नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटी गठन गरेको छ ।शनिबार काठमाडौँस्थित ठमेलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासङ्घका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेश कमिटीको कार्यसमिति निर्विरोध चयन भएको हो ।
फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अङ्कित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाईँ र सुदिप थापा चयन भएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न गरेको यो प्रयासको प्रशंसा गरे । उनले युवा उद्यमीहरूको यो प्रयासलाई सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्य अनुसार बागमती प्रदेश कमिटी गठन गरिएको बताए ।महासङ्घका नेपाल संयोजक रामशरण थापाले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए ।
‘हाम्रो उद्देश्य सहयोग, मार्गदर्शन, र व्यावसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु हो,’ उनले भने, ‘विभिन्न देशमा रहेका युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र विश्वव्यापी नेपाली व्यावसायिक समुदायको दिगो विकासलाई अघि बढाउन यसले महत्त्वपूर्ण मञ्चको काम गरिरहेको छ।’
यस्तै फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिँदै विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबिच पुलको काम गरिरहेको बताए ।
उनले युवा उद्यमीहरूलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए । महासङ्घमा सयभन्दा बढी समर्पित उद्यमीहरू सदस्य छन् । यसको जापान, अमेरिका, बेलायत, मध्यपूर्व, मकाउ, हङकङ, चीन, अष्ट्रेलिया तथा अन्य विभिन्न उपक्षेत्रहरूमा शाखाहरू क्रियाशील छन्।
उद्यमी राजेन्द्र खेतानले युवा उद्यशिलता विकासका लागि ‘क्राउड फण्ड’ सङ्कलनमा फिनेलाई सहकार्य गर्न आग्रह गरे ।विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनलाई विदेशमा ब्राण्डिङ गर्ने उद्देश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देश विदेशमा रहेका युवा उद्यमीलाई जोड्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुसार विदेशमा मात्र सञ्जाल रहेको फिनेले बाग्मती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको जनाएको छ ।
फिनेका उपाध्यक्ष समिम अन्वरले संस्थाको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रमलाई महासचिव इन्जिनियर दिपेन घलेले सञ्चालन गरेका थिए । कार्यक्रममा यूएसए, यूके, अष्ट्रेलिया, हङकङ, जापान, चीन लगायत विभिन्न देशबाट आएका फिनेका प्रतिनिधिको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण