‘यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ’

पेसाले पत्रकार रोहित भण्डारीका तीन पुस्तक प्रकाशित छन्— ‘सम्भव छ’ (२०७१), ‘नेपालमै सकिन्छ’ (२०७३) र ‘दिए पुग्छ’ (२०८१) । उनले नेपाल सरकारबाट २०७४ मा एक लाख रुपैयाँको राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका छन् । सगरमाथा, योहो र अरनिको टीभीमा काम गरिसकेका भण्डारीले हाल आजको प्रेसमा आबद्ध छन् । ‘दिए पुग्छ’ पुस्तकमा केन्द्रित रहेर लेखक भण्डारीसँग रातोपाटीकर्मी नरेन्द्र रौलेले गरेको कुराकानी :
‘दिए पुग्छ’ कस्तो पुस्तक हो, यसमा के छ ?
‘दिए पुग्छ’ वास्तविक पात्रका वास्तविक कथा समेटिएको पुस्तक हो । यसमा कतिपय पात्रका कहालीलाग्दा कथा छन् । जसमा समाज बदल्नेका कथा समेत छन् । तपाईं हाम्रै समाजमा हामीले हरेक दिन देखेका तर बेवास्तामा परेका पात्रका कथा यसमा लेखेको छु । मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकादेखि दुव्र्यसनको उच्चतम तहमा पुगेर कसैको साथले जीवन बदलिएका धेरै व्यक्ति पुस्तकका पात्र बनेका छन् ।
यस पुस्तकमा समावेशमध्ये ६ वटा कथा मैले सात वर्षअघि नै लेखिसकेको थिएँ । पात्रका कहालीलाग्दा कथा लेख्दालेख्दै म आफैँ यसबिचमा कहालीलाग्दो अवस्थाबाट गुज्रिएँ । परिवारमा आएको भवितव्यका कारण न म पुस्तकलाई निरन्तरता दिन सक्ने अवस्थामा भएँ न त लेख्दै गरेको पुस्तक छाड्ने अवस्थामै । लेख्दै छाड्दै, फेरि लेख्दै, फेरि छाड्दै गरेका कारण पुस्तकले आकार लिन सात वर्ष भन्दा बढी समय लाग्यो ।
परिवारमा आएको भवितव्य भन्नुभयो, के दुःख आइपर्यो त्यस्तो ?
यी कुरा पुस्तकमै लेखेको छु । ‘दिए पुग्छ’ पुस्तकको पहिलो कथा नै यसैमा केन्द्रित छ । पुस्तक लेखनको गति तीव्र रूपमा चलिरहेका वेला सात वर्षअघि घरमा डरलाग्दो आगोको सामना गर्नुपर्यो । परिवारको सदस्यलाई घाइतेसम्म बनाउने त्यस घटनाले मलाई निकै समय बिथोल्यो ।
त्यसपछि फेरि अर्को डरलाग्दो परिस्थितिको सामना गर्नुपर्यो । आमालाई क्यान्सरले भेट्यो । आमा केही महिना क्यान्सरसँग जुध्नुभयो । जति कोसिस गरे पनि उहाँलाई बचाउन सकिएन । ती क्षण अहिले शब्दमा भन्दा थोरै समय लागे पनि त्यो पीडाले मलाई लामो समयसम्म असाध्यै विक्षिप्त तुल्यायो ।
‘दिए पुग्छ’ बारे प्रतिक्रिया के–कस्ता पाउनुभएको छ ?
मैले झन्डै गर्भमै तुहाइदिएको पुस्तक थियो । अघि भनेका विभिन्न घटनाका कारण पुस्तक लेखेर सिध्याउन सक्ने अवस्थामा थिइनँ । कैयौँपटक त ‘माफ गर्नुस् मैले लेख्न सकिनँ’ भनेर सार्वजनिक रूपमै भनौँ कि जस्तो लागेको थियो, तर जब पुस्तकलाई मैले अलपत्र पार्न हुँदैन भन्ने भित्रैदेखि आयो, त्यसपछि आफैँलाई चुनौती दिएर पुस्तक लेखी सिध्याएँ ।
अहिले पाठकहरूबाट जुन प्रकारको प्रतिक्रिया पाइरहेको छु, त्यो सुन्दा लाग्छ, केही गरी यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ । पाठकका प्रतिक्रिया कतै आँसुका रूपमा व्यक्त भइरहेका छन् त कतै सामाजिक सञ्जालमा शब्दका रूपमा । पछिल्ला दिनमा आइरहेका प्रतिक्रियाले उत्साहित पनि छु, भावुक पनि ।
‘दिए पुग्छ’ लेख्दाको अनुभव कस्तो रह्यो ?
पुस्तकमा वास्तविक पात्रका कथा लेखेका कारण ती पात्र भेट्न म उहाँहरूकहाँ कैयौँपटक पुगेको छु, सडक र गल्ली–गल्ली डुलेको छु, घाटदेखि विभिन्न आश्रममा महिनौँ बिताएको छु । सडकपेटी र पुलमुनि बस्नेहरूका कथा खोज्न म रातको २–३ बजेसम्म काठमाडौँका विभिन्न ठाउँ घुमेको छु । कथा खोज्न त्यसरी घुम्थेँ । कथा लेख्न जब ल्यापटप अघि राखेर किबोर्डमा हात चलाउँथेँ, ती पात्रका कथा सम्झेर मेरा हात का“प्थे । का“पेका हातसँगै आँखाबाट आँसु झर्थे । म धेरैपटक पात्रका कहालीलाग्दा कथाले रोएको छु ।
हिजोआज मानिसहरू बढीजसो इन्टरनेट, सामाजिक सञ्जालमा झुम्मिएको देखिन्छ । नेपालमा अहिले पठन संस्कृति कस्तो छ जस्तो लाग्छ ?
आजभन्दा केही वर्षअघि जुन रूपमा पुस्तकहरू बिक्री–वितरण हुन्थे, अहिले त्यस्तो परिस्थिति छैन । सामाजिक सञ्जालको लतले पठन संस्कृतिमा ठुलो असर गरेको छ । अहिले मेरो पुस्तकले मिडियामा जुन प्रकारको स्थान पाइरहेको छ, यसलाई हेर्दा त यो व्यापक रूपमा जानुपर्ने हो भन्ने लाग्छ, तर वास्तविकता त्यस्तो छैन । यद्यपि पठन संस्कृति ध्वस्तै भइसक्यो भन्ने चाहिँ होइन । केही गम्भीर पाठक पनि हुनुहुन्छ । जसलाई पुस्तकप्रति असाध्यै ठुलो प्रेम छ । त्यही भएर होला उहाँहरू पढ्नु मात्रै हुन्न, पढेपछि अरुलाई पढ्ने सल्लाह समेत दिनुहुन्छ ।
तपाईंले प्रेरणादायी पुस्तक तीनवटा लेखिसक्नुभयो । अरु विधाका पुस्तक किन लेख्नुहुन्न ?
लेखन पढ्नका लागि मात्रै होइन परिवर्तनका लागि पनि हुनुपर्छ भन्ने लाग्छ मलाई । मैले लेखेका कुराले कोही कसैको जीवनमा परिवर्तन ल्याउनुपर्छ भन्ने लाग्छ । पुस्तक भनेको क्षणिक आनन्द र समय कटाउनका लागि नभई जीवनका लागि हुनुपर्छ भन्ने मान्यता भएका कारण पनि म यस्तै पुस्तक लेख्न रुचाउँछु ।
पुस्तक लेख्दा र पत्रकारिता गर्दा आनन्द चाहिँ केमा मिल्छ ?
पत्रकारिता ठुलो रहरले सुरु गरेको पेसा हो । यसमा छुट्टै आनन्द छ । पुस्तक लेखन पत्रकारिता गर्दागर्दै आएको एक प्रकारको आत्मबोध हो । आत्मबोधले जिम्मेवार बन्न प्रेरित गर्दोरहेछ । यसले दिने आनन्द तुलना नै गर्न सकिँदो रहेनछ ।
तपाईं आफू अरूले लेखेका पुस्तक कतिको पढ्नुहुन्छ ?
बजारमा आएका प्रायः पुस्तक थाहा पाएसम्म किन्ने गरेको छु । किनेजति सबै पढ्न त समय लाग्छ तर पढ्न नभ्याएका पुस्तक पनि आफ्ना अघि देख्दा त्यसले पढ्न झकझक्याउँछ । लेखेका भन्दा नलेखेका पुस्तक धेरै पढ्छु । मलाई नलेखिएका पुस्तक पढ्न असाध्यै रुचि लाग्छ । भुइँमान्छेसँग बस्नु र उहाँहरूका कुरा सुन्नु भनेको नलेखिएका पुस्तक पढ्नु हो ।
पुस्तकको नाम ‘दिए पुग्छ’ राख्नुभयो । मान्छेहरूलाई दिएर पनि पुग्छ र ?
‘दिए पुग्छ’ भन्नुको अर्थ अरुलाई धन सम्पत्ति दिने भन्ने होइन । अरुलाई माया, हौसला, प्रेरणा, साथ, हात दिने कुरा हो । बेवारिसे, अपहेलित, बहिष्कृत, दीन–दुःखीलाई तपाईंले धन, सम्पत्ति नै दिनुपर्छ भन्ने छैन । उहाँहरूलाई माया दिनुस्, मिठो बोलिदिनुस्, जे सक्नुहुन्छ त्यो गरिदिनुस्, त्यत्ति भए पुग्छ । धन–सम्पत्तिकै कुरा गर्ने हो भने पनि यो दुनियाँमा लोभीको भाँडो कहिल्यै भरिएको देखिएको छ र ? छैन नि । त्यसैले लेखिएको हो, दिए पुग्छ ।
यसअघि तपाईंका दुईवटा पुस्तक ‘सम्भव छ’ र ‘नेपालमै सकिन्छ’ प्रकाशित छन् । ‘दिए पुग्छ’ र यी दुई पुस्तकमा के फरक छ ?
सङ्क्षेपमा भन्नुपर्दा अघिल्ला दुई पुस्तक ‘सम्भव छ’ र ‘नेपालमै सकिन्छ’ उद्यमशीलता तथा आत्मविश्वाससँग सम्बन्धित थिए । अहिलेको ‘दिए पुग्छ’ चाहिँ परोपकारी भावसँग सम्बन्धित छ ।
अब अर्को पुस्तकको योजना के छ ?
तत्कालै सोचेको छैन । पाठकहरूको जुन प्रकारको माया पाएको छु, त्यसले मलाई चुप लागेर बस्नचाहिँ पक्कै दिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने