिलक अहिले यति खर्चिलो भएको छ, त्यो खर्चले एउटा बिहे नै उम्कन्छ । 

पहिलापहिला तिलकमा दुलाहा वा दुलहीले पाहुनासँग आशीर्वाद लिन जानुपथ्र्यो । त्यस्तो बेला आशीर्वाद स्वरूप पाहुनाले केही दक्षिणा दिन्थे । अहिले त्यो विकृतिका रूपमा आएको छ । अहिले त्यहाँ हजारौँ होइन, लाखौँ रुपैयाँ दिनुपर्छ । दुलाहा पक्षले कति खर्च गरेको छ, कति खुवाएको छ, त्यो अनुसार हिसाब गरेर रकम दिनुपर्ने अनिवार्य भएको छ । छोरीका बुवाले अन्दाज गरेर रुपैयाँको बिटो लिएर जानुपर्छ । अरु जो आफन्त त्यस तिलक कार्यक्रममा दुल्हनको तर्फबाट सहभागी हुन्छन्, उनीहरूले त्यहाँ दक्षिणा दिनुपर्ने हुन्छ । यही डरले पनि कतिपय व्यक्ति तिलक (छेक्का)मा जान डराउँछन् । 

अहिले बिहेमा मेहन्दी, हल्दी संस्कार, स्वंयवर पनि सुरु भएको छ । पहिला पनि दुलहा तथा दुलहीलाई बिहेको दिन हल्दी लगाइन्थ्यो । घरका महिलाले सुमधुर गीत गाएर आँगनमा हल्दी लगाउने चलन थियो, तर अहिले हल्दी लगाउने कार्यक्रमका लागि लाखौँ रुपैयाँ खर्च गर्न थालेका छन् । 

‘मैले भोज खाएको छोरीको विवाहमा रथ ल्याइएको थियो । त्यहाँ भोज खान आएका अर्का व्यक्तिले पनि छोरीको विवाह गर्दै रहेछन्, उनी भन्दै थिए— मैले योभन्दा ठुलो रथ ल्याउनुपर्ला । तराई मधेश भोजले नै बिग्रँदै छ ।’

लोकगीत गाउन छाडेर महिलाहरू डिजेमा डान्स गर्न थालेका छन् । स्वयंवर हुने बेला दुलहा–दुलहीलाई आशीर्वाद दिने भनी आफन्तलाई माइकमै नाम लिएर बोलाइन्छ । मञ्चमा आशीर्वाद दिन जानु भनेको पैसा दिन जानु हो । त्यसैले आर्थिक अवस्था कमजोर हुनेहरू अहिले जन्ती जान पनि छाडेका छन् । 

संस्कृतिकर्मी एवं राससका महाप्रबन्धक धमेन्द्र झाले आफ्नो ब्लगमा लेखेका छन्, ‘प्राचीनकालमा बिहेको टुंगो लागिसकेपछि दुल्हन पक्षले दुलहालाई टीका लगाएर आशीर्वादस्वरूप प्रदान गर्ने केही रकम नै कालान्तरमा तिलक प्रथाका रूपमा चिनियो । वर्तमानमा यही प्रथा कुरीति बनिसकेको छ ।’ 

अहिले वर पक्षबाट तिलक हाकाहाकी मागिन्छ । वरको योग्यता र सम्पन्नता अनुसार तिलकको रकम बढ्दै गएको देखिन्छ । हाल छोरी जति नै गुणवान् र उच्च शिक्षा प्राप्त गरेकी भए पनि तिलक (नगद) कारोबारविना तिनको विवाह गर्न निकै कठिन हुन्छ । यस्तो समस्याबाट मिथिलाको कुनै समुदाय अछुतो छैन । छोरीलाई जुन स्तरको शिक्षा दिइएको छ, त्यही स्तरको शिक्षा प्राप्त गरेको युवकसँग विवाह गरिदिनका लागि छोरीका परिवारले वर्षाैंदेखि नगद जम्मा गर्नुपर्ने हुन्छ । दाइजो दिन नसक्ने कतिपय परिवारका छोरीहरू बुहारी भएर गएपछि हिंसामा समेत परेका छन्, कतिपयको हत्या नै हुने गरेका समाचार आइरहेकै छन् । 

संस्कृतिविद् डा. रामदयाल राकेशका अनुसार भोजभतेरमा हुने खर्चका कारण कतिपय व्यक्ति घरबारविहीन भएको गाउँघरमा प्रशस्त देखिन्छन् । 

पहिले विवाह, भोजभतेर वा अन्य कुनै अनुष्ठान हुँदा छरछिमेक तथा आफन्त मिलेर सबै काम गर्थे । खाना पकाउनेदेखि दाउरा काट्ने, टेन्ट बनाउने, भोजका लागि चाहिने सामग्री जोहो गर्ने आदि ९० प्रतिशत काम समाजकै व्यक्तिले गर्थे । यसमा महिलाहरू पनि ठुलो सहभागिता हुन्थ्यो । अहिले त्यस्तो छैन । अहिले सबै कुरा बजारिया हुन्छन् । खाना पकाउनेदेखि लिएर टेन्टलगायत अन्य सबै कार्य भाडाका व्यक्तिहरूले गर्छन् । यसो हुँदा खर्च आकासिँदो छ । अहिले गाउँ–घरका व्यक्तिहरूले सघाउनुपर्दैन । अहिले त ‘पैसा फेको तामासा देखो’ जस्तै भएको छ । 

पहिला घरमा पूजा तथा मुण्डन हुँदा घर–परिवार र नजिकका आफन्तबाहेक कसैले थाह पाउँदैनथे । अहिले यसमा समेत तडकभडक बढेको छ । मुण्डनमा टेन्ट ल्याउनु, डिजे बजाउनु, आफन्तहरूलाई बोलाएर भोजभतेर गर्नु आम प्रचलन भएको छ । अष्टाजाम, भागवत, भजन–कीर्तन पनि अहिले खर्चिला भइसकेका छन् । 

संस्कृतिविद् झाले लेखेका छन् ‘कथित उपल्ला जात अर्थात् ब्राह्मण, कायस्थ र भूमिहार समुदायमा व्रतबन्धको चलन छ । मुण्डन (छेवर) पछिको यो संस्कार पुरुषको विवाहभन्दा पहिले नै सम्पन्न गरिने संस्कार हो । समुदायमा सामाजिक प्रतिष्ठा प्रदर्शन गर्ने माध्यम बन्न पुगेको यो संस्कार वर्तमानमा विपन्नका लागि टाउको दुखाइको विषय बन्न पुगेको छ ।’ 

तराई मधेशका सबभन्दा ठुलो पर्व छठ पनि भड्किलो र खर्चिलो हुँदै गइरहेको छ । छठमा लुगाफाटा, गहना लगायत प्रदर्शन गरिन्छ । कसले कति खर्च गर्छन् भनी प्रतिस्पर्धा नै हुन्छ । रक्षाबन्धन, भाइद्वितीया, मधुश्रावणीजस्ता पर्व पनि खर्चिलो हुन थालेका छन् । 

मधुश्रावणी पर्व अर्थात् नववधुले घरभित्र मनाउने रोमाञ्चक ‘हनिमुन’ पर्व मुख्यतया तराई मधेशका ब्राह्मण र कायस्थ समुदायमा चल्थ्यो । अहिले देखासिकीले गर्दा यो संस्कृति अन्य समुदायमा पनि फैलिएको छ । यसमा नववधुले महँगा–महँगा लुगा तथा गहना लगाउने प्रतिस्पर्धा चलेको छ । यसमा व्रतालुहरूले निकै खर्च गर्छन् । एउटा महिलाले गरेको देखासिकी अर्कोले गरेका हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप