आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

शनिबार, ०३ जेठ २०८२, २१ : ४०
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • गोरखाको छेपेटारमा १७औँ शताब्दीको भग्नावशेष फेला परेको छ, पुरातत्व विभागको टोलीले उत्खनन गर्दा मन्दिरको अवशेष भेटिए।
  • उत्खननमा इँटाको गारो, ढुङ्गा, तामाको दियो र सिक्का फेला परेका छन्, जसले १७औँ-१८औँ शताब्दीतिरको मन्दिर हुनसक्ने अनुमान गरिएको छ।
  • विभागले अध्ययनका लागि अर्को वर्ष पनि उत्खननलाई निरन्तरता दिने र स्थानीयलाई संरचना निर्माण नगर्न आग्रह गरेको छ।

गोरखा । जिल्लाको गोरखा नगरपालिका–१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

‘हामीले नौ दिन लगाएर उत्खनन गर्यौँ”, विभागका अधिकृत अधिकारीले भने, ‘यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।’ यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनले बताए । 

सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । ‘गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ’, अधिकारीले भने, ‘अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।’

उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । ‘जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ’, उनले भने ।

विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिए । ‘दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ’, उनले भने । 

हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप