आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
लमुजङमा तरुण दल विवाद

दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान

शनिबार, ०३ जेठ २०८२, २२ : २०
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • लमजुङमा तरुण दलको अधिवेशनमा दुई समूहबीच झडप भयो, जसमा चार जना घाइते भए।
  • कांग्रेसका दुई गुटबीचको विवादका कारण कार्यक्रममा नाराबाजी र खुकुरी प्रहार भएको थियो।
  • घाइतेमध्ये दुई जनालाई चितवन रेफर गरिएको छ भने निर्वाचन स्थगित गरी अनुसन्धान भइरहेको छ।

लमजुङ । महाधिवेशनको संघारमा रहेको तरुण दलको पहिलो जिल्ला अधिवेशन शनिबार लमजुङको बेंसीसहरमा सुरु भयो । उद्घाटन सत्र चल्दै गर्दा कार्यक्रमको मध्यतिर एक समूह नाराबाजी गर्दै कार्यक्रम स्थलमा प्रवेश गर्‍यो ।

कार्यक्रमको प्रमुख अतिथि थिए निवर्तमान अध्यक्ष जीतजंग बस्नेत र विशिष्ट अतिथि थिए हालका अध्यक्ष विद्धान गुरुङ । विरोधी समूहले नाराबाजी गरिरहे । एकलौटी गर्न पाइँदैन भनेर नारा लगाइयो ।

उक्त नारा कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ लक्षित थियो । गुरुङकै समूहले फरक मत भएकाहरूलाई पाखा पारेर प्रतिनिधि छनोट गरेको आरोप उनीहरूको थियो । नारा लगाउनेहरू निवर्तमान सभापति भेषबहादुर पौडेल निकटका हुन् ।

उनीहरूबिच लामो समयदेखि द्वन्द्व छ । गुरुङले कांग्रेसको संस्थापन पक्षको नेतृत्व गर्छन् भने पौडेलले संस्थापन इतरको नेतृत्व धान्दै आएका छन् । नाराबाजीकै बिच घटना असामान्य बन्यो । संस्थापन पक्षले नाराबाजी लगाउनेहरूमाथि खुकुरी प्रहार गर्‍यो । खुकुरी लागेर ४ जना घाइते भएका छन् ।

घाइतेमध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीको अवस्था अलि गम्भीर भएका कारण चितवन रिफर गरिएको छ । गुरुङ हाल बेंसीशहर ९ का वडाध्यक्ष र तरुण दलका क्षेत्रीय सभापति हुन् ।

उनी जिल्ला सभापतिको दावेदार समेत रहेको र उनैको पूर्णकालीन सदस्यता खोसिएको आरोप छ । कांग्रेस लमजुङका सदस्य किशोरकुमार बस्नेत र अर्का नेता शंकर सापकोटा पनि घाइते भएर उपचाररत छन् ।

जिल्ला अध्यक्षका प्रत्याशी खुसीजंग,भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाटै हटाइएको आरोप छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटना भएपछि निर्वाचनको तालिका स्थगित गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता सकिएको र बाँकी निर्वाचन कार्यक्रम जेठ १० गते हुने निर्वाचन अधिकृत विजयप्रकाश अधिकारीले जानकारी दिए ।

घटनाको जड के हो ?

लमजुङमा १३ औँ महाधिवेशनपछि गुरुङ र पौडेलको गुट स्थापित छ । उनीहरू दुवै जना १३ औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी थिए । गुरुङलाई हराएर पौडेल निर्वाचित भए । १४ औँ महाधिवेशनमा पौडेलले आफ्नो समूहबाट गमबहादुर गुरुङलाई सभापतिमा अघि सारे, टकराज आफैँ मैदानमा उत्रिए ।

पौडेल समूहलाई हराएर अघिल्लो हारको बदला लिए टकराजले । त्यसपछि झन् उनीहरूको गुट झाँगियो । गत निर्वाचनमा दुवै जना प्रतिनिधिसभा सदस्यको टिकटका लागि दौडधुप गरे । संयोगले लमजुङको प्रतिनिधिसभा माओवादीको कोटामा पर्‍यो । पौडेल र गुरुङ आ–आफ्नै निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा चुनाव लडे ।

दुवै जनाले चुनाव जिते । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थमन्त्री बनाए । पौडेलले आफू पनि मन्त्री बन्न पाउनुपर्ने अडान छोडेनन् ।

संयोगवश भौतिक मन्त्रालयबाट वनमा हुत्त्याइएका स्वतन्त्र सांसद राजीव गुरुङले राजीनामा दिए । रिक्त मन्त्रालयमा पौडेल नियुक्त भए । तल्लो तहको राजनीति देखि नै पौडेल र गुरुङ पक्षधर प्रतिस्पर्धा लमजुङमा चर्को छ ।

मन्त्रीहरू आ–आफ्नै अडानमा

गुरुङले घटना दुःखद भएको बताए । ‘अधिवेशन भइरहेको थियो । थाहै नभई हुल हुज्जत गरियो,’ उनले भने, ‘आइलागेपछि जाइलागेको मात्रै हो । जे भयो, दु:खद भयो ।’ 

घटना हुँदा आफू पार्टी कार्यालयमा छलफलका क्रममा रहेको उनले बताए । दुई नेताबिचको शक्ति सङ्घर्षले निम्तिएको घटना होइन भनेर प्रश्न गर्दा गुरुङ भन्छन्, ‘मैले त त्यसरी लिएको छैन । जसलाई चोट लागे पनि कांग्रेसलाई नै लागेको हो । यसमा म दुःखी छु ।’

यता पौडेल भने विवादको समाधान माग्दा हतियार प्रहार गरिएको बताउँछन् । ‘सदस्यता विवाद थियो । समाधानको माग गरिएको हो । सदस्यता नदिने, पेलेर एकलौटी गर्न खोज्दा यस्तो घटना भयो,’ उनले भने, ‘पार्टीमा फरक मत देखिन्छ । तर व्यवहार आपराधिक हुन भएन । कार्यक्रम स्थलमा हतियार कसरी पुग्यो ? यो पूर्व योजना नै हो ।’

आफ्नै पार्टीको कार्यक्रममा हतियार बर्सिनु दुःखद भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप