गोङ्गबुको नेशनल मोडल स्कुलमा मध्यराति डोजर, जाहेरी लिन प्रहरीको आनाकानी
_kc73bsxuKm.jpg)
काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित नेशनल मोडल साइन्स स्कुलमा भु–माफियाहरुले मध्यराति डोजर चलाएका छन् । वैशाख ३० मा मध्यराति डोजर चलाएको घटना प्रहरीसम्म पुगेको छ । तर, प्रहरीले उजुरी लिन आनाकानी गरेपछि विद्यालयमा त्रासदीको अवस्था सिर्जना भएको छ ।
मध्यराति ११ बजेर ४० मिनेटमा स्कुलको संरचनामा जबरजस्ती डोजर लगाएपछि विद्यालयका कर्मचारी र स्थानियले अवरोध गरे । आवासीय कर्मचारीको ज्यान मार्ने नियतले डोजर चलाइएको भन्दै विद्यालयले डोजर चलाउनेहरू विरुद्ध प्रहरीमा उजुरी लिएर गए । तर, प्रहरीले डोजर चलाउने समूह विरुद्ध जाहेरी लिन आनाकानी गरेको विद्यालय प्रशासनको आरोप छ ।
५ रोपनी ९ आनामा फैलिएको स्कुलमा १० कक्षासम्म पढाई हुन्छ । यसपटक त्यहाँबाट ४३ जनाले एसईईको परिक्षा दिएका छन् । करार सम्झौता सकिएसँगै वडा नम्बर–१० मा विद्यालय सार्नेगरी संरचना तयार भइरहेको भएपनि जबरजस्ती डोजर चलाइएको स्कुलका पिन्सिपल प्रदिप भुषाले रातोपाटीलाई बताए । उनले भने, ‘टोखा नगरपालिकासँग समन्वय गरिरहेका छौं तर, अनधिकृत व्यक्तिहरूले विद्यालयमा हस्तक्षेप गरेका छन् ।’
गुठीको स्वामित्वमा रहेको सो जग्गा भु–माफियाहरुले प्लटिङ गर्ने उद्देश्यले डोजर चलाएको आरोप छ । गुठीको जग्गा एउटा समूहले ‘नेशनल स्कुल अफ साइन्सेज’ नामक कम्पनीमा ल्याएका छन् । गुठीको जग्गा कसरी कम्पनीमा गयो भन्नेबारे विवाद छ । कम्पनीको प्रमुख चाहिँ निस्ट कलेका प्रिन्सिपल माधव प्रसाद बराल हुन् ।
नगरपालिकाका कर्मचारीहरूसँग मिलेर उनले नै डोजर चलाउन लगाएको विद्यालय सञ्चालकहरू बताउँछन् । तर, नगरपालिकाले डोजर चलाउने निर्णय गरेको छैन । डोजर चलाउनेहरू विरुद्ध उजुरी लिन आनाकानी गर्नुपर्ने कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले भने, ‘उँहाहरुले घटनामा असंलग्नहरूको विरुद्धमा पनि जाहेरी ल्याउनुभयो भन्ने बुझेको छु ।’
विद्यालय वा व्यक्तिको निजी आवास हटाउन निश्चित कानुनी प्रक्रिया पुरा गर्नुपर्छ । तर, प्रक्रिया पुरा नगरीकन आफूहरूलाई हटाउन ‘गैरकानुनी’ हर्कत गरिएको विद्यालय प्रशासनको जिकिर छ ।